कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरुण कटानबाट जोगाउन २८ करोडको गुरुयोजना

धार्मिक पर्यटकीय स्थल मनकामना क्षेत्रमा तटबन्ध
रमेशचन्द्र अधिकारी

संखुवासभा — अरुण उपत्यकाका महत्त्वपूर्ण संरचना तथा जोखिममा रहेका बस्ती जोगाउन २८ करोड बजेटको गुरुयोजना अघि सारिएको छ । पहिलो चरणमा बस्ती, धार्मिक तथा पर्यटकीय स्थल र उब्जाउ भूमि संरक्षणमा तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

अरुण कटानबाट जोगाउन २८ करोडको गुरुयोजना

गुरुयोजनाअन्तर्गत हालसम्म ४ करोड बजेट विनियोजन भएर काम सुरु गरिएको सिँचाइ डिभिजन कार्यालय संखुवासभाका प्रमुख इन्जिनियर सोम वज्राचार्यले बताए । अरुण नदी बृहत् तटबन्ध गुरुयोजना जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय धनकुटाले अघि सारेको थियो ।

गत वर्षदेखि जल उत्पन्न सिँचाइ डिभिजन कार्यालयमा गाभिएपछि संखुवासभामा रहेको उक्त कार्यालयले तटबन्ध निर्माण जारी राखेको हो । गुरुयोजनाअन्तर्गत संखुवासभाको वरुण किनार, चिचिला, भोटखोला, मकालु, खाँदबारी नगरपालिका र चैनपुर नगरपालिका क्षेत्रमा क्रमशः तटबन्ध गरिने इन्जिनियर वज्राचार्यले जानकारी दिए । पहिलो चरणमा खाँदबारी–९ को धार्मिक पर्यटकीय स्थल मनकामना मन्दिर नजिक भएर बग्ने अरुण नदीमा तटबन्ध निर्माण थालिएको छ ।

‘मन्दिरको एरिया नदीको कटानमा पर्ने भएकाले तटबन्ध प्राथमिकतामा राखिएको हो,’ उनले भने । योजनाका लागि गत वर्ष प्रदेश १ सरकारबाट एक करोड बजेट विनियोजन भए पनि कोभिड–१९ का कारण ८० लाख मात्र निकासा भएको उनले बताए । मागअनुसार लागत स्टिमेट गरी प्राथमिकताका आधारमा तटबन्धको काम गरिने उनको भनाइ छ ।

मनकामना क्षेत्रमा निर्माण गरिने अढाई सय मिटर तटबन्धमध्ये हालसम्म ४८ मिटर निर्माण भएको छ । संघीय र प्रदेश सरकार गरी हालसम्म दिइएको करिब चार करोड मनकामना मन्दिर नजिककै तटबन्धमा खर्च गरिएको कार्यालयले जनाएको छ । क्रमागत योजनाअन्तर्गत बजेट विनियोजन हुने भएकाले बजेटको आकारअनुसार निर्माण कार्य अघि बढ्ने तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र घिमिरेले बताए । ‘कोभिडको कारण जनाउँदै संघीय सरकारले तटबन्धलाई थप बजेट निकासा नदिने भएको छ । यसले योजना प्रभावित हुने स्थिति छ,’ उनले भने ।

नदी किनारमा पाँच वर्ष पहिलेदेखि तार जाली प्रयोग गरिँदै आएकामा आवश्यकताअनुसार आरसीसी ढलान गरी तटबन्ध निर्माण गरिएको छ । नदीले गर्ने कटान रोकथामका लागि तटबन्धको योजना आवश्यक भए पनि आवश्यक बजेट जुटाउन गाह्रो भएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा बताउँछन् ।

संखुवासभातर्फ पर्ने मनकामना परिसर नजिक अरुण नदीमा निर्माण गरिएको तटबन्धले नदीपारि भोजपुरको षडानन्द नगरपालिका क्षेत्रमा असर पर्ने गुनासो आउन थालेको छ तर पारितर्फको ढुंगाको मजबुत धरातल रहेकाले जोखिम नहुने प्राविधिकको दाबी छ ।

प्रकाशित : चैत्र २१, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?