१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ताक्लाकोटमा रोकियो नेपालीको कमाइ

दुई अर्ब रूपैयाँभन्दा बढीको फुरूको व्यापार बन्द
करोडौं रूपैयाँ रेमिट्यान्स घाटा
ताक्लाकोटमा निर्भर नेपाली आर्थिक समस्यामा
वसन्तप्रताप सिंह

बझाङ — अवस्था सामान्य भएको भए बझाङको तल्कोट गाउँपालिका–७ किदन्नकी कारसाङ र उनका श्रीमान् अंग थापालाई यति बेला होटलका सरजाम जोड्न भ्याइनभ्याइ हुन्थ्यो । चैतमा होटलका लागि चाहिने दाल, चामल मरमसला किन्न उनीहरू नेपालगन्ज झर्थे । वैशाख पहिलो सातासम्म पोकापन्तुरा बोकेर चीनको ताक्लाकोट उक्लिसकेका हुन्थे ।

ताक्लाकोटमा रोकियो नेपालीको कमाइ

तिब्बतको पुराङ काउन्टीअन्तर्गत पर्ने ताक्लाकोटमा वैशाखदेखि असोजसम्म उनीहरूको होटल ग्राहकले खचाखच हुन्थ्यो । कैलास मानसरोवरको प्रवेशद्वारका रूपमा रहेको यो बजारमा खासगरी नेपालबाट कैलास मानसरोवर घुम्न जाने र ताक्लाकोटमै ज्यामी मजदुरी गर्ने नेपालीलाई लक्ष्य गरी होटल खोलेको थापा परिवारले सबै खर्च कटाएर वर्षमा १५ लाख रुपैयाँसम्म नाफा कमाउँथ्यो । ताक्लाकोटकै कमाइले थापा परिवारले सुर्खेतमा घरसमेत किनेको छ । कात्तिक–मंसिरतिर हिउँ झर्न सुरु भएपछि यो परिवार नेपाल फर्कन्थ्यो ।

१० वर्षदेखि चल्दै आएको उनीहरूको यो व्यापार यात्रा गत वर्षबाट कोरोनाले रोकिदियो । २०७६ मंसिरमा नेपाल आएका उनीहरू कोरोना संक्रमणको जोखिमका कारण चीनले नाका बन्द गरेपछि ताक्लाकोट फर्किन पाएका छैनन् । डेढ वर्षअघि होटल भएको घरमा ताल्चा लगाएर नेपाल आएका थापा दम्पती अहिले ताक्लाकोट नाका कहिले खुल्ला र पहिले जस्तै होटल चलाउँला भनेर कुरिबसेका छन् । तर नाका खुल्ने छाँटकाँट छैन । डेढ वर्षसम्म होटलमा थन्काएर राखेका खाद्यान्नलगायत सामानको अवस्था के भयो होला भनेर कारसाङ चिन्तामा छिन् ।

‘१५–२० बोरा त बासमती चामल मात्रै थियो । दाल, चामल, लत्ता कपडा सबै मुसाले खाइसक्यो होला । भुइँतलामा भएको सामान ढुसी परिसक्यो होला,’ उनले भनिन्, ‘हाम्रो ज्यान यहाँ भए पनि मन ताक्लाकोटमै छ । कहिले नाका खुल्ला र जाउँला भनेर समाचार हेर्दाहेर्दै थाकिसक्यौं ।’ ताक्लाकोटको नाका बन्द भएपछि उनको परिवारमा आर्थिक संकट पनि सुरु भएको छ । त्यही होटलको कमाइका भरमा तीन छोराछोरीलाई सुर्खेतको महँगो बोर्डिङ स्कुलमा पढाउँदा मासिक खर्च मात्रै ४० हजार रुपैयाँभन्दा बढी आउँछ । परिवारको सबै खर्च मासिक १ लाख छुन्छ । ताक्लाकोटको कमाइ रोकिएपछि बैंकमा घर धरौटीराखेर खर्च चलाइरहेको थापाले बताए । छिट्टै ताक्लाकोट फर्किन नपाए आफूहरूलाई गाह्रो पर्ने उनको भनाइ छ ।

‘अर्को वर्ष नाका खुलिहाल्ला, आएर बैंकको ऋण तिरौंला भनेर घर धरौटी राख्यौं । यो वर्ष पनि नाका खुल्ला जस्तो छैन,’ थापाले भने, ‘उता होटलको भाडा ६ लाख पुगिसक्यो भनेर फोन आएको छ । यो वर्ष पनि नाका खुलेन भने त हाम्रो सडकको बास हुन्छ ।’ त्यहाँका घरधनीले होटलको भाडा पठाऊ भनेर बारम्बार फोन गर्ने गरेको उनले बताए ।

