कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गन्ध आएको दूधबारे डीडीसीले थाल्यो छानबिन

सरसफाइका अन्य प्रक्रियामा पनि विशेष ध्यान दिइएको दाबी
विमल खतिवडा

काठमाडौँ — केही दिनअघि बजार पठाएको दूधमा गन्ध आएको विषयमा दुग्ध विकास संस्थान (डीडीसी) ले छानबिन थालेको छ । डीडीसीको दूधमा आएको गन्धबारे सामाजिक सञ्जालमा चर्चासँगै हेलो सरकारमा पनि उजुरी परेपछि संस्थानले छानबिन अघि बढाएको हो ।

गन्ध आएको दूधबारे डीडीसीले थाल्यो छानबिन

‘समस्या के हो भन्ने विषयमा उपमहाप्रबन्धकलाई छानबिन गर्न भनिसकेका छौं,’ संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले भने, ‘कस्तो पानी प्रयोग भएको हो भन्ने विषयमा काठमाडौं दुग्ध वितरण आयोजनासँग केन्द्रीय कार्यालयबाट जानकारी पनि मागेका छौं ।’ विशेषगरी बालाजु औद्योगिक क्षेत्रबाट आपूर्ति हुने पानीकै कारण समस्या भएको उनको भनाइ छ । त्यसैले पानीको स्रोत नै फेरिसकेको उनले जानकारी दिए । ‘काठमाडौं उपत्यका खानेपानी वितरण आयोजनाबाट हाम्रै ट्यांकरमार्फत पानी ल्याउन थालेका छौं,’ उनले भने, ‘अहिले सरसफाइका अन्य प्रक्रियामा पनि विशेष ध्यान दिएका छौं ।’ बालाजुको पानीमा अझै राम्रो सुधार भइनसकेको जानकारी आएको उनले बताए ।

‘अहिले उत्पादनमा सबै सुधार गरिसकेका छौं, समस्या छैन, बालाजु औद्योगिक क्षेत्रको यसअघि दूधमा प्रयोग भएको पानीको रिपोर्ट पनि मागेका छौं । केही दिनभित्रमा आइसक्छ,’ पौडेलले भने । डीडीसीले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि दूधमा आएको गन्धसम्बन्धी समस्या निराकरण गरिएको उल्लेख छ । ‘चैत २४ गते बजारमा आपूर्ति भएका केही लटका दूधमा फरक बास्ना आएको उपभोक्ताबाट प्राप्त प्रतिक्रियाका आधारमा काठमाडौं दुग्ध वितरण आयोजनाबाट तत्परताका साथ पानीमा भएको समस्या पत्ता लगाई तत्कालै पानीको स्रोतमै आवश्यक सुधार गरी उक्त समस्यालाई पूर्ण रूपमा निराकरण गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिनको दूधमा आएको फरक बास्नाबाट स्वास्थ्यमा कुनै असर नपर्ने र तथापि उपभोक्ताहरूको विश्वासमा पर्न गएको असरप्रति संवेदनशील रही यस किसिमका समस्या दोहोरिन नदिन संस्थान प्रतिबद्धता व्यक्त गर्छ ।’

स्रोतका अनुसार हाल डीडीसीले धूलो दूध घोलेर बजार पठाउने गरेको छ । यस प्रक्रियामा पानी परीक्षण नगर्दा समस्या भएको हो । यसमा आयोजनाको प्रशोधन र गुण नियन्त्रण शाखा जवाफदेही हुन्छन् । तर यी शाखाले जिम्मेवारी वहन नगर्दा दूधमा प्रश्न उठेको स्रोतले बताएको छ । डीडीसीले गत मंगलबार उपत्यकाका लागि ७८ हजार ५ सय लिटर दूध बजार पठाएको थियो । यसमध्ये स्ट्यान्डर्ड ५२ हजार, होलमिल्क १३ हजार ३ सय, काउमिल्क ११ हजार, टिक मिल्क २२ हजार लिटर थियो । यसमध्ये स्ट्यान्डर्ड र टिक मिल्कमा बढी समस्या आएको हो ।

दूधमा गुणस्तरको समस्या आएपछि बिक्री पनि कम भइरहेको छ । दूध गन्हाएर खान नसक्ने अवस्थाको भएकाले उपभोक्ता, बुथमेन र बिक्रेताबाट गुनासो आएको थियो । बिक्री घटेपछि डीडीसीकै डिस्ट्रिब्युटरले गुणस्तरबारे प्रश्न उठाएका थिए । उनीहरूले तत्काल गुणस्तर नसुधारे अर्को डिस्ट्रिब्युटर खोज्न डीडीसीलाई चेतावनीसमेत दिएका थिए । तर संस्थानले भने गन्धको समस्या समाधान गरिएकाले अब कुनै समस्या नहुने दाबी गरेको छ ।

प्रकाशित : वैशाख १, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?