कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

स्वरोजगार युवालाई निर्ब्याजी ऋण

भक्तपुर — चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत स्वरोजगार युवालाई ३ लाख रुपैयाँ निर्ब्याजी ऋणको व्यवस्था गरेको छ । नगरका युवालाई उद्यमशीलता वृद्धि गरी स्वरोजगारतर्फ उन्मुख गराउन नगरपालिकाले निर्ब्याजी ऋण दिने कार्यक्रम थालेको हो ।

स्वरोजगार युवालाई निर्ब्याजी ऋण

नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरभित्रका तीन सय युवालाई निर्ब्याजी ३ लाख रुपैयाँ कर्जा दिने सम्झौता भइसकेको नगर प्रमुख सोमप्रसाद मिश्रले जनाए ।

स्वरोजगारका लागि राष्ट्रिय युवा परिषद्, नगरपालिका र बैंकले सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि एक साता उद्यमशीलता तथा वित्तीय साक्षरता तालिमसमेत दिइसकेका छन् । नगरपालिकाले नगरभित्रबाट आवेदन परेका १ हजार २८ युवाबाट तीन सय जना छानेर तालिममा सहभागी गराएको थियो । उनीहरूलाई नेपाल बैंकले व्यावसायिक प्रस्तावका आधारमा र नगरपालिकाको जमानीमा ३ लाख रुपैयाँका दरले कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले बताए ।

नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्‍याएर बैंकले ऋण उपलब्ध गराउने नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले जानकारी दिए । चाँगुनारायण नगरले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका–२०७७’ तयार गरेर कार्यक्रम अघि बढाएको छ । कृषि, उद्योग र पर्यटन व्यवसायलाई आधार बनाई विदेशबाट फर्किएका तथा नगरमै रहेका बेरोजगार युवालाई निर्वाहमुखी परम्परागत कृषिलाई औद्योगिक तथा व्यावसायिक कृषिमा रूपान्तरण गर्ने, पर्यटन व्यवसायमा लगानी गरी भरपर्दो, विश्वसनीय पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने र लघु, घरेलु, साना तथा मझौला उद्योगको थप विकास एवं प्रवर्द्धन गर्न तथा नवप्रवर्तनका आधारमा सञ्चालन हुने अन्य प्रतिफलमुखी बनाइने निर्देशिकामा उल्लेख छ । नगरपालिकामा दक्ष जनशक्ति तयार गर्नु, सीप र दक्षता विकास गरी नगरवासीको आय आर्जन वृद्धिमा टेवा पुर्‍याई जीवनस्तरमा सुधार ल्याउन मेयर उद्यमशील कार्यक्रम ल्याएको जनाइएको छ ।

नगरले उपप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रम पनि सुरु गरेको छ । चालु आर्थिक वर्षभित्र नगर क्षेत्रभित्रका ५ सय ७० महिलालाई निःशुल्क उद्यमशीलता तालिम दिइने नगर उपप्रमुख बिना बाँस्तोलाले बताइन् । ड्राइभिङ, ब्युटी पार्लर, कम्प्युटर, सिलाइकटाइ, बेतबाँस, मन्टेसोरी, बेकरी, कफी मेकिङ र मोबाइल/ल्यापटप बनाइने तालिम दिइने उनले बताइन् ।

प्रकाशित : चैत्र १६, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?