कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डीडीसीको गन्हाएको दूध बजारमा

बिक्री गर्न नसकिने भन्दै डीडीसीकै बिक्रेताले दिए चेतावनी
कर्मचारी भन्छन्, ‘पाउडर, बटर, पानीलगायतको गुणस्तर परीक्षण नगर्दा यस्तो भयो’
राजु चौधरी

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को दूध दिनहुँजसो उपभोग गर्छन् । यसका उत्पादन विश्वासिलो भएकै कारण आफ्नो रोजाइमा परेको उनको भनाइ छ । गत मंगलबार भने सुवेदीलाई डीडीसीको दूधमा शंका लाग्यो ।

डीडीसीको गन्हाएको दूध बजारमा

‘चिया खाँदा अस्वाभाविक गन्ध आयो । शंका लागेर कार्यालय जाँदा दूध लिई गएँ । थप नमुना संकलन गरेर परीक्षण गर्न दिएँ,’ सुवेदीले भने, ‘कार्यालयमा पनि दूधमा गन्ध आएको, पकाउँदा अमिलो भएको भन्दै दुई–तीन जनाले फोनमै गुनासो गरे । लगत्तै दुई जना ५० र १०० एमएल दूध बोकैर खाद्यमा आए ।’ सर्वसाधारणको गुनासो आएपछि खाद्य निरीक्षक सुवेदीले डीडीसीका काठमाडौं दुग्ध वितरण आयोजना प्रमुख नीलकण्ठ गौतमलाई फोन गरे । तर गौतमले दूधमा भएको गन्धको सन्दर्भमा जानकारी दिन मानेनन् । सूचना अधिकारीमार्फत जानकारी लिन आग्रह गरे ।

त्यसपछि सुवेदीले डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीलाई फोन गरे । ‘पानी बालाजु औद्योगिक क्षेत्रले आपूर्ति गरेको र त्यसमा क्लोरिनको मात्रा बढी भएकाले गन्ध आएको राजेन्द्र अधिकारीले जानकारी गराउनुभयो, थप स्पष्ट पार्ने गरी लिखित रूपमा खाद्य विभागमा जानकारी गराउन भनेको छु,’ सुवेदीले भने । बालाजु औद्योगिक क्षेत्रले वितरण गरे पनि पानीको गुणस्तर हेर्ने दायित्व डीडीसीकै हो । डीडीसीले धूलो दूधमा पानी प्रयोग गर्नुअघि परीक्षण गर्नुपर्थ्यो । ‘त्यो काम डीडीसी परियोजनाकै थियो,’ सुवेदीले भने, ‘त्यही भएर लिखित जानकारी मागेको छु ।’ दूधमा सोडा, फ्याट, एसएनएफ, आयतनको परिमाणलगायत परीक्षण गर्न दिइएको सुवेदीले जानकारी दिए । त्यसको परीक्षण रिपोर्ट भने आइसकेको छैन । सुवेदी त यहाँ प्रतिनिधि उदाहरण मात्र हुन् ।

डीडीसीको दूधमा आएको गन्धबारे गत मंगलबार सामाजिक सञ्जालमा चर्चासँगै हेलो सरकारमा पनि उजुरी परेको थियो । डीडीसीमै पनि व्यापक गुनासो आएको थियो । खाद्य निरीक्षक सुवेदीले अनौपचारिक रूपमा गुणस्तर परीक्षण गरे पनि खाद्यकै महानिर्देशक उपेन्द्र राय भने यस विषयमा बेखबर छन् । डीडीसीको दूधका विषयमा आफूलाई केही जानकारी नभएको उनी बताउँछन् । ‘डीडीसीको दूधका विषयमा उजुरी परेको छैन । उजुरी परेको भए प्राविधिक कारण पनि हेरिन्थ्यो । त्यस्तो समस्या छैन,’ रायले भने ।

डीडीसीका कर्मचारी भने दूधमा लापरबाही नै भएको स्विकार्छन् । डीडीसीमा व्यापक गुनासो भए पनि यस विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं डीडीसीकै बोर्डले चासो दिएका छैनन् । छानबिन नगर्ने र विकृतिलाई गुपचुप राख्ने प्रवृत्तिले उत्पादनको गुणस्तर खस्किँदै गएको बताइएको छ । ‘डीडीसीमै व्यापाक उजुरी पनि परेको छ । तर हाकिमहरू संवेदनशील भएनन्, उनीहरूले निगरानी पनि गरेनन्,’ डीडीसी स्रोतले भन्यो, ‘कारबाही नहुँदा गल्ती गर्ने कर्मचारीको मनोबल बढ्दो छ ।’

