कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अनुगमनको हल्लाले लुके व्यापारी

जनकपुर, सर्लाही र महोत्तरी — राजस्व कार्यालयबाट छापा मारिने हल्लाको डरले प्रदेश २ का धनुषा, महोत्तरी र सर्लाहीका प्रायः पसल दुई दिनदेखि बन्द छन् । सटरमा ताल्चा लगाएर व्यापारीहरू पसलनजिकै लुकेर बसेका छन् । बिहीबार र शुक्रबार धनुषाको जनकपुर, महेन्द्रनगर, महोत्तरीको जलेश्वर र बर्दिवास र सर्लाहीको मलगंवा र बयलवासलगायत प्रमुख व्यापारिक केन्द्रका धेरैजसो पसलका सटर झारिएका थिए ।

अनुगमनको हल्लाले लुके व्यापारी

बिहीबार बिहान बजार खुलेसँगै हल्ला फिँजियो, ‘राजस्वको टिम छापामारी गर्दै आउँदै छ ।’ यो हल्ला जुन व्यापारीले जति बेला सुने, उनले पसलको सटर झारिहाले । व्यापारीहरूमा राजस्व छापामारीको भय यतिविघ्न छ कि, व्यापार संघले छापामारी अफवाह रहेको अपिल गरे पनि अझै यहाँका पसल खोलिएन । सहरका धेरैजसो पसल बन्द हुँदा व्यापार–व्यवसायमा समस्या उत्पन्न भएको भन्दै जनकपुर उद्योग वाणिज्य संघले अपिल निकाल्दै पसल निर्बाध सञ्चालन गर्न आग्रह गरेको छ । ‘हामीले राजस्व कार्यालय स्रोतसँग बुझ्दा छापा मार्ने अहिले कुनै योजना नरहेको बताएकाले पसल निर्वाध रूपमा सञ्चालन गर्न आग्रह छ,’ जनकपुर व्यापार संघका अध्यक्ष ललित साहले जारी गरेको अपिलमा भनिएको छ ।

बजार अनुगमन र छापामारी मामिलामा आन्तरिक राजस्व कार्यालयका अधिकारी मौन छन् । राजस्व कार्यालयको मौनताले समेत व्यापारीमा भय बढेको छ । राजस्व छापामारीको हल्लाले बजारका प्रायः पसल बन्द भएको जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले स्विकारे । ‘व्यापारीमा छापाको भय छ । हामी आफैं अन्योलमा छौं,’ उनले भने, ‘बजार अनुगमन त पहिला पनि हुन्थ्यो । तर यसपालि २० देखि २५ लाख जरिवाना गरिदिने हल्ला फैलिएको छ । त्यसले पनि पसल बन्द भएका हुन् ।’

फागुन २३ मा महोत्तरीको बर्दिवासका ६ पसलमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जले अनुगमन गर्‍यो । समस्या देखिएका यी ६ वटै पसललाई लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको भन्ने हल्ला फिँजियो । कसले र के विषयमा अनुगमन गरेको हो भन्ने जानकारी नै नलिई व्यापारीले धमाधम पसल बन्द गरे । ‘व्यापारिक फर्ममा केही न केही समस्या हुन्छ,’ महासेठले भने, ‘व्यापारिक प्रतिष्ठानमा अलिअलि फल्ट रहन्छ नै । खाता मेन्टेन हुन्न । त्यही भयले व्यापारीले पसलका सटर डाउन गरेका हुन् ।’ जनकपुरको बजारमा सामान खरिद गर्दा व्यवसायीले हतपत बिल दिँदैनन् । उपभोक्ताले मागिहाले चिर्कटो वा स्टिमेट बिल भिडाइदिन्छन् । हार्डवेयर, किराना, कपडा, इलेक्ट्रिक पसलहरूले पान वा भ्याट बिल सकेसम्म दिन मान्दैनन् ।