कोरोना संक्रमणको कारण देखाउँदै गत वर्षबाट चीनले ताक्लाकोट नाका बन्द गरेपछि थापा परिवारजस्तै ताक्लाकोटमा विभिन्न व्यवसाय गर्दै आएका बझाङ, हुम्ला, डोल्पा, दार्चुला र मुगुका नेपाली व्यवसायीको आयस्रोतको बाटो बन्द भएको छ । उनीहरूमध्ये धेरैजसो परिवारसहित नै ताक्लाकोटमा व्यापार गरिरहेकाहरू थिए । लामो समयदेखि व्यापार बन्द भएपछि धेरैजसोको जीविकामै समस्या पर्न थालेको उनीहरूको गुनासो छ ।

ताक्लाकोटमा नेपालीले वर्षौंदेखि होटल, नेपाली उत्पादनका पसल, फुरु (काठका भाँडाकुँडा), हाते होजियारीका सामान, नेपाली गलैंचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका थिए । मह, घिउ, छुर्पी, खुर्सानी, टिमुर र अन्य जडीबुटीलगायत नेपालमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सामानको व्यापार पनि हुने गरेको थियो ।

नाका बन्द हुनुअघि बजारमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी मूल्यको नेपाली फुरु (काठको बटुको) को मात्रै व्यापार हुने गरेको हुम्लाको नाम्खा गाउँपालिकाका व्यापारी दानबहादुर लामाले बताए । यसैको व्यापार गर्न डोल्पा, मुगु, हुम्ला र बझाङका मानिसले ४० भन्दा बढी पसल ताक्लाकोट र आसपासका बजारमा खोलेका थिए । अहिले सबै कारोबार ठप्प भएको लामाको भनाइ छ । ‘ताक्लाकोटको बजार बन्द भएपछि फुरुको व्यापार गर्नेहरू सुकिसके । नाका खुल्ला र ताक्लाकोट लैजाउँला भनेर तयार गरेका फुरु अघिल्लै वर्षदेखि नेपालगन्ज, सुर्खेत र हुम्लामा थन्किएका छन्,’ उनले भने, ‘फुरुमा मात्र एउटै व्यापारीको करोडौं लगानी फसेको छ ।’

फुरुलाई तिब्बतीहरूको जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्य र दैनिक जीवनमा पनि सौख र सानको प्रतीकका रूपमा लिइन्छ । नेपालका विभिन्न जंगलमा पाइने काठबाट भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ जातिको पुर्ख्यौली पेसा हो । फुरु बनाउने काममा यहाँका मानिस पहिलादेखि नै संलग्न हुँदै आए पनि केही वर्षअघिसम्म सजिलै बिक्दैनथ्यो । नेपाल सरकारको पहलमा फुरुलगायतका उत्पादनमा भन्सार छुटका लागि सरकारी पहल भएपछि २०७२ सालयता ताक्लाकोटमा फुरुको कारोबार चम्किएको थियो ।

नेपालमा प्रतिगोटा २०/३० हजारसम्म लगानी गरी तयार हुने फुरु आकार र गुणस्तर हेरेर तिब्बती बजारमा ५० हजारदेखि १५ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको हुम्लाकै अर्का व्यवसायी सोनाम लामाले बताइन् । ‘लगानीको तुलनामा धेरै गुणा बढी फाइदा हुने भएपछि अहिले धेरैजसोले फुरुकै व्यापार गर्न थालेका थिए । माग पनि राम्रै थियो । बीचैमा कोरोना आइदियो,’ उनले भनिन् ।

ताक्लाकोट र आसपासका खोचेर, लुकोट, लुक्पुलगायतका साना बजारमा तीन सयभन्दा बढी नेपाली व्यवसायीले व्यापार व्यवसाय गर्दै आएका छन् । प्रवेश अनुमति नपाएकाले अहिले सबैजसो व्यवसाय बन्द गरेर नेपालमै बसिरहेको हुम्लाको नाम्खा गाउँपालिकाका थोतेन लामाले जानकारी दिए ।

रोजगारी पनि रोकियो

चीनले ताक्लाकोट प्रवेश अनुमति रोकेपछि मौसमी रोजगारीका लागि यहाँ पुग्ने सयौं युवाको आयस्रोत पनि रोकिएको छ । पछिल्ला केही वर्षयता यहाँ निर्माण, कृषिलगायत अन्य क्षेत्रमा काम गर्न मजदुरका रूपमा बझाङ, हुम्ला, डोल्पा, दार्चुला र मुगुका सयौं मानिस ताक्लाकोट पुग्ने गरेका थिए ।

