१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महासंघको परिकल्पना : एक दशकमा एक खर्ब डलरको अर्थतन्त्र

‘आर्थिक रुपान्तरण २०३०’ मा १० प्राथमिकतामा आधारित सय योजना
नुमा थाम्सुहाङ

काठमाडौँ — आगामी एक दशकमा अर्थतन्त्रलाई तीन गुणाले वृद्धि गरी १ खर्ब डलरको बनाउने परिकल्पनासहित नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो भिजन पेपर ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ सार्वजनिक गरेको छ ।

महासंघको परिकल्पना : एक दशकमा एक खर्ब डलरको अर्थतन्त्र

महासंघको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा भिजन पेपर सार्वजनिक गरिएको हो ।

आगामी दशकमा एक सय क्षेत्रमा १ खर्ब ५० अर्ब डलरभन्दा बढी लगानीको परिकल्पनासहित तयार पारिएको भिजन पेपर कार्यान्वयन भए वार्षिक ४ लाख रोजगारीको अवसर सिर्जना हुने महासंघ अध्यक्ष शेखर गोल्छाले बताए ।

‘इमानदारीसाथ आर्थिक रूपान्तरण २०३० योजना लागू भए १ खर्ब ५० अर्ब डलरभन्दा बढी लगानी अर्थतन्त्रमा भित्रिन्छ,’ महासंघ अध्यक्ष गोल्छाले भने, ‘जसमध्ये करिब १ खर्ब ८ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुनेछ ।’ महासंघले अर्थतन्त्रको सुधारका लागि स्पष्ट अवधारणा हुनुपर्ने मागसहित आर्थिक रूपान्तरण २०३० ल्याएको उनले बताए । आगामी दशकमा अहिले रहेको ३४ अर्बको डलरको अर्थतन्त्रलाई १ खर्ब डलरमा पुर्‍याउन र दोहोरो आर्थिक वृद्धिदर हासिल गर्न सम्भव भएको अध्यक्ष गोल्छाको भनाइ छ । आगामी दशकमा थप २२ लाख रोजगारी सिर्जना गर्ने परिकल्पना भिजन पेपरले उल्लेख गरेको छ ।

‘महासंघको आर्थिक रूपान्तरण २०३० ले १० प्राथमिकतामा आधारित सय योजना तयार पारेको छ । यो योजना कार्यान्वयनमा सरकारसँगको सहकार्य आवश्यक छ,’ उनले भने, ‘दुई वर्षभित्रै महासंघले ४० वटा योजना कार्यान्वयनमा लान सक्छ । यी गर्न सकिने र प्रतिफल दिने योजना हुन् ।’ महासंघले भिजन पेपरमा साना तथा मझौला उद्यमीहरूका समस्या, रोजगारी, स्टार्टअप, ऊर्जा, पूर्वाधार, विदेशी लगानीलगायत क्षेत्रलाई प्राथमिकतामा राखेको छ । निजी क्षेत्र र समुन्नत नेपालको अवधारणालाई अघि सार्दै योजनामा सफलता पाउन पूर्वाधारमा लगानी बढाउनुपर्ने गोल्छाले बताए ।

‘आर्थिक रूपमा ४० हजार मेगावाट क्षमताको बिजुली निकाल्न सकिन्छ । अझै भारत र बंगलादेश बिजुली किन्न तयार छन् । बंगलादेशले ५ सय मेगावाट क्षमताको सम्झौता गरिसक्यो,’ उनले भने, ‘अलैंची, अदुवा, जडीबुटीलगायत तुलनात्मक लाभ दिने वस्तु निर्यातलाई विस्तार गर्न सक्नुपर्छ । पूर्वाधारमा लगानी बढाउन पुँजीगत खर्च बढाउने उपाय र तिनको कार्यान्वयन आवश्यक छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्छ । राजस्वको सदुपयोग गरौं ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसाय सुदृढ बनाई ढुक्कले काम गर्न उद्योगीहरूलाई आग्रह गरे । ‘राजनीति अस्थिर हुने भयो । सरकार बदलिन्छ भन्ने बाहिर हल्ला छ । यसलाई म मिलाउँछु,’ उनले भने, ‘वर्तमान सरकार वर्गविशेषको मात्र होइन, ढुक्कले काम गर्नुहोस् ।’ सरकारले विभिन्न क्षेत्रमा सफलता हासिल गरेको समेत उनले दाबी गरे । यही सरकारको पालामा निर्यातमा बढोत्तरी भएको उनको भनाइ छ ।

