कारोबार थाल्दै स्टक डिलर

३९ वटा कम्पनीको सेयर कारोबार गर्न पाउने 
साना कम्पनीको सेयर किनबेच गर्न नपाउने
यज्ञ बञ्जाडे

काठमाडौँ — सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने उद्देश्यले स्थापित ‘नागरिक स्टक डिलर’ ले बुधबारदेखि कारोबार सुरु गर्ने भएको छ । यसअघि अरू ब्रोकर कम्पनीमार्फत सेयर किनबेच गरे पनि डिलरले अब आफैं कारोबार सुरु गर्ने भएको हो । यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीबाट अनुमति पाइसकेको छ ।

कारोबार थाल्दै स्टक डिलर

‘बुधबारदेखि आफैं कारोबार सुरु गर्ने योजना छ, तयारी सकिएको छ,’ नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले भने, ‘ससाना काम अझै पनि बाँकी छन् । कारोबार सुरु गर्दै जाँदा ती अप्ठ्यारा पनि समाधान गर्दै जानेछौं ।’ समग्र बजारको विकास तथा विस्तारका लागि आफूलाई दिइएको जिम्मेवारी पूर्ण रूपमा पालना गर्ने उनको दाबी छ ।

कम्पनीले ठूलो परिमाणमा सेयर कारोबार गर्ने भएकाले बजारमा देखिने अस्वाभाविक ठूला उतारचढाव नियन्त्रण हुने उनले बताए । ‘कम्पनीले बिस्तारै मार्केट मेकरकै रूपमा काम गर्दै जाने हो,’ उनले भने, ‘विभिन्न क्षेत्रबाट फन्ड व्यवस्थापन गर्दै त्यसलाई पुँजी बजारमा परिचालन गर्दै जान्छौं ।’ स्रोतका अनुसार स्टक डिलरलाई नेप्सेले संकेत नम्बर ५०१ प्रदान गरेको छ । यो ब्रोकर कम्पनीलाई प्रदान गरेको जस्तै संकेत नम्बर हो । अब यही नम्बरबाट डिलरले कारोबार सुरु गर्नेछ । नेप्सेले संकेत नम्बर दिएको दाबी गरे पनि स्टक डिलरले त्यसको औपचारिक पत्र पाइनसकेको बताएको छ ।

स्टक डिलरलाई कारोबार सुरु गर्न आफूहरूका तर्फबाट कुनै समस्या नभएको सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए । ‘स्टक डिलरसँग नेप्सेले दिएको संकेत नम्बर, इन्टरनेट कनेक्टिभिटी, बैंक खाता र पुल खाता खुलेको जानकारी लिखित रूपमा आएपछि कारोबार सुरु गर्न अनुमति दिन्छौं,’ उनले भने, ‘कारोबारका लागि प्राविधिक रूपमा कुनै समस्या छैन, आन्तरिक रूपमा तयारी गरिसकेका छौं ।’ औपचारिक रूपमा कारोबारका लागि नपुग कागजात लिएर आए बुधबारदेखि नै स्टक डिलरले कारोबार गर्न पाउने उनले बताए । पुँजी बजार औपचारिक रूपमा सुरु भएको २७ वर्षपछि स्टक डिलर स्थापना भएको हो ।

नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर’ स्थापना भएको उक्त कम्पनीलाई धितोपत्र बोर्डले गत फागुन १ देखि लागू हुने गरी सञ्चालन अनुमतिपत्र दिएको थियो । यो नेपालकै पहिलो स्टक डिलर कम्पनी हो । पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोषजस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थालाई बोर्डले अनुमतिपत्र प्रदान गरेको हो । पुँजी बजारमा हाल ससाना लगानीकर्ताको बाहुल्य छ । संस्थागत लगानीकर्ताको उपस्थिति न्यून छ । नागरिक स्टक डिलरको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजी बजारमा गतिशीलता आई बजारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बोर्डको दाबी छ ।

स्टक डिलर कम्पनीले २० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका साना कम्पनीको सेयर कारोबार गर्न नपाउने प्रावधान धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७ मा छ । धितोपत्र व्यापारीले २० करोडभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न पाइने छैन । साना कम्पनीको सेयर किनबेच गर्न अनुमति दिँदा ती कम्पनीको सेयर एकीकृत (कर्नरिङ) गरी मूल्यमा उचारचढाव ल्याउन सक्ने सम्भावना रहन्छ । यसकारण कार्यविधिमै साना कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था गरिएको नेप्सेले जनाएको छ ।

स्टक डिलरले एक हजारभन्दा कम कित्ता सेयर पनि खरिद–बिक्रीमा पनि बन्देज गरिएको छ । यो व्यवस्थाअनुसार स्टक डिलरले कारोबार गर्दा एक हजारभन्दा कम संख्यामा सेयर किनबेच गर्न पाउँदैन । यो संस्थाले चुक्ता पुँजीका आधारमा एक पटकमा १० हजारदेखि अधिकतम ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने व्यवस्था कार्यविधिमा छ ।

कार्यविधिअनुसार ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीको ५० हजार कित्तासम्म, ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ४० हजार, २ देखि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको ३० हजार, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीको २५ हजार, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीको २० हजार कित्ता सेयर किनबेच गर्न पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ । सोही सूचीबाट स्टक डिलरले आफूले कारोबार गर्न चाहेको कम्पनीको नामावली नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा छ ।

के हो स्टक डिलर ?

सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने काम मार्केट मेकर र स्टक डिलरको हो । कम्पनीले हरेक दिन बजार खोल्नुअघि आफूले खरिद–बिक्री गर्ने कम्पनीको सूची सार्वजनिक गर्नुपर्छ । यसमध्ये मार्केट मेकरले आफूले खरिद–बिक्री गर्ने कम्पनीको नाम र मूल्य पनि सार्वजनिक गर्नुपर्छ । तर स्टक डिलरले कम्पनीको नाम मात्र सार्वजनिक गरे पुग्छ । खरिद–बिक्री गर्ने कम्पनीको मूल्य सार्वजनिक गरिरहनु पर्दैन ।

पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय बजारमा मार्केट मेकरको अवधारणा हराइसकेको छ । हाल धेरै राष्ट्रमा स्टक डिलर मात्र सञ्चालनमा छन्  । यस्ता कम्पनीले आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् । यी कम्पनीलाई सेयर कारोबारका लागि ब्रोकरसमक्ष जानु पर्दैन । नियामक निकाय (फन्ट लाइन रेगुलेटर) ले छुट्टै ‘लगइन’ दिएको हुन्छ । त्यसैमार्फत आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् ।

प्रकाशित : चैत्र ११, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?