राजस्वबाटै तुरुन्तै बजार अनुगमन गर्ने त्यस्तो कुनै योजना नरहेको आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख गजेन्द्र यादवले जानकारी दिए । ‘व्यवसायी किन डराएका हुन्, बुझिनसक्नु छ । वाणिज्य संघहरूले फोन गरिरहेका छन् । सबैलाई विश्वास दिएको छु, अहिले त्यस्तो कुनै नीति छैन भनेर,’ उनले भने, ‘शुद्ध व्यापार नगरेकाले डराएका होलान् ।’

महोत्तरीको गौशाला, औरही, रामगोपालपुर, भंगाहाका बजार भने बिहीबार र शुक्रबार पूर्ण रूपमै बन्द गरिए । बर्दिवास र जलेश्वरमा फाट्टफुट्ट पसल बन्द भए । आन्तरिक राजस्व कार्यालबाट टोली आएको भन्दै व्यापारीले राजस्व छली लुकाउन बजार बन्द गराएको बताएका छन् । कर छली गर्ने व्यापारीले छापामा परिने डरले महोत्तरीको औरही नरपालिकाको बजार गत आइतबारदेखि नै बन्द गरेर उपभोक्तालाई सास्ती दिएको स्थानीय धर्मेन्द्र यादवको भनाइ छ । प्रदेश २ का प्रायः बजारमा मूल्यसूची नराख्ने, बिक्री बिल जारी नगर्ने, म्याद गुज्रिएका सामान बिक्री गर्ने, अनुमतिबिनै रिप्याकेजिङ गर्ने, अनुमति नलिइएका वस्तु बिक्री गर्नेलगायत समस्या छन् । उपभोक्ता हकहितविपरीतका सामान बिक्री गरेको बर्दिवासका ६ वटा पसललाई ५ हजारदेखि २ लाखसम्म जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका निरीक्षण अधिकृत जितबहादुर भण्डारीले जानकारी दिए ।

बर्दिवास बजार क्षेत्रका प्रायः पसलबाट उपभोक्ता ठगिएको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जले जनाएको छ । अनुगमन गरेको जानकारी पाएसँगै व्यापारीले पसल बन्द गरेर जोगिन खोजेको पाइएकाले अन्य ठाउँमा पनि अनुगमन हुने भण्डारीले बताए । प्रदेश २ का आठ जिल्ला र वाग्मती प्रदेशका चितवन एवं मकवानपुरका उपभोक्ता संरक्षणका लागि काम गर्ने वीरगन्ज कार्यालयले महोत्तरीमा अनुगमन गर्ने क्रममा प्रायः पसलबाट उपभोक्ता ठगिएका निष्कर्ष निकालेको छ ।

सर्लाहीको दोस्रो ठूलो मुख्य बजार बयलबास बजारमा बुधबार र शनिबार उपभोक्ताको भीड लाग्छ । तर गत बुधबार र बिहीबार यो बजार सुनसान रह्यो । कर कार्यालयको टोली बजार अनुगमनमा आउने हल्ला चलेपछि व्यापारीले पसल नखोल्दा बजार सुनसान भएको हो । दुई दिन प्रायः बन्द रहेका सर्लाहीका पसल शुक्रबारबाट आंशिक रूपमा खुले । बाराको पथलैयामा रहेको प्रादेशिक कर कार्यालयको टोली बयलवास बजारको अनुगमनका लागि बुधबार आउन लागेको हल्ला चलेको थियो । लगतै आआनो पसल बन्द गरेर व्यापारी भागेका थिए । बुधबार बन्द भएका पसल बिहीबार पनि बन्द नै रहे ।

ग्रामीण क्षेत्रको यो बजारका व्यापारीहरू नजानेर करका कर्मचारीका डरले पसल बन्द गरेर भागेको उद्योग वाणिज्य संघ बयलवासका अध्यक्ष विष्णुहरि मैनालीले बताए । ग्रामीण स्तरका व्यापारी रहेकाले अनुगमनमा आउने सरकारी कर्मचारीबाट समातिने र जरिवाना हुने डरले भागेको उनको भनाइ छ । ‘प्रायः व्यापारी ग्रामीण क्षेत्रका छन्, कुरा नबुझेर उनीहरू डरले भागेका हुन्,’ मैनालीले भने ।

प्रकाशित : चैत्र ७, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?