२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आफूखुसी जग्गा प्लटिङ

स्वीकृतिबिना प्राकृतिक संरचनाको ख्याल नगरी बनेको प्लानिङलाई मान्यता नदिने नगरपालिकाहरुको दाबी
लिला श्रेष्ठ

भक्तपुर — सरकारले अनुमतिबिना जग्गा प्लटिङमा रोक लगाए पनि जग्गा व्यवसायीले आफूखुसी त्यो काम गरिरहेको पाइएको छ । भिरालो जग्गामा जथाभावी डोजर लगाइएको छ । खोला, राजकुलो अनि सडकको ख्याल नगरी सार्वजनिक/पर्ती जग्गा अतिक्रमण गरेर आफूखुसी रूपमा जग्गा व्यापारीले प्लानिङ गरिरहेका छन् । जिल्लाको चाँगुनारायण नगरका नौ वटै वडाका डाँडा र भिरालो जग्गाको उत्खनन भइरहेको छ ।

आफूखुसी जग्गा प्लटिङ

स्थानीय तहको नेतृत्व लिएका जनप्रतिनिधिले जग्गा विकास, जग्गा प्लटिङ कार्यविधि तथा निर्देशिकाका नाममा व्यवसायीलाई मापदण्ड विपरीत प्लटिङको मौन स्वीकृति दिइरहेका छन् । ‘स्थानीय जनप्रतिनिधिको आडमा भूमाफियाले जताततै डोजर आतंक मच्चाइरहेका छन्,’ चाँगुनारायण नगरपालिका–९ ताथली छापकी सावित्री थापाले भनिन्, ‘सार्वजनिक जग्गा, सडक, खोला मिचेर पर्खाल लगाउने काम भएको छ, यस्तो अवस्थामा नगरपालिका भने मौन छ ।’

काठमाडौं उपत्यका नगर विकास प्राधिकरण र स्थानीय तहहरूसँग स्वीकृति नै नलिई मापदण्डविपरीत जग्गा प्लानिङ, माटो उत्खनन गर्ने क्रम बढ्दो छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका विभिन्न स्थानमा अव्यवस्थित जग्गा प्लानिङ भइरहेको छ । काठमाडौं उपत्यका नगर विकास प्राधिकरण भक्तपुरका अनुसार २०६१ सालदेखि हालसम्म जिल्लाभर ४२ वटा निजी क्षेत्रबाट सञ्चालित विकास आयोजनाले मात्र अनुमति लिएका छन् । तर प्लानिङका नाममा डोजर चलाइएका स्थानको गणना गर्ने हो भने एक सयभन्दा बढी पुगेको सरोकारवाला बताउँछन् । यसमा स्थानीय तहलगायत सम्बन्धित पक्षले अनुगमन गरेका छैनन् । वडाध्यक्षहरूले जग्गा घरघडेरीका लागि माटो खार्ने तथा सम्याउने भन्दै आफूखुसी रूपमा अनुमति दिने गरेको पाइएको छ ।

सूर्यविनायक नगरपालिकाको जग्गा प्लटिङ कार्यविधि–२०७४ र चाँगुनारायण नगरको जग्गा विकास निर्देशिका–२०७४ अनुसार जग्गा व्यवसायीले नगरपालिकाको कार्यविधिविपरीत एवं स्वीकृति नलिई प्लटिङ गरेका छन् । कार्यविधिअनुसार प्लटिङ गर्दा प्लटिङ नक्साको आवेदन नगरपालिकामा दर्ता भएको मितिले ७ दिनभित्र भवन इजाजत शाखाले स्थलगत सर्जमिन गरी सम्बन्धित सँधियार र रोहवरमा वडा कार्यालयका प्रतिनिधि तथा अन्य ७ जना व्यक्तिलाई समेत राखी प्रक्रिया पूरा गरी नगरपालिकामा पेस गर्नुपर्छ । प्लटिङ गर्न इजाजत प्राप्त भएपछि सम्बन्धित व्यक्ति वा संस्थाले सम्बन्धित मालपोत/नापी कार्यालयबाट नगरपालिकामा पेस गरेको उक्त प्लटिङ नक्साका आधारमा प्रमाणित एवं आधिकारिक फाइल नक्सा बनाई नगरपालिकामा पेस गर्नुपर्छ । प्लटिङ इजाजत लिएपछि प्रस्तावित स्वीकृत नक्साबमोजिम बाटो, ढल, विद्युत् पोल, तार, कल्भर्ट, खुला जग्गा, हरियाली वृक्षरोपणसहितका सम्पूर्ण पूर्वाधार निर्माणमा ५० प्रतिशत काम भइसकेपछि नगरपालिकाका प्राविधिकबाट स्थलगत निरीक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा मात्र जग्गा खरिदबिक्रीको सिफारिस प्रक्रिया अघि बढाइने प्रावधान छ ।

जग्गा प्लटिङ गर्दा मुख्य सडकबाट प्लटिङ गरिने जग्गासम्म जोड्ने बाटो अनिवार्य आठ मिटर चौडाइको हुनुपर्छ । अन्य सबै बाटा ६ मिटर चौडाइका रहनुपर्छ । खरिद–बिक्री गर्दा ६ मिटर बाटो फाइल नक्सामा कित्ताकाट गरी नेपाल सरकारका नाममा चढाउनुपर्छ । कुनै पनि बाटोको घुम्ती वा मोडको न्यूनतम अर्धव्यास बाटोको चौडाइभन्दा ३ दशमलव ५ मिटरभन्दा बढी चौडा भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्लानिङ क्षेत्रभित्रका बाटा अनिवार्य ६ र १ दशमलव ५ सेटब्याक मिटर चौडाइका हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । भूउपयोग तथा भूमि व्यवस्थापनका लागि नगरको आठौं नगरसभाले ‘चाँगुनारायण नगरपालिका भूमि (भूउपयोग तथा भूमि व्यवस्थापन) विधेयक–२०७७’ पारितसमेत गरेको छ । तर जग्गा व्यापारीले मापदण्डको बेवास्ता गर्दै प्लटिङ गर्दै आएका छन् ।

नगरपालिकाहरूले भने स्वीकृतिबिना प्राकृतिक संरचनाको ख्याल नगरी बनेको प्लानिङलाई मान्यता नदिने बताएका छन् । चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्र र सूर्यविनायक नगर प्रमुख वासुदेव थापाले अव्यवस्थित प्लटिङ क्षेत्रमा घरबाटोको सिफारिस नहुने र स्वीकृति नै नलिई प्लानिङ गरिएका जग्गा नकिन्न उपभोक्तालाई अनुरोध गरेका छन् ।

प्रकाशित : चैत्र ४, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?