धारामा आयो मेलम्ची

पानी वितरणसँगै पाइपलाइन परीक्षण
बिस्तारै अनुपात बढाइने
वैशाखदेखि वितरण नियमित हुने

काठमाडौँ — लामो समयको पर्खाइपछि मेलम्चीको पानी उपत्यकावासीका धाराबाट खसेको छ । प्रतीक्षाको करिब १२ वर्षपछि मेलम्चीको पानी धारामा खस्दा उपत्यकावासीमा खुसियाली छाएको छ । 

धारामा आयो मेलम्ची

लोकसेवा आयोगका निवर्तमान अध्यक्ष उमेश मैनाली अनामनगरस्थित घरको धाराबाट पानी खसेको देख्दा दंग देखिन्थे । ‘लामो समयको पर्खाइपछि पानी आयो, खुसी छु । ढिलै भए पनि उपत्यकावासीको सपना साकार भएको छ,’ कन्तिपुरसँग उनले भने, ‘काकाकुल सहरवासीको सपना मेलम्चीको पानीले प्यास मेटाउँदै छ ।’

मेलम्ची खानेपानी आयोजनाले आइतबार करिब ४ करोड लिटर पानी घरघरमा वितरण गरेको हो । महांकाल, चाबहिल, न्युरोड, मीनभवन, खुमलटार क्षेत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पुरानै धारामा र अनामनगर क्षेत्रमा नयाँ धारामा पानी वितरण गरेको छ । गत फागुन २२ गते अम्बाथान हेडवर्क्स सुरुङबाट सुन्दरीजल ट्रिटमेन्ट प्लान्टमा पानी ल्याएको थियो ।

‘बिस्तारै पानीको अनुपात बढाउँदै जान्छौं, अहिले मूलबाटै सुरुङमा ५ करोड लिटर पानी पठाएका छौं,’ मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले भने ‘दुई–तीन दिनपछि दैनिक आठ करोड लिटर पानी पठाउँछौं, बिस्तारै पानीको मात्रा बढाउँदै जान्छौं ।’ हाल सुरुङलगायत भौतिक संरचना परीक्षणको अवधिमै भएकाले १७ करोड लिटर पानी पठाउन नसकिने उनले जानकारी दिए ।

‘सुरुङ, पाइप र धाराको अवस्था हेरेर मात्र पूरै पानी पठाइन्छ, त्यसकारण बिस्तारै पानी पठाउने तयारी भइराखेको छ,’ उनले भने, ‘वैशाखदेखि पूरै पानी छोड्छौं ।’ केही दिनभित्रै बाँसबारी र बालाजु क्षेत्रका धारामा पनि पानी पठाइने उनले बताए ।

अनामनगर क्षेत्रका नयाँ धारामा पहिलो चरणमै पानी परीक्षण गर्ने योजना रहेको मेलम्ची खानेपानी आयोजना निर्देशनालयका आयोजना प्रमुख कमल श्रेष्ठले जानकारी दिए । ‘ती नयाँ धारामा परीक्षण भइसकेको छ,’ उनले भने, ‘यी धाराबाट उपभोक्ताले दैनिक करिब दुई घण्टा पानी पाउनेछन् ।’ गत साउनमा सुन्दरीजलबाट वाग्मती नदीको करिब तीन करोड लिटर पानी ल्याएर धाराको परीक्षण गरेको थियो ।

‘यी धाराको अवस्था ठीक छ, त्यसकारण पहिलो चरणमा परीक्षण गर्न लागेका हौं,’ उनले भने, ‘हाल केयूकेएलका पुरानै पानीपोखरीबाट पानी वितरण गर्छौं ।’ मुख्य पाइप लाइन नयाँ भए पनि पानीका धारा भने पुरानै भएको उनले बताए । पानी वितरण व्यवस्थित गर्न नयाँ पानीपोखरी निर्माण गरिएका छन् । ‘केही निर्माण सम्पन्न भइसकेका छन् भने केहीको निर्माण पूरा हुने अन्तिम अवस्थामा छन्,’ उनले भने, ‘मेलम्चीको पानी ल्याउन निर्माणाधीन भौतिक संरचना तयार छन् ।’ विभिन्न चरणमा तिनको निरीक्षण पनि भइरहेको उनले बताए ।

सुन्दरीजलस्थित करिब १७ करोड लिटर क्षमताका प्रशोधन केन्द्रमा पानी प्रशोधन गरेर विभिन्न पोखरीमा पठाइनेछ । साढे आठ/साढे आठ करोड लिटरका दुई वटा प्रशोधन केन्द्र निर्माण भइसकेका छन् । महांकाल, बाँसबारी, बालाजु, मनमैंजु, अनामनगर र भक्तपुरको टिँगनीमा ६ वटा पुरानै पानीपोखरी छन् भने तिनै स्थानमा नयाँ १० वटा पानी पोखरी निर्माण भइसकेका छन् । पुरानामा साढे पाँच करोड लिटर र नयाँ पोखरीमा साढे ६ करोड लिटर पानी संकलन गरिनेछ । ती पोखरीबाट विभिन्न शाखा लाइनबाट ग्राहकका घरघरमा पानी पुर्‍याइनेछ ।

सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी ल्याएपछि ७६ किलोमिटर लम्बाइका मुख्य पाइपलाइनबाट पोखरीमा पुर्‍याइनेछ । खानेपानी आयोजना निर्देशनालयका अनुसार १ लाख १० हजारभन्दा बढी नयाँ धारा जडान भइसकेका छन् । २ लाख २५ हजार पुरानै धारा छन् । नयाँ धारा जडानको काम पनि भइरहेको श्रेष्ठले बताए । ‘मुख्य तथा शाखा पाइपलाइन परीक्षण भइरहेका छन्,’ उनले भने, ‘केही स्थानमा धारासमेत परीक्षण गरिएको छ, जडान भएका धाराको अवस्था पनि परीक्षण भइरहेको छ ।’

केही स्थानमा चुहावट आएको र तिनको मर्मत भइरहेको उनले बताए । ग्राहकले प्रयोग गरेको फोहोर पानी निकासका लागि विभिन्न स्थानमा फोहोर पानी प्रशोधन केन्द्र पनि निर्माण भइरहेको उनले जानकारी दिए । उपत्यकाका घरघरमा पानीको मात्रा बढ्नेबित्तिकै फोहर पानीको मात्रा पनि बढ्ने उनले बताए । त्यसका लागि फोहर पानी संकलन तथा प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । यस्ता ६ वटा केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानी मात्र प्रशोधन गर्नेछन् । आयोजनाका अनुसार ८० प्रतिशत फोहोर पानीका लागि थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारी पनि छ । पहिलो चरणमा सल्लाघारी र कोड्कुमा एक/एक वटा तथा धोबीघाट र गुह्येश्वरीमा दुई/दुई वटा प्रशोधन केन्द्र निर्माणाधीन छन् ।

गुह्येश्वरीमा ३ करोड २४ लाख क्षमताको केन्द्र निर्माण भइसकेको छ । सल्लाघारीमा प्रतिदिन १ करोड ४२ लाख, धोबीघाटमा ८ करोड ७७ लाख र कोड्कुमा १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन हुनेछ । दोस्रो चरणमा धोबीघाटमा २२ करोड, कोड्कुमा १ करोड ७० लाख, गुह्येश्वरीमा १ करोड ६० लाख लिटर क्षमताका फोहोर पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिनेछ । बाँकी ठाउँको फोहोर पानीका लागि चाल्नाखेलमा प्रशोधन केन्द्र निर्माण गर्न अध्ययन भइरहेको उनले जानकारी दिए । केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले पुरानै संरचनाबाट पानी वितरण गर्ने बताए । ‘यो परीक्षणका लागि हो,’ उनले भने, ‘पानी प्रशोधन केन्द्रमा परीक्षण गरेर उपभोक्ताका धारामा पठाएका छौं, पानी पिउन योग्य छ ।’

ट्यांकी भर्दै, पठाउँदै

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी काठमाडौंका विभिन्न ठाउँका ट्यांकी भर्दै पानी वितरण गर्ने काम सुरु गरेको छ । महांकाल चौरको ट्यांकीबाट आइतबार दुई बजेदेखि पानी वितरण सुरु गरिएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

‘मेलम्चीको खानेपानी वितरण गरिरहेका छौं,’ उनले भने, ‘महांकाल चौरको ट्यांकीबाट चाबहिल, कुटुबहाल, कालोपुल, विशालनगर, देवकोटा चोक, बत्तिसपुतली र बागेश्वरी क्षेत्रमा पानी वितरण गरेका छौं ।’ उनका अनुसार केयूकेएलले अनामनगरको ट्यांकीबाट पनि पानी वितरण गरेको छ । मीनभवन, बाँसबारी, महाराजगन्जलगायत स्थानका ट्यांकीमा क्रमशः पानी भर्दै उपभोक्तालाई पानी वितरण गर्ने उनले जानकारी दिए ।

‘खुमलटारको पानी चढ्न एक/दुई दिन लाग्ने भए पनि सक्दो छिटो उपभोक्तालाई पानी वितरण गर्ने कोसिस भइरहेको छ,’ उनले थपे । यसैगरी महांकाल चौरको तालिकाअनुसार दोस्रो दिन सोमबार मेलम्चीको खानेपानी काठमाडौंका इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्सालमा वितरण गरिनेछ । यो क्षेत्रमा बिहान २ देखि ८ बजे, बानेश्वर, सिनामंगल, मिलन चोक र संगम चोक क्षेत्रमा बिहान १० देखि साँझ ४ बजेसम्म, जयवागेश्वरी, मित्रपार्क, चाबहिल, रातोपुल, कालीमाटी र डोल क्षेत्रमा साँझ ४ देखि ५ बजेसम्म र त्यसपछि चारखाल, डिल्लीबजार, कमलादी, बागबजार र त्रिपुरेश्वरमा वितरण गरिने केयूकेएलले जानकारी दिएको छ ।

यो अस्थायी तालिका रहेको केयूकेएलका प्रवक्ता राईले बताए । ‘अब एक/दुई दिनमा चार करोडबाट पानी बढेर साढे ६ करोड लिटरमा पुग्छ,’ उनले भने, ‘त्यसपछि हामी दुई/चार दिनपछि साढे आठ करोड लिटर पानीमा पुग्छौं । यसको झन्डै ८/१० दिनपछि १७ करोड लिटर पानीमा पुग्छौं । यो भनेको आयोजनाको पहिलो चरणको पूर्ण क्षमता हो ।’ पानी स्थिर भइसकेपछि केयूकेएलले निश्चित तालिका सार्वजनिक गर्ने उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?