‘उद्योग व्यापार क्षेत्रमा सफलता मिल्दै गएका छन् । अहिले व्यापार घाटा बढ्न नदिन आयात नियन्त्रण गरेका छौं,’ उनले भने, ‘यसबीचमा हामीले निजी क्षेत्रको योगदान बढाउन, यस क्षेत्रतर्फ जनता र लगानीकर्ता, उद्यमी व्यवसायीहरूको रुचि बढाउने काम गरेका छौं ।’ मजदुर समस्या र हडतालजस्ता विषय समाधान गरिसकेको प्रधानमन्त्री ओलीको दाबी छ । सरकार विकास गर्न सक्छ भन्ने थुप्रै प्रमाण र उदाहरणसमेत भएको प्रधानमन्त्री ओलीले बताए । ‘त्यसमध्ये एउटा उदाहरण, देशबाट अब हिंसा समाप्त भयो । हिंसाको नीति अपनाएका पनि शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका छन्,’ उनले भने, ‘देश अब शान्तिपूर्ण वातावरणमा छ । उद्योग व्यवसायका लागि योभन्दा अर्को राम्रो वातावरण छैन ।’

व्यवसायी, रोजगारदाता र मजदुरहरूबीच सन्तुलित सम्बन्ध कायम गरेर समस्या समाधान गर्नेतर्फ सरकार लागेको उनको भनाइ छ । उद्योगी व्यवसायीको सहजताका लागि नीति नियम संशोधन गर्न सरकार लचिलो भएको प्रधानमन्त्री ओलीको दाबी छ । ‘केही समस्या छन् भने मिलेर समाधान गरौं,’ उनले भने, ‘सरकार तपाईंहरूभन्दा भिन्न छैन । कुनै कानुन, नियम, निर्देशिका, कुनै व्यवहार परिवर्तन आवश्यक छ ? आवश्यक छ, त्यो म पनि जान्दछु । हामीले जहिल्यै आवश्यकता पूरा गर्दै आएका छौं । अब पुस्तकै निकालेर दिनुभएको छ । व्यवसायीले गर्ने काम व्यवसायीले र सरकारले गर्ने काम सरकारले गर्नेछ ।’

महासंघले तयार पारेको भिजन पेपरमा प्राथमिकताका क्षेत्र र सरकारले सुधार गर्नुपर्ने कानुनी प्रावधानसमेत उल्लेख गरिएको छ । महासंघले उक्त अवसरमा प्रदेश र वस्तुगत वाणिज्य संघलाई सम्मानसमेत गरेको थियो । कार्यक्रममा आफ्नो भिडियो सन्देश पठाउँदै बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीले बंगलादेश सरकारले निर्यात बढाउन र उद्योगीलाई प्रोत्साहित गर्न चालेको कदमबारे जानकारी गराए । बंगलादेशले रेडिमेड गार्मेन्टमा मात्रै नभई औषधि, लेदर, जुत्ता, सूचना प्रविधि, जहाज निर्माण गर्ने क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेको उनले बताए ।

कुनै पनि राष्ट्रले चाहेको विकास हासिल गर्न तीन पक्ष महत्त्वपूर्ण हुने बंगलादेशी मन्त्री मुन्सीको भनाइ छ । यसका लागि मानवीय स्रोतको परिचालन तथा जनसांख्यिक लाभको सदुपयोग, नीति निर्माणको तहमार्फत आर्थिक स्थायित्व र भौतिक पूर्वाधार महत्त्वपूर्ण हुने उनको धारणा छ । नेपाल पनि अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुन लागेको उल्लेख गर्दै उनले स्तरोन्नतिपछिको चुनौतीको सामना गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए ।

प्रकाशित : चैत्र २९, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?