२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘बैंकिङ कसुरका नयाँ प्रवृत्तिले समस्या’

काठमाडौँ — बढ्दो सूचना प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा देखिएका नयाँ प्रवृत्तिले चुनौती थपेको विज्ञहरूले औंल्याएका छन् । कतिपय चुनौती कानुनले पनि नसमेटेकाले नियन्त्रणमा समस्या भएको उनीहरूको भनाइ छ । बैंकिङ कसुरसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

‘बैंकिङ कसुरका नयाँ प्रवृत्तिले समस्या’

बैंकिङ कसुर र सजायसम्बन्धी कानुन जारी भएपछि बैंकिङ कसुरजन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ । त्यसका निम्ति विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए । ‘सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्ति देखिन थालेका छन् । तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन,’ उनले भने, ‘त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

नेपाल राष्ट्र बैंक कानुन महाशाखाले २०७७ चैत १३ मा काठमाडौंमा ‘बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । महान्यायाधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक, महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीका अधिकारीहरूको सहभागिता थियो । कार्यक्रममा बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने महान्यायाधिवक्ता रमेश बडालले बताए । त्यसका निम्ति राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवं सहकार्य हुनुपर्ने उनको धारणा छ । ‘विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गरौं,’ उनले भने, ‘अबको अन्तर निकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै अघि बढ्ने हो ।’

सरोकारवाला सबै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको भनाइ छ । ‘हुन्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सिर्जना गरेको देखिन्छ,’ उनले भने, ‘सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता छ ।’

प्रकाशित : चैत्र १६, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?