१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तीन सय ठाउँमा मेलम्ची पानी लिकेज

विमल खतिवडा

काठमाडौँ — मेलम्ची पानीको लिकेजले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा टाल्न एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ । पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गरिएकाले लिकेज हुने क्रम बढेको छ ।

तीन सय ठाउँमा मेलम्ची पानी लिकेज

यसले नयाँ कालोपत्रे सडक बिग्रने र खाल्डा पर्ने समस्या देखिएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । भर्खरै कालोपत्र गरेका सडकमा समेत पानीले गर्दा खाल्डा भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी वितरणको काम गर्दै आएको छ ।

‘खानेपानी वितरणमा तयारी नपुगेको देखिन्छ,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले भने, ‘लामो प्रतीक्षापछि आएको मेलम्चीको पानी रोक्ने कुरा भएन । तर पानी लिकेजकै कारण सडकमा खाल्डा थपिनु राम्रो होइन ।’ पाइप फुट्दा बनाउने र सडक मर्मत गर्ने काम सम्बन्धित निकायबाटै हुनुपर्ने उनको भनाइ छ ।

‘सडक बनाउँदा पाइप फुट्यो र बिजुलीका पोल ढले भने हामी बनाउँछौं, त्यो प्रोजेक्टअन्तर्गतकै काम हो,’ उनले भने, ‘तर तयारी नपुर्‍याई पानी वितरण गर्दा समस्या देखापरेको हो, जताततै पानी बगाएर खाल्डा परेर जात्रा हुन दिनुभएन, त्यसका लागि हामीले खाल्डा टाल्नुपर्छ ।’ केयूकेएलका प्रतिनिधिलाई यसबारे छलफल गर्न बोलाइएको उनले बताए । ‘समन्वय गरेरै काम गरौं भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

थुप्रै ठाउँमा पाइप फुटेकाले कहाँबाट स्रोत जुटाउने भन्ने चुनौती थपिएको उनको भनाइ छ । ‘कति ठाउँमा लिकेज छ, त्यसका आधारमा टाल्न कति खर्च लाग्छ, त्यसको तयारीको काम हुँदै छ,’ उनले भने, ‘तर अहिलेसम्म पानी लिकेजबाट बनेका खाल्डा टाल्न मात्र एक करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ ।’

चालु आर्थिक वर्षमा सडक मर्मतमा मात्र ५० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ । यो रकम ओभर–ले (कालोपत्रमाथि कालोपत्र), नयाँ सडक बनाउने, पानी लिकेज भएका ठाउँ टाल्नेलगायत काममा खर्च हुनेछ । कालोपत्र भइसकेका भित्री सडक पनि खनेर धमाधम पाइप बिछ्याउने र ढल राख्ने काम भइरहेको छ । विद्युत् प्राधिकरणले सडक अस्तव्यस्त पार्दै तार भूमिगत पार्ने काम अघि बढाएको छ । जसले गर्दा सडक र प्राधिकरणबीच समन्वय अभाव देखिन्छ ।

सडक जथाभावी नखनियोस् भनेर ड्युटी बस्ने गरिएको डिभिजन सडक प्रमुख नेपालीले बताए । ‘तर यसमा उपभोक्ताहरूको सहयोग छैन,’ उनले भने, ‘सडक कालोपत्र गर्नु छ भने एकै दिनमा हुँदैन । तर जब कालोपत्र हुन्छ, त्यसपछि खानेपानीका पाइप र ढलका लागि भन्दै जथाभावी सडक खनेर बिगार्ने प्रवृत्ति छ ।’ सबैलाई आफ्नै अगाडि सडक कालोपत्र हुने र बन्ने कुरा पहिल्यै थाहा हुने उनले बताए । चाबहिल, बानेश्वर, लाजिम्पाट, कीर्तिपुरलगायत क्षेत्रमा पानी लिकेजले गर्दा सडकमा खाल्डा बनेको उनले जानकारी दिए ।

अहिले मेलम्चीको पानी दैनिक साढे ८ करोड लिटर वितरण हुँदै आएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन् । पानी थप हुँदै जाने उनको भनाइ छ । ‘बिहीबारसम्म उपत्यकाका करिब तीन सय स्थानमा पानी लिकेज भएको थियो,’ उनले भने, ‘जसमध्ये शुक्रबार बिहानसम्म दुई सय स्थानको मर्मत गरिसकेका छौं ।’ लिकेज भएका ठाउँको मर्मत निरन्तर भइरहेको उनले बताए ।

प्रकाशित : चैत्र २९, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?