१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चार दिन हिउँको बाटो छिचोलेर योजना माग्न सदरमुकाम

हिमालपारिको गाउँ लिमीका लागि ११ योजनामा बजेट विनियोजन भए पनि सबै अधुरा
छपाल लामा

हुम्ला — नेपाल–चीन सीमाको नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दा हिउँ छिचोल्दै योजना माग्न सदरमुकाम सिमकोट आइपुगेका छन् । हिमालपारिको गाउँका रूपमा चिनिने लिमीका बासिन्दा चार दिन पैदल हिँडेर सदरमुकाम आएका हुन् । बाटोमा उनीहरूले झन्डै ५ हजार मिटर उचाइको न्यालु लेक पार गरेका थिए । अहिले पनि न्यालुमा बाक्लो हिउँ जमेको छ ।

चार दिन हिउँको बाटो छिचोलेर योजना माग्न सदरमुकाम

लिमीका बासिन्दाले जिल्ला, प्रदेश र संघीय सरकार मातहतका कार्यालयमा पुगी विभिन्न योजना मागिरहेका छन् । न्यालु लेकमा जमेको हिउँका कारण बर्सेनि झन्डै ६ महिना सदरमुकाम सिमकोटसँग लिमीवासीको सम्बन्ध टुट्छ । गत पुसमा परेको हिउँ अहिले पनि न्यालुमा जमिरहेको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । ‘बाक्लो हिउँ जमेकाले अहिले पनि बाटो छैन,’ उनले भने, ‘जसोतसो सदरमुकाम आइपुगियो ।’ उनकै नेतृत्वमा झन्डै १३ जना सदरमुकाम आएका हुन् ।

जटिल भूगोल र सदरमुकाम टाढा हुँदा लिमीवासी वर्षौंदेखि आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् । ‘एक त योजना नै पर्दैनन्,’ वडाध्यक्ष तामाङले भने, ‘परे पनि निर्माण सामग्री ढुवानीमा समस्या हुँदा आएको बजेट पनि फ्रिज जाने अवस्था छ ।’ सामानभन्दा ढुवानी महँगो हुँदा लिमीमा साना योजना सञ्चालन गर्न पनि धेरै खर्च लाग्ने उनले बताए । सदरमुकामको तुलनामा लिमीमा बन्ने योजनाको खर्च झन्डै ४ गुणा महँगो छ ।

यस वर्ष हिउँदमा हिमपात कम भएकाले चैतमै योजना माग्न सदरमुकाम आएको स्थानीय अगुवा मिगिर लामाको भनाइ छ । चालु आर्थिक वर्षमा लिमीका लागि ११ वटा योजनामा बजेट विनियोजन भएकोमा सबै अधुरा रहेको उनले बताए । अहिलेसम्म ९ योजनाको मात्र सम्झौता भएको वडाध्यक्ष तामाङले जानकारी दिए । हिउँदका लागि भण्डारण गरिएको खाद्यान्न सकिएकाले गाउँमा अभाव चुलिन थालेको उनको भनाइ छ । न्यालु लेकमा हिउँ नहट्दासम्म खाद्यान्न ढुवानी गर्न पनि समस्या रहेको उनले बताए । ‘सीमा बन्द हुँदा तिब्बतमा मजदुरी गर्न पनि जान पाइएन,’ लामाले भने, ‘स्थानीय उत्पादन न्यून हुँदा खाद्यान्न अभावको सामना गरिरहेका छौं ।’ लिमीमा तिल, जाङ र हल्जी गरी तीन गाउँ छन् ।

प्रकाशित : चैत्र ३०, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?