स्रोतका अनुसार हाल डीडीसीले धूलो दूध घोलेर बजार पठाउने गरेको छ । यस प्रक्रियामा पानी परीक्षण नगर्दा समस्या भएको हो । यसमा आयोजनाको प्रशोधन र गुण नियन्त्रण शाखा जवाफदेही हुन्छन् । तर यी शाखाले जिम्मेवारी बहन नगर्दा दूधमा प्रश्न उठेको स्रोतले बताएको छ । ‘बालाजु प्लान्टलाई औद्योगिक क्षेत्रले पानी उपलब्ध गराउँछ । तर प्रयोग गरिने पानी राम्ररी परीक्षण गरिएन,’ स्रोतले भन्यो, ‘दूध प्रशोधन भएपछि बजारमा जानुअघि दूधको पुनः कम्पोजिसन, गन्धलगायतको निर्धारित मापदण्ड पनि यकिन गरिएन ।’

डीडीसीले गत मंगलबार उपत्यकाका लागि ७८ हजार ५ सय लिटर दूध बजार पठाएको थियो । यसमध्ये स्ट्यान्डर्ड ५२ हजार, होलमिल्क १३ हजार ३ सय, काउमिल्क ११ हजार, टिक मिल्क २२ हजार लिटर थियो । यसमध्ये स्ट्यान्डर्ड र टिक मिल्कमा बढी समस्या आएको हो । दूधमा गुणस्तरको समस्या आएपछि बिक्री पनि कम भइरहेको छ । दूध गन्हाएर खान नसक्ने अवस्थाको भएकाले उपभोक्ता, बुथमेन र बिक्रेताबाट गुनासो आएको छ । दूध राम्ररी बिक्रीसमेत भएको छैन । बिक्री घटेपछि डीडीसीकै डिस्ट्रिब्युटरले गुणस्तरबारे प्रश्न उठाएका छन् । उनीहरूले तत्काल गुणस्तर नसुधारे अर्को डिस्ट्रिब्युटर खोज्न डीडीसीलाई चेतावनीसमेत दिएका छन् ।

‘हामी डिस्ट्रिब्युटरबाट संस्थानको केन्द्रीय कार्यालय र काठमाडौं दुग्ध वितरण आयोजनालाई दूधको गुणस्तर सुधार गरी नियमित गर्न पटकपटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदासमेत बेवास्ता गरी गुणस्तर नभएको दूध बजारमा पठाइएको छ,’ डिस्ट्रिब्युटरले डीडीसीलाई लेखेको पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा दूधको बिक्री बढाउन नसकिएको र बजारमा नकारात्मक असर परी बिक्री घटिरहेको छ । यस्तो अवस्थामा हामी डिस्ट्रिब्युटरबाट दूध ढुवानी गर्न सक्ने अवस्था नरहेकाले संस्थान आफैंले दूध डिस्ट्रिब्युटसनको अर्को व्यवस्था मिलाउन अनुरोध छ ।’ हाल डीडीसीका दुई वटा डिस्ट्रिब्युटर छन् । तिनले १ हजार बुथम्यानमार्फत दूध बिक्री गरिरहेका छन् ।

‘पानी, पाउडर वा बटरमा पनि खराबी हुन सक्छ । ल्याब परीक्षण गरेर बजारमा पठाउनुपर्ने, त्यो भइरहेको छैन,’ डीडीसीका अर्का एक कर्मचारीले भने, ‘चार महिनादेखि किसानलाई रकम भुक्तानी गर्न सकेका छैनौं । कर्मचारीको लापरबाहीका कारण किसानलाई समस्या हुने देखियो ।’ लापरबाही गर्ने कर्मचारीबारे छानबिन नभएको ती कर्मचारीले बताए ।

कृषि मन्त्रालयले पनि यस विषयमा निगरानी गरेको छैन । ‘डीडीसीका बोर्ड सञ्चालक समिति अध्यक्ष मन्त्रालयकै सहसचिव हुन् । मन्त्रालयले पनि बेवास्ता गरिरहेको छ,’ उनले भने । डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले भने दूधमा देखिएको समस्या समाधान भइसकेको दाबी गरे । ‘औद्योगिक क्षेत्रको पानीका कारण केही गन्हाउने समस्या थियो । पाउडर घोलेर बिक्री गर्नुपर्दा क्लोरिनका कारण गन्ध आएको हो,’ उनले भने, ‘एक दिन त्यस्तो भएको हो । अहिले त्यो समस्या छैन ।’

प्रकाशित : चैत्र ३०, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?