कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

केराउ, सुपारी, छोकडा र मरिच आयात खुला: स्वीकृत कोटाको १८ गुणासम्म बढी माग

बीचमा लामो समय आयात गर्न नपाएका व्यवसायीले मागको परिमाण बढाए
राजु चौधरी

काठमाडौँ — सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच सीमित परिमाणमा आयात गर्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेपछि आयात कोटाको १८ गुणासम्म बढी माग परेको छ ।

केराउ, सुपारी, छोकडा र मरिच आयात खुला: स्वीकृत कोटाको १८ गुणासम्म बढी माग

सरकारले २०७६ चैत २४ मा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । कोभिडका कारण शिथिल बनेको अर्थतन्त्र सुधारोन्मुख भएपछि सरकारले पुनः सूचना प्रकाशन गरेर कोटा तोकेर आयात खुला गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ चैत ९ मा राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाएपछि दुई साताको अवधिमा आयात गर्न कोटाभन्दा १८ गुणा बढी माग आएको हो । सरकारले चालु आर्थिक वर्षका लागि केराउ आयात कोटा ८० हजार टनमात्रै तोकेको छ । तर आयातका लागि कोटा तोक्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा १४ लाख ७१ हजार ३३ टनको माग आएको छ । ३ सय ४ निवेदकले उक्त परिमाण माग गरेका छन् । सरकारले सुपारीको आयात पूर्ण बन्देज हटाएर आयात परिमाण २५ हजार टन तोकेको छ । २ सय ५० आयातकर्ताले ४ लाख ७८ हजार ८ सय ४६ टन आयात गर्न आवेदन दिएका छन् ।

छोकडाको आयात परिमाण भने ५ हजार टन तोकिएको छ । तर व्यवसायीले ६० हजार ८ सय ४ टन छोकडाको माग गरेका छन् । नधुल्याएको मरिचको हकमा पनि माग अत्यधिक छ । सरकारले चालु आर्थिक वर्षका लागि १५ हजार टन कोटा तोकेको छ । तर शुक्रबारसम्म विभागमा १ लाख ६६ हजार ३ सय ३ टन आयात गर्न आवेदन परेको जनाइएको छ । निवेदन दिन दस्तुर नलाग्ने भएरै बढी माग आएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । ‘आयात गर्नकै लागि ९० देखि १ सय दिनसम्म लाग्छ । त्यही भएर छिट्टै निर्णय नगरे आयात गर्न गाह्रो हुन्छ,’ महानिर्देशक पौडेलले भने, ‘आइतबारदेखि इजाजत थाल्छौं ।’ इजाजतका विषयमा आयातकर्तालाई प्राथमिकता दिइने उनको भनाइ छ । ‘एकै ठाउँमा नथुप्रियोस् भन्ने हाम्रो आशय हो । आयातको कोटा लिएर फेरि काठमाडौंकै मान्छेलाई बिक्री गर्नेलाई दिँदैनौं,’ उनले भने, ‘सबैले पाउँदैनन् पनि । त्यसरी नै जान्छौं ।’

निवेदनका लागि डेटलाइन बन्द नगरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए । बजारमा अभाव भएकै कारण व्यवसायीको अत्यधिक माग आएको उनको भनाइ छ । ‘अभावकै कारण आयात गर्न अत्यधिक माग आएको देखिन्छ । सरकारले पनि आवश्यकता नै देखेर निर्णय गरेको छ,’ सेढाईंले भने, ‘विगतको व्यावसायिक अनुशासन अनुभव हरेर छिट्टै कोटा तोक्छौं । गलत गर्न सक्नेलाई भने इजाजत दिन्नौं ।’ हरियो केराउ स्वदेशमा उत्पादन भए पनि पर्याप्त नरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसले गर्दा बजारमा अभावसमेत देखिएको छ । अभावकै कारण प्रतिकिलो मूल्य १ सय ४० देखि १ सय ५० रुपैयाँसम्म पुगेको छ । बजारमा उपलब्ध केही केराउको गुणस्तर पनि सन्तोषजनक नभएको संघको भनाइ छ । उद्योगी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरी पुनः भारत निर्यात गरिरहेका छन् । जसले गर्दा केराउमा समस्या देखिएको श्रेष्ठको दाबी छ । सुपारीको हकमा पनि उस्तै समस्या रहेको जनाइएको छ ।

प्रतिकिलो सुपारीको मूल्य ५ सय ५० देखि ६ सय रुपैयाँसम्म रहेको संघले बताएको छ । ‘नेपालमा बनेको सुपारी भारत जाने र त्यहाँबाट पुनः नेपाल आउने गर्छ । सिंगापुरबाट पनि आयात हुन्छ,’ उनले भने, ‘तर त्यो त्यति गुणस्तरको छैन ।’ छोकडा पाकिस्तान र अरब मुलुकबाट आयात हुन्छ । बजारमा प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्ममा छोकडा बिक्री भइरहेको छ । मरिच श्रीलंकाबाट आयात गरेर व्यवसायीले भारत पठाउँछन् । औषधिका रूपमा प्रयोग गरिने मरिच विदेशमै बढी खपत हुने संघले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र २२, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?