गुणस्तर र तौल कम दिएर निर्माण सामग्रीमा ठगी

स्क्र्याब भएका सामानको पनि पूरै मूल्य असुल्दै कम्पनी र हार्डवेयर सञ्चालक
राजु चौधरी

काठमाडौँ — बालाजुस्थित राजेश हार्डवेयरले कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोक्ता ठगेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र प्रहरीसहितको टोलीले शनिबार बालाजुको स्टर सिलबन्दी गर्‍यो ।

गुणस्तर र तौल कम दिएर निर्माण सामग्रीमा ठगी

बिलमा तोकिएको परिमाणभन्दा १० देखि १५ प्रतिशतसम्म कम परिमाण उपलब्ध गराइएको आरोपमा आइतबार ३ लाख रुपैयाँ जरिवाना गर्‍यो ।

डन्डीमा फेला परेको ठगीको यो घटना एउटा मात्र होइन । व्यवसायीहरूले खाद्यवस्तुसँगै निर्माण सामग्रीको गुणस्तर र तौलमा पनि ठगी गर्ने गरेको सरकारी अनुगमनले देखाएको छ । डन्डी, सिमेन्टमा तौल कम गरेर बढी मूल्य असुल्दै आएका छन् । कम तौलसँगै केहीले गुणस्तरमा समेत लापरबाही गरिरहेका छन् । ‘स्क्र्याब भएका सामान ५० देखि ७५ प्रतिशत सस्ता हुन्छन् । तर कम्पनी र हार्डवेयर सञ्चालकले मौका छोपेर शतप्रतिशत नै मूल्य लिन्छन् । गुणस्तरको पनि उस्तै समस्या हुन्छ,’ ग्रिल तथा स्टल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले भने ।

तर अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता ठगिने गरेको उनले बताए । यसबाहेक कम्पनीहरूले बन्डलमै तौल लेखेर पठाएका हुन्छन् । तर, केही डिलरले ट्याग हटाएर पनि ठगी गरिरहेको उनको भनाइ छ । कटुवालको भनाइमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको पनि सहमति छ । पछिल्लो चरणमा तौल कम गरेर बिक्री गर्ने गिरोह सक्रिय रहेको उनको भनाइ छ । ‘उपभोक्तासँग बिलिङ गर्दा तौल ठीकै हुन्छ । तर लोडिङका क्रममा सिमेन्ट बोराबाट केही परिमाण झिकेर पठाउने गरेको गुनासो छ,’ पुडासैनीले भने । व्यवसायीले हुक, ट्यागलगायत फालेर पनि उपभोक्ता ठगी गर्ने गरेको बताइन्छ । ‘डन्डीको गुणस्तर पनि घटेको देखिन्छ । त्यो पनि बढी तौलमै समस्या हो,’ पुडासैनीले भने ।

विभागले गरेको अनुगमन र ल्याब परीक्षणका क्रममा पनि गुणस्तरमा समस्या देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा गुणस्तर प्राप्त ५३ उद्योगमा निरीक्षण गरिएको जनाइएको छ । यसबाहेक २ सय ७० उद्योगबाट नमुना संकलन र २ हजार २ रासायनिक तथा भौगोलिक नमुना विश्लेषण गरिएको पुडासैनीले बताए । त्यस क्रममा जगदम्बा स्टिल्स प्रालिको उत्पादन टीएमटी १६ एमएम एफई ५०० गत साउन ३० मा परीक्षण गर्दा कार्बन र सल्फरको मान कम देखिएको थियो । साथै नेपाल गुणस्तरअनुसार नरहेको पनि जनाइएको छ ।

भदौ १२ मा उक्त ब्याचका सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्न र १६ एमएम एफई ५०० को बिक्रीवितरण बन्द गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न विभागले निर्देशन दिएको थियो ।

धादिङस्थित मंगलम सिमेन्ट उद्योगको उत्पादन पीपीसीमा पनि कम्प्रेसिभ स्ट्रेन्थ पनि गुणस्तरअनुकूल नपाइएको विभागले जनाएको छ । भदौ २६ मा उल्लिखित ब्याचका सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्न, पीपीसीको बिक्रीवितरण बन्द गर्न र १५ दिनभित्र स्पष्टीकरण पेस गर्न विभागले निर्देशन दिएको थियो । त्यसपछि पुनः संकलित नमुना गुणस्तरको पाइएपछि बिक्रीका लागि खुला गरिएको थियो ।

यीबाहेक विभागले गरेको परीक्षणमा भूगर्भर् सिमेन्ट, रिलायन्स सुपरटेक सिमेन्ट, नेपाल पोलिपाइप प्रालि, नारायणी माइक्रो पाइप उद्योग, शुभश्री जगदम्बा सिमेन्ट, मंगलम ई प्रालिका उत्पादनमा पनि केही कैफियत देखिएको विभागले बताएको छ । नारायणी सिमेन्ट उद्योग, गृहलक्ष्मी मेटल ई प्रालि, रोल्पा सिमेन्ट, सम्राट् सिमेन्ट कम्पनीको उत्पादनमा पनि कैफियत देखिएको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए । ‘केहीलाई स्पष्टीकरण र केहीलाई पुनः नमुना संकलन गरेर परीक्षणको काम भइरहेको छ,’ उनले भने, ‘सवारीसाधनको अभावमा पर्याप्त अनुगमन गर्न सकेका छैनौं । उजुरी आएका ठाउँमा भने अनुगमन गरिरहेका छौं ।’

यता सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने विगतमा सिमेन्टका बोराबाट ‘अपरेसन’ गर्ने चलन भए पनि पछिल्लो समय त्यो बन्द भएको दाबी गरे । गुणस्तरका विषयमा सानातिना प्राविधिक कारण छिटफुट समस्या देखिए पनि मिसावट र न्यून गुणस्तरको नभएको उनको भनाइ छ । ‘प्रतिस्पर्धाका कारण आठदस वर्षअघि सिमेन्ट सस्तो थियो । काठमाडौंमा ‘अपरेसन’ गरेर सिमेन्ट बिक्री गरेको गुनासो हुन्थ्यो । तर अहिले त्यस्तो काम भएको छैन,’ थापाले भने । व्यवसायीले जानाजान त्यसो नगरेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २६, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?