कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि ऋणमा पालिकाको ब्याज अनुदान

किसानले बैंकमा तिर्ने ८० प्रतिशत ब्याज गाउँपालिकाले बेहोर्ने
हरिराम उप्रेती

काठमाडौँ — व्यावसायिक किसानलाई प्रोत्साहन गर्न बारपाक सुलिकोट गाउँपालिकाले बैंकको कृषि ऋणमा ब्याज अनुदान दिएको छ । ७६ फर्म छनोटपछि अनुदान दिन बैंकिङ प्रक्रिया सुरु भएको हो । कार्यपालिका बैठकले ब्याज अनुदान कार्यविधि गत भदौमा स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयन थालेको गाउँपालिकाका योजना अधिकृत अजय सुवेदीले बताए ।

कृषि ऋणमा पालिकाको ब्याज अनुदान

कार्यक्रम सञ्चालन गर्न चालु वर्ष ५२ लाख ५० हजार रकम छुट्याइएको छ । ‘कुल रकममध्ये ७० प्रतिशत (३६ लाख ७५ हजार) ब्याजमा अनुदान दिन्छौं, बाँकी ३० प्रतिशत तालिमलगायत कार्यमा खर्च हुन्छ,’ उनले भने । गाउँपालिका अध्यक्षको संयोजकत्वको समितिले फर्मको छनोट गरेको हो ।

कोभिड–१९ पछि स्वदेश तथा विदेशमा रोजगारी गुमाएका, बेरोजगार युवायुवती, आर्थिक–सामाजिक रूपमा पिछडिएका दलित, महिला र सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर फर्मको छनोट भएको गाउँपालिकाले जनाएको छ । ब्याजमा अनुदान दिन ग्लोबल आईएमई बैंक सुलिकोट शाखासँग सम्झौता भइसकेको सुवेदीले बताए । छनोट समितिबाट निर्णय भएकालाई कर्जा लिएका आधारमा गाउँपालिकाले मासिक रूपमा ब्याज भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

छनोट भएका फर्मलाई कम्तीमा ५ देखि बढीमा १० लाखसम्म कर्जाको सीमा तोकिएको छ । किसानले बैंकमा तिर्ने ८० प्रतिशत ब्याज गाउँपालिकाले बेहोर्नेछ । ‘उत्कृष्ट ठहरिएका किसानलाई शतप्रतिशत ब्याज मिनाहा गर्छौं, संख्याचाहिँ तोकेका छैनौं,’ उनले भने । ब्याजमा अनुदान पाउन ८२ फर्मले निवेदन दिएका थिए ।

तीमध्ये १० वटा साझेदारी र ६६ वटा एकल गरी ७६ फर्म छनोट भएका हुन् । छनोट फर्मलाई कर्जा फर्म भर्न बैंकमा लेखिपठाएको गाउँपालिकाले जनाएको छ । ‘३६ वटा फर्मले कर्जाको माग गर्दै फाराम भरी फाइल बैंकमा पेस गरिसकेका छन्, यही महिनाको मसान्तदेखि कर्जा प्रवाह सुरु हुन्छ,’ उनले भने ।

छनोट भएका मध्ये ३० वटाको भने प्रक्रियामा छ । धेरैजसोले व्यावसायिक बाख्रापालनका लागि ब्याजमा अनुदान माग गर्दै आवेदन दिएका छन् । माछापालन, भैंसीपालन, अलैंची खेतीलगायत कृषि र पशुजन्य उत्पादनका लागि भन्दै किसानले आवेदन दिएका छन् ।

‘६०–७० प्रतिशतले बाख्रापालन गर्ने गरी आवेदन आएको छ, भौगोलिक हिसाबले पनि बाख्राका लागि अनुकूल भएकाले आकर्षण बढेको पायौं,’ सुवेदीले भने । कार्यक्रमले व्यवसायमा सहयोग पुर्‍याएको सुलिकोट एग्रो फर्मका टंक थापाले बताए । उनले ताकुकोटको हुँडिखोलामा माछा र बाख्रापालन गर्दै आएका छन् ।

‘बैंकमा कागजात बुझाएका छौं, पैसा आइसकेको छैन,’ उनले भने, ‘ब्याज तिर्नुपरेन भने पनि लगानीमा सहज हुन्छ भन्ने छ ।’ थापाले १० लाखको ब्याज अनुदान पाउने गरी आवेदन दिएका छन् ।

आयस्रोत क्षमता कमजोर भएकालाई रोजगारी सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको गाउँपालिका अध्यक्ष विष्णु भट्टको भनाइ छ । ‘हाम्रो मुख्य उद्देश्य रोजगारी सिर्जना गर्ने हो,’ उनले भने, ‘कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।’

प्रकाशित : चैत्र २१, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?