१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सहकारीमार्फत ठग्दै, भाग्दै

झन्डै ८० करोड ठगी आरोपमा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ   िपीडित अन्य निक्षेपकर्तालाई उजुरी दिन आग्रह
प्रशान्त माली

ललितपुर — झापाका बहादुर विष्टले २०७६ पुस १ मा कुमारीपाटीको गुडविल बचत तथा ऋण सहकारीमा वार्षिक १८ प्रतिशत ब्याजदरमा ८ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती खातामा जम्मा गरे । १८ वर्षसम्म भाडामा बसिसकेको घरभेटी अध्यक्ष रहेको सहकारीमा मोटो रकम जम्मा गर्दा उनलाई खासै चिन्ता लागेन । २०७७ मंसिर २९ मा अवधि सकियो । साँवा/ब्याज लिन जाँदा बैंकबाट रकम ल्याउन बाँकी भन्दै सहकारीका कर्मचारीले फागुन १५ मा आउन अनुरोध गरे । 

सहकारीमार्फत ठग्दै, भाग्दै

दुई सातापछि जाँदा कर्मचारीले पैसा नभएको भनेर फर्काएपछि उनलाई डर लाग्न थाल्यो । सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ सम्पर्कविहीन भएपछि उनी बेचैन छन् । चैत २ मा महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका उनी भन्छन्, ‘व्यापार व्यवसाय गर्न भनेर पुर्ख्यौली ५२ रोपनी जग्गा बेचेर रकम हात पारेको थिएँ । चाहिनेभन्दा बढी विश्वास गरेर खत्तम भइयो ।’

  • धापाखेलकी विमला शाहीको माइती र गुडविलका अध्यक्ष श्रेष्ठको ससुराली एकै ठाउँमा पर्छ । ससुराली खलकपट्टिको नाता जोडेर अन्य सहकारीमा भन्दा आकर्षक ब्याज भएको भन्दै १२ प्रतिशत दिने गरी शाहीलाई गत पुसमा तीन महिनाका लागि मुद्दतीमा १० लाख जम्मा गर्न लगाइन् । छुट्टै मुद्दतीमा उनको ५ लाख रुपैयाँ छ । अहिले सहकारी डुबेको खबर सुनेर उनको पनि होस उडेको छ । सोमबार प्रहरीमा उजुरी दिन पुगेकी शाही भन्छिन्, ‘वैशाखमा छोरीको बिहे गर्ने भनेर जम्मा पारेको रकम डुब्यो ।’ बेइमानी गर्ने सञ्चालकलाई कडा कारबाही गरेर चाँडै रकम फिर्ता गराउन उनको आग्रह छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलमा सोमबार विष्ट र शाही जस्तै ६४ जनाले गुडविलका सञ्चालकमाथि ठगी आरोपमा उजुरी दिएका छन् । यसअघि पनि ७० जनाले उजुरी दिइसकेका छन् । प्रहरीले संस्थाका अध्यक्ष श्रेष्ठसहित ७ जना सञ्चालकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । गोदावरी नगरपालिका–१४ ठैबका श्रेष्ठलाई परिसरबाट खटिएको प्रहरी टोलीले शनिबार भरतपुरमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो ।

संस्थाका उपाध्यक्ष दीपेन्द्र कोइराला, कोषाध्यक्ष सपना खड्का, सचिव विशाल केसी, सदस्यहरू किसनगणेश श्रेष्ठ, गोविन्द महर्जन, विवेक महर्जन, मतिमान महर्जन र डम्बरबहादुर श्रेष्ठ सोमबार पक्राउ परेका छन् । सदस्य बिना महर्जन भने फरार छिन् । सहकारीबाट कम्प्युटर, कागजात नियन्त्रणमा लिएर अध्ययन अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए । ‘पक्राउ परेकाहरूमाथि चैत ५ सम्म परेको उजुरीका आधारमा ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको आरोप छ,’ उनले भने, ‘उनीहरूविरुद्ध सहकारी ऐन, २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।’ सहकारीबाट पीडित अन्य निक्षेपकर्ताले पनि उजुरी दिन उनको आग्रह छ । यसअघि माघमा पक्राउ परेका एकान्तुकनास्थित नौलो बिहानी सहकारीका अध्यक्ष गंगालाल श्रेष्ठमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीलगायत सञ्चालकविरुद्ध ८३ लाख रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो । प्रहरीले गत मंसिरमा लुभुको सहयोगी सहकारीका तत्कालीन प्रबन्धक कमलकुमार श्रेष्ठलाई पनि एक करोड ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत लगनखेलमा मुद्दा दायर गरेको थियो ।

गत वर्ष माघमा मानभवनको गंगाजल बहुउद्देश्यीय सहकारीका अध्यक्ष नीरबहादुर श्रेष्ठलाई पनि ७० लाख ठगी गरेको आरोपमा अदालतमा मुद्दा दायर गरिएको थियो । सहयोगीका प्रबन्धक र गंगाजलका अध्यक्षविरुद्ध दायर गरिएको मुद्दा विचाराधीन छ । ग्वार्कोको नबिल सहकारी संस्थाका सञ्चालक एवं दृष्मा ओभरसिस कम्पनीका अध्यक्ष विमला लामा भने ठगी मुद्दामा पुपर्क्षका लागि जगनाथ कारागारमा छन् । उनीलगायत सहकारी सञ्चालकविरुद्ध २०७५ माघ २९ मा मुद्दा दायर गरिएको थियो । उनीहरूविरुद्ध ८ करोड ठगी गरेको उजुरी परेको थियो ।

प्रकाशित : चैत्र २४, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?