कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पाँच वर्षमा सात खर्बको निर्यात लक्ष्य

२०७८ साललाई निर्यात वर्ष घोषणा गर्न माग
नुमा थाम्सुहाङ

काठमाडौँ — निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले पाँच वर्षभित्र सात खर्ब रुपैयाँ बराबरको स्वदेशी उत्पादन निर्यात गर्ने लक्ष्य लिएको बताएको छ । महासंघले तयार पारेको तीनवर्षे रणनीतिक योजनाअनुसार काम गरेर उक्त लक्ष्य हासिल गर्न सकिने महासंघ अध्यक्ष रामबहादुर गुरुङले बताए ।

पाँच वर्षमा सात खर्बको निर्यात लक्ष्य

‘निर्यात वृद्धिका लागि महासंघले सन् २०२१–२०२३ सम्मको रणनीतिक योजना तयार गरेको छ,’ काठमाडौंमा शुक्रबार आयोजित महासंघको प्रथम साधारणसभाका अवसरमा उनले भने, ‘महासंघ स्थापना भएको तीन वर्षमा ३ खर्ब रुपैयाँ र पाँच वर्षमा ७ खर्ब रुपैयाँ निर्यात पुर्‍याउने लक्ष्य छ । यसका लागि निर्यात विकास प्रवर्द्धन नीति तयार गर्न सरकारसँग पहल गर्छौं ।’

सरकारले निर्यात वृद्धिका लागि २०७८ साललाई निर्यात वर्ष घोषणा गर्नुपर्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा निर्यात प्रवर्द्धनका लागि पाँच करोड रुपैयाँ छुट्याउनुपर्ने उनले बताए । ‘निकासीका वस्तु सीमित छन् । तर आयातको परिमाण बढेको बढ्यै छ,’ गुरुङले भने, ‘निर्यात व्यापारमा हामी कहाँ चुक्यौं ? यसको उत्तर खोज्नुपर्ने भएको छ ।’

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसायीले उठाएका समस्या समाधान गर्न सके आफ्नो जिम्मेवारी पूरा भएको महसुस गर्ने बताए । व्यवसायीको मनोबल उच्च भए सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा हुने उनको भनाइ छ । ‘निर्यात व्यवसायमा देखिएका समस्यालाई आगामी बजेटमा सम्बोधन गरिनेछ,’ मन्त्री पौडेलले भने, ‘सरकार व्यवसायीहरूको सहयोगी बन्न तयार छ ।’

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले कूटनीतिक रूपमा निर्यात प्रवर्द्धनका प्रयास गरिरहेको उल्लेख गरे । ‘हामीले व्यापार प्रवर्द्धनका लागि भारतलगायत मुलुकसँग व्यापार सन्धिहरू अघि बढाएका छौं,’ उनले भने । व्यवसाय सहज बनाउन डिजिटल फ्रेमवर्कमा मन्त्रालयले काम गरिरहेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘ई–कमर्स, ई–बिजनेस जस्ता डिजिटल पूर्वाधार निर्माण गरे निर्यात व्यवसायमा सहयोग पुग्छ,’ उनले भने ।

निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूलाई नेपाली वस्तुको बजार प्रवर्द्धन गर्न व्यवसायीको लक्ष्य तोकिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए । नेपाल उद्योग परिसंघ अध्यक्ष सतीशकुमार मोरले भने सरकारले निजी व्यवसायीलाई सहयोग गरे आर्थिक गतिविधि चलायमान बन्ने धारणा राखे ।

महासंघमा २७ सदस्यीय कार्यसमिति

यसैबीच निर्यात व्यवसायी महासंघ नेपालमा २७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । महासंघको प्रथम साधारणसभाका अवसरमा शुक्रबार रामबहादुर गुरुङको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । महासंघका उपाध्यक्षमा चण्डीप्रसाद अर्याल, शंकर पाण्डे, दुर्गाविक्रम थापा र गोविन्द घिमिरे छन् । यसैगरी महासचिवमा अमृत खड्का, सचिवमा तेन्जिङ शेर्पा, कोषाध्यक्षमा किरण डंगोललगायत छन् ।

प्रकाशित : चैत्र २८, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?