कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भारतीय अनुदानमा निर्मित १० सडक हस्तान्तरण

भारतको ८ अर्ब र नेपाल सरकारको ५१ करोड रूपैयाँ लगानी
विमल खतिवडा

काठमाडौँ — भारत सरकारको आर्थिक सहयोगमा हुलाकी राजमार्गअन्तर्गत निर्माण भएका १० वटा सडक हस्तान्तरण गरिएको छ । पूर्वपश्चिम राजमार्गका प्रमुख सहर जोड्ने सडकको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बुधबार मन्त्रालयमा संयुक्त रूपमा बटन थिचेर भर्चुअल उद्घाटन गरेका हुन् ।

भारतीय अनुदानमा निर्मित १० सडक हस्तान्तरण

भारत सरकारको ८ अर्ब र नेपाल सरकारको ५१ करोड रुपैयाँ लागतमा यी सडक निर्माण गरिएका हुन्, जसलाई १४ वटा प्याकेजमा ठेक्का लगाएर काम गरिएको थियो । तीमध्ये १३ वटा प्याकेजको मात्र निर्माण सकिएको हो । वीरगन्ज–ठोरी खण्डको दुईमध्ये एक प्याकेजको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो । उक्त ठेक्काको काम भने अझै सकिएको छैन । अहिले भारत सरकारको आर्थिक सहयोगमा निर्माण थालिएको कुल ३ सय ५ किलोमिटरमध्ये २ सय ७० दशमलव ९ सय ९५ किमि सडकको मात्र निर्माण सकेर हस्तान्तरण गरिएको हो ।

हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक रोहितकुमार बिसुरालका अनुसार २०१६ फेब्रुअरीमा नेपाल र भारत सरकारबीच सम्झौता भई निर्माण सुरु भएको हो । यी सडकहरूले पूर्वपश्चिम राजमार्गमा रहेका प्रमुख सहरलाई भारत–नेपाल सीमासँग जोड्ने भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १, २ र लुम्बिनी प्रदेशका सात सीमावर्ती जिल्लामा अवस्थित सडकले २ सय ८४ भन्दा बढी वडा, १ सय ४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उपमहानगरपालिका र एक महानगरपालिका जोड्न सघाउ पुर्‍याएको दूतावासले जनाएको छ ।

पर्साको वीरगन्ज–ठोरी जोड्ने ६० किमि हुलाकी सडकमध्ये २५ दशमलव ६० किमिको मात्र बनेको छ । उक्त खण्डको ३५ किमि अझै अलपत्र छ । ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले समयमै काम नसकेको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी १ अर्ब ३२ करोड रुपैयाँको ठेक्का पप्पुले लिएको हो । ‘पप्पुले कामै गरेन, सधैं पैसा छैन भन्दै कामै गर्दैन,’ निर्देशनालयका निर्देशक बिसुरालले भने, ‘पैसा दिए काम गर्छु भन्छ, हामी काम गरेपछि मात्र पैसा दिन्छौं भन्दै आएका छौं ।’ पप्पुले काम गरेको पैसा पाइनँ भन्दै झूटा चिठी लेखेर बस्ने गरेको उनको भनाइ छ । तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नति गर्नेबारे भारत र नेपाल सरकारबीचको सहमतिअनुरूप सडक निर्माण गरिएको हो । कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री नेम्वाङले हुलाकी राजमार्ग लामो समयदेखि अस्तित्वमा रहेकाले आफैंमा ऐतिहासिक भएको बताए । राजदूत क्वात्राले हुलाकी राजमार्गले नेपाल–भारतबीचको सम्बन्धलाई थप सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।


हुलाकी राजमार्ग निर्माण सुरु भएको १२ वर्ष पुग्दा भौतिक प्रगति ६० प्रतिशत रहेको छ । समयावधि सकिन दुई वर्ष बाँकी छँदा अझै ४० प्रतिशत निर्माण बाँकी छ । आर्थिक वर्ष २०७९/८० भित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने छ । २०६५/०६६ बाट सुरु भएयता आयोजनामा ४० अर्ब ४ करोड रुपैयाँ खर्च भइसकेको छ । सुरुमा भारतीय सरकारबाट सञ्चालित आयोजनामा उतैबाट निर्माण व्यवसायी र कन्सल्टेन्ट आएर काम गरेका थिए । तर भारतीय निर्माण व्यवसायीले बीचैमा काम अलपत्र पारेर हिँडेपछि मोडालिटी परिवर्तन गरिएसँगै निर्माणमा केही ढिलाइ भएको निर्देशनालयले जनाएको छ ।

हुलाकी सडकको कुल लम्बाइ १ हजार ८ सय ५७ किमि छ । जसमध्ये पूर्वदेखि पश्चिमतर्फको दूरी ९ सय ७५ किमि छ । उत्तरदेखि दक्षिण जोडिने ३८ वटा सहायक सडकको लम्बाइ ८ सय ८२ किमि छ । अहिलेसम्म ६ सय ५० किमि कालोपत्र भएको छ । आयोजनाअन्तर्गत २ सय ५० वटा पुल निर्माण गरिनेछ । ‘धेरै ठाउँमा काम भइरहेको छ,’ निर्देशक बिसुरालले भने, ‘केही भर्खर सुरु भएका छन्, केही सम्पन्न भए, केही सम्पन्न हुने चरणमा छन् । तोकिएको समयभित्र मुख्य बस्तीलाई समेट्ने काम सकिनेछ ।’ तर निकुञ्ज क्षेत्रमा पर्ने सडकमा भने काम गर्न अहिले पनि अनुमति नपाइएको उनले बताए । तराई मधेसका २१ जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने निर्देशनालयले जनायो । यो आयोजनाको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । संशोधित लागत ६५ अर्ब २० करोड रुपैयाँ छ ।

प्रकाशित : चैत्र १९, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?