२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एक महिनामा तीन पटक हवाई भाडा वृद्धि

काठमाडौँ — आन्तरिक उडानमा रहेका सातवटा नेपाली वायुसेवा कम्पनीले हवाई इन्धनको मूल्य बढेको कारण देखाउँदै एक महिनामा तीन पटक भाडा बढाएका छन् ।

एक महिनामा तीन पटक हवाई भाडा वृद्धि

हेलिकप्टर र वायुसेवा कम्पनी गरी १८ वटा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडाअन्तर्गत फ्युल चार्जमा ९० रुपैयाँसम्म वृद्धि गरेको छ । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेकाले सोही अनुपातमा स्वचालित प्रणालीअनुसार हवाई भाडा वृद्धि गर्नुपरेको संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले यसअघि फागुन २१ मा हवाई भाडाअन्तर्गत फ्युल चार्जमा २ सय २० रुपैयाँसम्म बढाएको थियो । त्यसअघि फागुन ८ मा पनि संघले आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेको कारण देखाउँदै अधिकतम ९० रुपैयाँसम्म हवाई भाडा बढाएको थियो । आयल निगमले प्रतिलिटर हवाई इन्धनमा २ रुपैयाँ बढाएकाले हवाई भाडामा फ्युल चार्ज वृद्धि गर्नुपरेको संघले जनाएको छ ।

वायुसेवा कम्पनीहरूले आयल निगमले हवाई इन्धनको भाडा थपघट गर्दा त्यसैका आधारमा फ्युल चार्जमा पनि थपघट गर्ने स्वचालित प्रणाली लागू गर्दै आएका छन् । विमान कम्पनीहरूले हवाई भाडा बढाउन संघमार्फत नियामक निकाय नागरिक उड्डयन प्राधिकरणमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष जानकारी गराउँछन् । विभागीय मन्त्रीस्तरीय निर्णयबाट भाडादर हेरेफेर गरिँदै आएको छ । आन्तरिक उडानको भाडामा वायुसेवालाई यात्रुले भाडा, विमानस्थल सेवा शुल्क र फ्युल चार्ज गरी तीन शीर्षकमा रकम तिर्नुपर्छ । संघमा नेपाल वायुसेवा निगम र श्री एयरलायन्स भने सदस्य छैनन् । यीबाहेक बुद्ध, यती, तारा, सीता, समिट, सिम्रिक र सौर्य एयरलायन्स यसका सदस्य वायुसेवा कम्पनी हुन् । वायुसेवाबाहेक आठ वटा हेलिकप्टर कम्पनी पनि सदस्य छन् ।

प्रकाशित : चैत्र ८, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?