१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तीन वर्षमा मोबाइल आयात दोब्बर

इन्टरनेटको बढ्दो प्रयोगले ग्राहक स्मार्टफोनप्रति आकर्षित भएको व्यवसायीको दाबी 
नुमा थाम्सुहाङ

काठमाडौँ — तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ ।

तीन वर्षमा मोबाइल आयात दोब्बर

आर्थिक वर्ष २०७५/७६ को फागुनमा १२ अर्ब ६३ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा १४ अर्ब ३७ करोड ३ लाख ९६ हजार रुपैयाँ बराबरको मोबाइल फोन आएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँ बराबरको मोबाइल फोन भित्रिएको छ । यो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १३ अर्ब ६७ करोड ४३ लाख ४७ हजार रुपैयाँ बढी हो । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को तुलनामा ११ अर्ब ९३ करोड ५० लाख ९८ हजार रुपैयाँले धेरै भएको विभागको तथ्यांक छ ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म २९ लाख ३४ हजार ५ सय ६९ थान मोबाइल फोन भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ३७ लाख ७१ हजार ४ सय ४३ थान मोबाइल आएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४९ लाख ९३ हजार ४ सय ५१ थान मोबाइल थान भित्रिएको छ । यसबापत भन्सार विभागले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब १६ करोड ३३ लाख २० हजार, आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब २७ करोड ६३ लाख ९६ हजार र आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३५ करोड ६७ लाख ६० हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

इन्टरनेटको पहुँचले बजारमा स्मार्टफोनको माग बढेको व्यवसायी विवेक शर्मा बताउँछन् । ‘इन्टरनेटबाट पढ्न र विभिन्न मिटिङ चलाउन स्मार्टफोनको उपयोग हुने भएकाले बजारमा यसको माग कोभिडपछि बढेको छ,’ न्युरोडस्थित भर्जिन मोबाइल प्रालिका सञ्चालक उनी भन्छन्, ‘सीमा नाकामा समेत कडाइ गरिएको छ । त्यसैले सीमा क्षेत्रका ग्राहकले यहाँबाटै फोन खरिद गरिरहेका छन् । जसले यहाँको मोबाइल फोनको बजार बढाउन सघाएको छ ।’

सामाजिक सञ्जालको प्रयोगका लागि पनि स्मार्टफोन आवश्यक हुने भएकाले यसप्रति सबै आकर्षित भएको उनले सुनाए । सहरी क्षेत्रमा ११/१२ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मका स्मार्टफोनको प्रयोग गर्ने बढिरहेको उनले बताए । ‘ग्रामीण भेगमा अझै पनि फोन गर्न र उठाउन मात्र मिल्ने बार फोनको प्रयोग गर्ने धेरै छन्,’ उनले भने, ‘बिक्री भने दुवै किसिमका फोनको बराबर नै छ ।’

प्रकाशित : चैत्र २१, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?