सबैतिर नयाँ प्रणालीमा मेलम्ची पुग्न सात महिना लाग्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सबैतिर नयाँ प्रणालीमा मेलम्ची पुग्न सात महिना लाग्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन् ।

काठमाडौंको अनामनगर क्षेत्रमा आइतबार मेलम्चीको पानी थाप्दै सर्वसाधारण । तस्बिर : दीपक केसी/कान्तिपुर

पानी वितरण भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानै प्रणालीबाट भइरहेको छ । केही स्थानमा परीक्षणका रूपमा मात्र नयाँ प्रणालीबाट मात्र वितरण भइरहेको छ ।

अनामनगर क्षेत्रमा पहिलो दिन नयाँ प्रणालीबाट ५ सय २२ घरमा चौबीसै घण्टा पानी दिइएको मेलम्ची उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठ बताउँछन् । सोमबार बबरमहलदेखि उत्तर र पुरातत्त्व विभागको दक्षिणतर्फको धोबीखोलासम्म २ सय घरमा चौबीसै घण्टा आउने गरी पानी छाडिएको थियो । पानी आएपछि उत्साहित स्थानीय कतै पाइप लिकेज देखिए तिनको मर्मतसम्भारमा जुटेको उनको भनाइ छ । अहिले २ सय २० किमि क्षेत्रको पाइपमा परीक्षणको काम भएको छ ।

‘नयाँ सिस्टम पूरा भएपछि पुरानो सिस्टम मूलबाटै काटिदिन्छौं, त्यसपछि नयाँ सिस्टम लागू हुनेछ,’ श्रेष्ठले भने । नयाँ सिस्टममा १ लाख १० हजार धारा बन्नेछन् । महाराजगन्ज, बसपार्क, विशालनगर, छाउनी, बाफल, स्वयम्भूलगायत केही क्षेत्रमा अझै नयाँ पाइप विस्तारको काम भएको छैन । ‘असोजमा ठेक्का सम्झौता भएर काम भइरहेको छ,’ उनले भने, ‘रिङरोड क्षेत्रमा दुई वर्षभित्र सबै नेटवर्कबाट चौबीसै घण्टा पानी आउने गरी काम भइरहेको छ ।’ नयाँ प्रणालीबाट पानी नआउँदासम्म केयूकेएलको अन्तरिम व्यवस्थापनअन्तर्गत मौजुदा प्रणालीबाट वितरण हुनेछ । ‘सबै ठाउँमा नयाँ सिस्टमबाट पानी आउन दुई वर्ष लाग्नेछ,’ श्रेष्ठले भने, ‘जुन प्रणालीमा सबै गरेर १ लाख ८० हजार धारा हुनेछन् ।’

पानी वितरणको क्रम सोमबार पनि जारी नै रहेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । महाँकाल, अनामनगर, मीनभवन, बानेश्वर र खुमलटारमा वितरण भइरहेको छ । अनामनगरमा केही दिनभित्रमै १६ सय घरमै पानी पुर्‍याइने उनको भनाइ छ । पहिलो दिन सबै क्षेत्रमा थोरै समय भए पनि पानी पुर्‍याउने केयूकेएलले जनाएको थियो । ‘सबै धारामा पानी पुर्‍याउने भनिएको थियो । तर यसमा प्राविधिक समस्या देखियो,’ उनले भने, ‘सुरुसुरुमा मोटर लगाएर पानी तानेपछि अन्यत्र नपुगेको हो ।’

पानी नआएको धेरै भएको र एकैचोटि पानी आउँदा सबैले मोटर लगाएपछि प्रेसर व्यवस्थापन गर्न गाह्रो भएको राईको भनाइ छ । अहिले चार करोड लिटर पानी आएको छ । केही दिनभित्र साढे ६ करोड पुग्ने उनको भनाइ छ । दोस्रो चरणमा बालाजु, तेस्रो चरणमा बाँसबारी र महाराजगन्जस्थित ट्यांकीमा गरी साढे ८ करोड लिटर पानी जम्मा हुनेछ । त्यस्तै चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरका ट्यांकीमा गरी १७ करोड लिटर पानी जम्मा हुने केयूकेएलले जनाएको छ ।

‘सबै पानी आएर वितरण गर्न करिब २० दिन लाग्ने अनुमान गरेका छौं,’ राईले भने, ‘त्यो बेलासम्म सबै २ लाख २५ हजार धारामै नियमित रूपमा पानी वितरण हुनेछ ।’ महाँकालचौरबाट मात्र ५८ हजार धारामा पानी पुगेको छ । बानेश्वर शाखाका २७ हजार धारामध्ये कोटेश्वर र नरेफाँट क्षेत्रमा अहिले पानी दिइएको छैन । अहिले बानेश्वरका १८ हजार धारामा आएको छ । ललितपुरमा खुमलटार वितरण शाखाबाट वितरण भइसकेको छैन ।

उपत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर छ । सुक्खा सिजनमा करिब १० करोड लिटर ग्राहकको धारामा पानी पुर्‍याउन सकिने राईको भनाइ छ । काठमाडौं, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले यो पानी उपभोग गर्न पाउनेछन् ।

प्रकाशित : चैत्र १७, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

स्याउ किसानलाई साढे २ करोड बिमा भुक्तानी

कान्तिपुर संवाददाता

काठमाडौँ — शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउ खेतीको बिमा गरेका कर्णालीका किसानलाई  २ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

माथिल्लो कर्णालीका जुम्ला, कालीकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको हो ।

जुम्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बिमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको बिमा भुक्तानी रकम बुझेको कम्पनीले जनाएको छ । जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बिमा गराएका थिए । जुम्लामा मात्र प्रतिबिरुवा २ सय ७० रुपैयाँका दरले १ बरोड बिमा दाबी रकम भुक्तानी गरिएको छ । यसैगरी प्रतिबिरुवा २ सय ७० रुपैयाँका दरले कालीकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दाबी भुक्तानी पाएका छन् । कालीकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसमी सूचकांकमा आधारित स्याउ बिमा गराएका थिए । मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बिमा गरेबापत ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएको बताइएको छ ।

कर्णालीका किसानले गत वर्ष नै स्याउ फल्ने बेला यसको बिमा गरेका थिए । मौसमका कारण स्याउ खेती प्रभावित भएपछि उनीहरूले दाबी भुक्तानी पाएका हुन् । शिखर इन्स्योरेन्सले ५ वर्ष अगाडि मौसमी सूचकांकका आधारमा गरिने बिमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो पोलिसी सुरु गरेको थियो । ३ वर्षयता हरेक वर्ष इन्स्योरेन्सले स्याउ किसानलाई दाबी भुक्तानी गर्दै आएको छ । आगामी दिनमा मौसम सूचकांक बिमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको इन्स्योरेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र १७, २०७७ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×