कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अन्नपूर्ण पदमार्गमा देखिन थाले विदेशी पर्यटक

५ महिनामा १ सय ८८ आए, पछिल्ला दुई महिनामा पर्यटक आगमन बढ्यो
आश गुरुङ

लमजुङ — विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् ।

अन्नपूर्ण पदमार्गमा देखिन थाले विदेशी पर्यटक

सरकारले गत कात्तिकदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेको थियो । त्यसपछि नेपाल प्रवेश गरेका पर्यटक अन्नपूर्णमा खुलेका थिएनन् । नोभेम्बर र डिसेम्बरमा छिटफुट पर्यटक देखिएकोमा त्यसपछि चिसोका कारण जनवरीमा खासै आएनन् । त्यसपछिका २ महिनामा भने पर्यटकको चहलपहल बढेको लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङ च्याम्चेका होटल व्यवसायी पञ्च गुरुङले बताए ।

‘धेरै समयपछि २/३ महिनाअघि छिटफुट पर्यटक देखिए । हिजोआज कहिलेकाहीँ समूहमै आउने गरेका छन्,’ उनले भने । कोरोना संक्रमण जोखिम बढेसँगै गत वर्ष चैत ११ देखि सरकारले लकडाउन गरेपछि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आएका थिएनन् । पदमार्गमा लकडाउनको करिब ७ महिनापछि छिटफुट पर्यटक देखिन थालेको उनको भनाइ छ ।

पछिल्लो समय विदेशी पर्यटक पदमार्गमा देखिन थालेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङले जानकारी दिए । ‘कहिलेकाहीँ १/२ जना देखिन्छन् । कहिलेकाहीँ ५/७ जना आउँछन् । यो देख्दा २/३ वर्षअघि पर्यटक आउने गरेको याद आउँछ,’ उनले भने । लकडाउनपछि पहिलोपटक नोभेम्बर ४ बाट विदेशी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका पर्यटक सहायक क्षेत्र गुरुङले बताए । लकडाउनसँगै बन्द धारापानी चेकपोस्ट पर्यटक आउन थालेपछि नोभेम्बर १० बाट खुलाइएको थियो । नोभेम्बरमा केही पर्यटक हिमाल चढ्ने भनी आएका थिए । मुस्ताङ खुला नभएको अवस्थामा आएका पर्यटक मनाङ घुमेर फर्कने गरेका थिए ।

एक्यापका अनुसार सरकारले विदेशी पर्यटकलाई खुला गरेपछिको ५ महिनामा चक्रीय अन्नपूर्ण पदमार्गमा १ सय ८८ विदेशी पर्यटक आएका छन् । सन् २०२० को नोभेम्बरमा १२, डिसेम्बरमा १२, सन् २०२१ को जनवरीमा २, फेब्रुअरीमा २५ र मार्चमा १ सय ३७ पर्यटक आएका छन् । गतवर्ष जनवरीमा २ सय ५५, फेब्रअरीमा ५ सय १२ र मार्च २३ सम्म १ हजार १ सय ८२ पर्यटक भित्रिएका थिए । मार्च १४ देखिदेखि अक्टोबरसम्म पर्यटक आगमन थिएन ।

पछिल्लो समय चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक केहीले पोखरा, काठमाडौं र बेंसीसहरमै परिमट काटेर आएका छन् । केहीले भने धारापानीस्थित चेकपोस्टमा परमिट लिएको गुरुङले बताए । उनका अनुसार पोखरा, काठमाडौं र बेंसीसहरमा परमिट काटेर आए विदेशी पर्यटकले प्रतिव्यक्ति ३ हजार रुपैयाँ तिर्नुपर्छ । मनाङ आएर काटेमा दोब्बर शुल्क लाग्छ ।

पछिल्लो समय मनाङमा पनि पर्यटकको चहलपहल बढेको एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । ‘जनवरी फेब्रुअरीमा खासै पर्यटक आएनन् । हिमपात थियो । चिसो थियो । मार्चमा भने पर्यटक बढे,’ उनले भने । कोरोना संक्रमण जोखिम घट्दै गए अप्रिल, मे र जुनसम्म पर्यटक आउने उनको भनाइ छ ।

प्रकाशित : चैत्र २२, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?