निर्माणाधीन भवन र अन्य संरचनामा दक्ष र अदक्ष कामदारका रूपमा उनीहरूले दैनिक ज्यालामा काम गर्थे । यस्तै मालवाहक गाडी लोडअनलोड गर्ने, ऊन केलाउने, भारी बोक्ने काममा पनि नेपालीले रोजगारी पाउँदै आएका थिए । यस्तै उवा (जौजस्तै उच्च हिमालमा फल्ने बाली) काट्ने, चुट्ने अनि भेडाबाख्रा फार्ममा पनि दर्जनौं युवाले काम गर्ने गरेका थिए । तर कोरोनापछि सबै रोकिएको बझाङको साइपाल गाउँपालिकाका किन्थ्या रोकाया बताउँछन् । उनीहरूले दैनिक १ सय ५० देखि २ सय ५० युआन (करिब २ हजार ५ सय ५० देखि ४ हजार रुपैयाँ) सम्म कमाउने गरेको र वैशाखदेखि भदौसम्म पाँच महिनामा खर्च कटाएर प्रतिव्यक्ति न्यूनतम ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको रोकायाले जानकारी दिए । ‘ताक्लाकोट हाम्रा लागि दुबई–कोरियाजस्तै थियो । बर्खाका चार–पाँच महिना ताक्लाकोटमा काम गरेपछि परिवारको वर्षभरको खर्च चल्थ्यो । अहिले उता जानै दिँदैन । यता रोजगारी छैन । घरखर्च चलाउनै मुस्किल भइसक्यो,’ उनले भने ।

ताक्लाकोट तिब्बतको विकट हिमाली क्षेत्रमा पर्ने सहर हो । हिन्दु, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलास मानसरोवर नजिक पर्ने भएकाले चीन सरकारले यस क्षेत्रको विकासमा उल्लेख्य लगानी गरिरहेको छ । भारत, नेपाल र चीनको त्रिदेशीय भूभागसँग जोडिएको छ । यो क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक हबका रूपमा विकास गर्न पनि चीन सरकारले यहाँ अत्याधुनिक संरचना निमार्णमा ठूलो लगानी गर्न थालेसँगै ताक्लाकोटसँग सीमा जोडिएका नेपालीको रोजगारीको आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको थियो ।

अर्धदक्ष र अदक्ष कामदारका रूपमा बर्सेनि तीन हजारको हाराहारीमा सीमावर्ती जिल्लाका मानिस यहाँ मौसमी रोजगारीका लागि जाने गरेको हुम्ला डाँडाफयाका जयभक्त शाहीको भनाइ छ । यहाँ काम गर्ने कामदारलाई स्थानीय प्रशासनले तीन महिनाका लागि रोजगार अनुमति दिने र थप बस्न चाहे तीनतीन महिनाका दरले नवीकरण गरिदिने गरेको थियो । राम्रै कमाइ हुने र चाहेका बेला घर फर्किन सकिने भएकाले आफूहरूका लागि खाडी मुलुकभन्दा ताक्लाकोट कैयौं गुणा राम्रो भएको हुम्ला स्याडा गाविसका गोपी सिंहले बताए । ‘६ महिनाको कमाइले परिवारलाई वर्षभर पाल्न पुग्थ्यो,’ उनले भने, ‘६ महिना आफ्नै घरमा गएर परिवारसँग बस्न र अन्य काम गर्न पाइन्थ्यो । अहिले सबै बन्द भयो ।’

नेपाली व्यापारीहरूलाई ताक्लाकोट प्रवेशमा रोक लगाएको भए पनि त्यहाँ हुने व्यापार व्यवसाय भने चलिरहेको छ । कोरोना संक्रमण सुरु भएपछि केरुङ र तातोपानी नाका खुले पनि ताक्लाकोट नाका खुलाउन सरकारले पहल नगरेको नेपाली व्यवसायीको गुनासो छ । ‘सरकारले यो नाकालाई वास्तै गरेको छैन । तर यो नाकासँग पाँच जिल्लाका मान्छेको जीविका जोडिएको छ,’ ताक्लाकोटमा क्युरियोका सामानको व्यापार गर्दै आएका दार्चुलाको छाङरुका योगेश बोहराले भने, ‘यो वर्ष पनि नाका खुलेन भने सबै व्यापारी डुब्ने निश्चित छ ।’ त्यसैले यो नाका खुलाउन कूटनीतिक पहल थाल्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : चैत्र १५, २०७७ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?