१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नयाँ वर्षमा कम्पनीहरूका थरीथरी अफर

नगद छुट, क्यास ब्याक, शून्य ब्याज, विदेश भ्रमण, एक्सचेन्जदेखि बिमासम्मका सुविधा
नुमा थाम्सुहाङ

काठमाडौँ — नयाँ वर्ष २०७८ नजिकिँदै गर्दा विभिन्न कम्पनीहरूले उपभोक्तालाई लक्ष्य गरी थरीथरी योजना ल्याएका छन् । सर्वसाधारणलाई आकर्षित गर्ने मात्र नभई आफ्ना उत्पादनको बिक्री तथा प्रचारका लागि समेत उनीहरूले नयाँ वर्ष लक्षित अफर ल्याएका हुन् । कम्पनीहरूले चाडपर्व, नयाँ वर्ष र अन्य विशेष अवसरमा यस्ता अफर ल्याउने गरेका छन् ।

नयाँ वर्षमा कम्पनीहरूका थरीथरी अफर

बजारमा दुई तथा चारपांग्रे सवारी, घरेलु उत्पादन तथा बिक्रीवितरण गर्ने कम्पनी, अनलाइन सपिङ प्लेटफर्म र अन्य सेवा प्रदायक कम्पनीले उपभोक्तालाई आकर्षित गर्न नयाँ अफर ल्याएका हुन् । दुई तथा चारपांग्रेमा टीभीएस, यामाहा, हुन्डाई, हिरो र बजाजले नगद छुट तथा उपहारका योजना अघि सारेका छन् ।

हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजना सार्वजनिक गरेको छ । ग्राहकको चाहनाअनुसार कम्पनीले यस्तो योजना ल्याएको लक्ष्मीका मार्केटिङ म्यानेजर सन्दीप शर्माले बताए ।

‘हुन्डाईले नयाँ वर्ष विशेष नगद छुट, स्क््रयाच कार्डमार्फत २० देखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा एक वर्षको बिमा सुविधाको योजना ल्याएको छ,’ उनले भने, ‘नयाँ मोडल बजारमा आउँदा त्यहीअनुसार कम्पनीले योजना ल्याउने गरेको छ ।’ योजनाअन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिनेछ ।

नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्ष्य गर्दै ‘टीभीएस वा, वाह, वाहह्’ योजना ल्याएको छ । जगदम्बाले चैत ८ देखि सुरु गरेको यो योजना वैशाख ३१ सम्म चल्ने जानकारी दिएको छ । योजनामा टीभीएसका मोटसाइकल वा स्कुटर खरिदमा १० हजार रुपैयाँसम्मको पक्का छुट र शून्य ब्याज भएको वाह अफर छ ।

योजना अवधिभर एक जना भाग्यशाली ग्राहकले नयाँ टीभीएस अपाचे आरआर ३१० उपहार पनि पाउने कम्पनीले जानकारी दिएको छ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले पनि ‘यो नयाँ वर्ष हिरोका साथ, खाली हुन्न हात’ योजना ल्याएको छ । योजनाअनुसार हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्य्राच कार्डमार्फत १० हजार रुपैयाँसम्म पक्का छुट र १ लाख रुपैयाँ बम्पर उपहार पाउनेछन् । यामाहा नेपालले फ्रिडम इनिसिएटेड योजना ल्याएको छ । यो योजनामा कम्पनीले प्रत्येक महिना एक भाग्यशाली विजेतालाई बम्पर पुरस्कारबापत २०.७८ लाख रुपैयाँ प्रदान गर्नेछ । हरेक साता ग्राहकले स्क्य्राच कार्डमार्फत २.०७८ लाख रुपैयाँसम्मका पुरस्कार प्राप्त गर्नेछन् । मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत ब्याज, न्यून डाउनपेमेन्ट वा न्यून ईएमआई सुविधाका साथ खरिद गर्न पनि सक्नेछन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष कृष्ण दुलालले पनि ग्राहकको मागअनुसार नै कम्पनीले विभिन्न योजना ल्याउने गरेको बताए । ‘यस्ता योजनाले कम्पनीहरूमाथि ग्राहकको विश्वास बढ्छ,’ उनले भने, ‘विशेष अवसरमा ल्याइने स्किमले कम्पनीको प्रवर्द्धन हुन्छ ।’

