कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेती खोचमा बन्जी

क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी गर्न सकिने
दीपक परियार

पोखरा — साहसिक पर्यटनको गन्तव्य पोखरामा नयाँ वर्षदेखि अर्को बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले सहर क्षेत्रबाट नजिकै रातोपहिरोमा सेती नदीमाथि टावर बन्जी बुधबारबाट सञ्चालनमा ल्याएको हो । बन्जीमा अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय ‘गो बन्जी’ को नेपाल फ्रेन्चाइज पोखरामा सञ्चालनमा आएको कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले बताए ।

सेती खोचमा बन्जी

बन्जीमा भट्टराईसहित पोखराका युवा व्यवसायी राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल र भूपालबहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख रुपैयाँ लगानी छ । गो बन्जी (बन्जी जापान) का संस्थापक बिउ रिटालिकले सोमबार पहिलो बन्जी जम्प गर्दै सफल परीक्षण गरे । विश्वभर गो बन्जीका ११ वटा फ्रेन्चाइज छन् । यसको मुख्य कार्यालय सिंगापुरमा छ । चीनमा रहेको विश्वकै अग्लो बन्जी जम्प गो बन्जीको फ्रेन्चाइज हो । यो कम्पनीका संस्थापक रिटालिक र प्रबन्धक डेबिड यतिखेर पोखरामा छन् ।

क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृंखला हेर्दै जम्प गर्न पाइने भएकाले यसप्रति आकर्षण बढ्ने उनको विश्वास छ । बन्जीका दुई वटा प्लेटफर्म नदीदेखि १ सय १ र १ सय ५ मिटरमा छन् । यो नै दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट पनि हो ।

साधारण बन्जी १ सय १ मिटर अग्लो प्लेटफर्मबाट गराइन्छ । एकपल्टमा १ सय २० केजीसम्मका व्यक्तिले बन्जी जम्प गर्न सक्छन् । बन्जीमा तीन सेकेन्ड ‘फ्रि फल’ हुन्छ । झन्डै तीन मिनेट बन्जीको मज्जा लिन सकिन्छ । साइकल जम्प, बकेट जम्प, टेन्डम जम्पलगायत विशेष जम्प पनि गराइने भट्टराईले जानकारी दिए । ‘सहर नजिकै रहेकाले पनि एडभेन्चर मन पराउनेका लागि गतिलो रोजाइ बन्न सक्छ,’ उनले भने । १२ वर्ष जापानमा बन्जीकै क्षेत्रमा अनुभव बटुलेर उनी स्वदेश फर्किएका हुन् । दिनमा ४० वा वार्षिक ६ हजारले बन्जी जम्प गर्दा साढे ४ देखि ५ वर्षमा लगानी सुरक्षित गर्ने लक्ष्य रहेको उनले सुनाए । गो बन्जीकै प्राविधिक सहयोगमा निर्मित बन्जी नेपालमा सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेसलगायत उपकरण प्रयोग गरिएको छ ।

प्रकाशित : वैशाख १, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?