१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नयाँ उद्योगलाई तीन वर्ष कर लिन्नौं : मुख्यमन्त्री राउत

पर्सा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक उद्योग ऐन आएपछि प्रदेशमा स्थापना हुने नयाँ उद्योगसँग तीन वर्ष कर नलिने घोषणा गरेका छन् ।

नयाँ उद्योगलाई तीन वर्ष कर लिन्नौं : मुख्यमन्त्री राउत

‘प्रदेश सरकारले उद्योग ऐन तयार गरिसकेको छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमका अवसरमा शुक्रबार उनले भने, ‘ऐन जारी भएपछि उद्योग दर्ता र तीन वर्षसम्म उद्योगलाई कुनै कर नलाग्ने सुविधा दिनेछौं ।’ प्रदेश उद्योगमा २० वर्षसम्म बन्द–हडताल गर्न नपाइने प्रावधान पनि ल्याइने उनले बताए । संघ सरकारबाट अझै पनि प्रदेश सरकारलाई असहयोग रहेको उनको भनाइ छ । व्यवस्था परिवर्तन भए पनि राज्य सञ्चालन गर्नेको मानसिकता पुरानै रहेको उनको आरोप छ ।

‘संघीय सरकारको नीति, ऐन र कानुन अवरोध नै मुलुकको विकासको मुख्य बाधक हो,’ उनले भने, ‘मुलुकको आर्थिक विकास गर्न यहाँको कानुन लगानीमैत्री हुनुपर्छ । तर मुलुकका सबै निकायमा लुटेरा मात्र भए कसरी हुन्छ आर्थिक विकास ?’

सरकारको व्यवहार लगानीकर्ताप्रति सधैं नरम हुनुपर्ने उनको भनाइ छ । संघीय सरकारले प्रदेश २ को आर्थिक विकासमा अवरोध गरिरहेको आरोपसमेत उनले लगाए । ‘वीरगन्ज–सिमरा–जितपुर ६ लेन सडक जस्तै हामीले प्रदेशमा आधा दर्जन ६ लेन सडक निर्माण गर्ने योजना तयार गरेका थियौं । तर संघीय सरकारले कोरोना महामारीको बहानामा हाम्रो ६ अर्ब रुपैयाँ कटौती गरिदियो,’ उनले भने, ‘चौधरी समूहसँग प्रदेश २ मा २ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने विषयमा संघीय राजधानीमा एक औपचारिक कार्यक्रममा म आफैंले लिखित सम्झौता गरिसकेको अवस्थामा चौधरी समूहलाई हतोत्साहित गरेर उक्त परियोजनाबाट पछि हट्न बाध्य पारियो ।’

गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति

संघको ४५औं वार्षिक साधारणसभाले सुबोध गुप्ताको नेतृत्वमा संघको नयाँ कार्यसमिति चुनेको छ । वरिष्ठ उपाध्यक्षमा अनिल अग्रवाल, द्वितीय उपाध्यक्ष हरि गौतम, तृतीय उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठलगायत छन् ।

प्रकाशित : चैत्र २२, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?