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले ‘बजाज शून्य अफर’ ल्याएको छ । यो योजनाबाट ग्राहकहरूले शून्यबाटै लाखौंलाख जित्न सक्छन् । यसमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइकको आधिकारिक सोरुम वा बिक्रेताबाट खरिद गर्नुपर्नेछ । मोटरसाइकल किन्दा ग्राहकले १० लाख रुपैयाँसम्म जित्न सक्छन् ।

घरेलु उत्पादन तथा बिक्रीवितरण गर्ने कम्पनी सामसङ, सीजी, टीसीएल, गोदरेज र केन्टले क्यास ब्याकजस्ता अफर राखेका छन् । अनलाइन सपिङ दराज र डिजिटल टीभी सेवा प्रदायक डिसहोमले छुट तथा विदेश भ्रमणको योजना ल्याएको छ । सामसङले नयाँ वर्ष २०७८ का अवसरमा ‘सुरुवात नयाँ उत्साह’ योजना ल्याएको हो ।

सामसङको बेस्ट इन क्लास टीभी र सिंगल तथा डबल डोर रेफ्रिजेरेटरमा छुट छ । सीजीको ‘सीजी राम्रो, गर्वका साथ हाम्रो’ योजनामा ग्राहकले कम्पनीका इलेक्ट्रोनिक्स सामान खरिदमा १० वर्षसम्मको वारेन्टी र ५४ हजार २ सय रुपैयाँसम्मको बचत तथा अन्य विभिन्न पक्का उपहार प्राप्त गर्नेछन् ।

टीसीएलले वासिङ मेसिन, एयर कन्डिसन, टीभीलगायत खरिदमा क्यास ब्याक अफर ल्याएको छ । तीन वर्षको वारेन्टी भएको टीभी र पाँच वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ वासिङ मेसिनमा क्यास ब्याक एयर कन्डिसनर खरिदमा निःशुल्क जडानजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । गोदरेज होम अप्लायन्सको पनि क्यास ब्याक अफर छ । यसमा ग्राहकले गोदरेजका सामान खरिद गर्दा १८ हजार रुपैयाँसम्मको क्यास ब्याक पाउँछन् ।

केन्टको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको वितरक ईओएल प्रालिले ‘स्वच्छ पानी, सुन्दर जिन्दगानी, साथमा थुप्रै उपहार पनि ः यो नववर्ष मनाऔं केन्ट आरओसँग सहर्ष’ भन्ने नारासहित योजना ल्याएको छ । योजनामा केन्टको आरओ मोडलको खरिदमा हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एलजीको रेफ्रिजेरेटर, एलजी एलईडी टीभी र तीन वटा गोदरेज भाइरस सिल्ड जित्न सकिन्छ । योजनाको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स स्कुटर जित्ने अवसर रहेको कम्पनीले जानकारी दिएको छ ।

अनलाइन सपिङ दराजले नयाँ वर्ष लक्षित ‘नयाँ रहर, नयाँ अफर’ योजना ल्याएको छ । यो योजनामा ग्राहकले विभिन्न छुट पाउनेछन् । दराजमार्फत खरिद गरी डेबिट तथा क्रेडिड कार्डमार्फत भुक्तानी गर्दा १ हजारदेखि १५ सय रुपैयाँसम्म छुट पाइनेछ ।

यसैगरी डिसहोमले ‘नयाँ खुसीको उडान’ योजना ल्याएको छ । योजनाले सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुसी प्रदान गर्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले हरेक साताको बिहीबार हुने लक्की ड्रबाट छानिने दुई जोडीले बैंकक भ्रमण गर्न पाउनेछन् ।

यसैगरी वर्ल्डलिंक कम्युनिकेसन्सले ‘हर्षको नयाँ वर्ष’ योजना ल्याएको छ । यो योजनमा ग्राहकले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा ६२ प्रतिशतसम्म छुट पाउनेछन् । यी प्याकेजमा एक वर्ष नेट टीभीको सेवा निःशुल्क रहेको कम्पनीले जानकारी दिएको छ ।

सानिमा बैंकले भने नयाँ वर्षका अवसरमा ‘नयाँ रहर, नयाँ अफर’ योजना ल्याएको छ । अनलाइन सपिङ दराजसँगको सम्झौतामा बैंकले यो योजना ल्याएको बताएको छ । योजनाअनुसार बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा एक हजार र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

प्रकाशित : चैत्र ३०, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?