मेलम्चीको पानी उपत्यकामा

याङ्ग्री र लार्केको पानी ल्याउने काम पनि तत्काल अघि बढाइने
दीपेन्द्र विष्ट

काठमाडौँ — काम सुरु भएको १२ वर्षपछि शनिबार मेलम्चीको पानी उपत्यकामा झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने कामको उद्घाटन गरे । अब केही दिन सुरुङ परीक्षणका लागि पानी सिधै वाग्मती नदीमा पठाइनेछ ।

मेलम्चीको पानी उपत्यकामा

उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मुलुक सुरुङ युगमा प्रवेश गरेको उल्लेख गर्दै सुरुङबाट रेल, पानी ल्याउने र सुरुङमार्ग यातायात सञ्चालन गरिने दाबी गरे । ‘विकासको गतिलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘मेलम्चीको पानी अब केही दिनमा घरघरमा पुग्छ, विकास र समृृद्धिको उदाहरण यही नै हो ।’ याङ्ग्री र लार्केको पानी ल्याउने काम पनि तत्काल अघि बढाइने ओलीले बताए ।

मेलम्ची खानेपानी आयोजनाको काम २०६५ मा सुरु भएको थियो । फागुन ११ मा अम्बाथानस्थित हेडवर्क्सबाट २६.५ किमि लामो सुरुङमा पानी प्रवेश गराइएको थियो । सुरुङ परीक्षण सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए । ‘सबै परीक्षण भइसकेको छ,’ उनले भने, ‘तीन वटै अडिटमा सामान्य चुहावटबाहेक ठूलो समस्या छैन । विभिन्न खण्डमा देखिएका समस्या समाधान गर्छौं ।’ सुन्दरीजलदेखि सिन्धु अडिटसम्मको सुरुङको लम्बाइ करिब साढे नौ किमि छ । तीन वटा अडिटमा सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्याल्थुम (८ किमि) र ग्यालथुम–अम्बाथान अडिट (९ किमि) छन् ।

यसअघि गत असारमा परीक्षण गर्दा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको गेट नम्बर १७ फुटेको थियो । त्यसपछि सरकारले जर्मनीको फिसनर कम्पनीलाई सुरुङ अवस्थाबारे बुझ्न परामर्शदाताका रूपमा नियुक्त गरेको थियो । ‘परामर्शदाता कम्पनीले जोखिम नभएको प्रतिवेदन दिएपछि परीक्षण सुरु गरेका हौं,’ खत्रीले भने ।

सुरुङको परीक्षण सम्पन्न भएपछि वैशाख दोस्रो सातादेखि ग्राहकको धारामा मेलम्चीको पानी नियमित वितरण गर्ने तयारी छ । ‘अहिले पनि परीक्षणका लागि पानी प्रशोधन गरेर धारामा पठाउँछौं,’ उनले भने । हाल सुरुङको परीक्षणको अनुगमन महाराजगन्जस्थित मेलम्चीको मुख्य कार्यालयबाट भइरहेको छ । ‘पहिले फिल्डमा जानुपर्थ्यो । हाल यहीँ कार्यालयबाट स्काडा पद्धतिबाट अनुगमन भइरहेको छ,’ आयोजना प्रमुख खत्रीले भने, ‘चुहावटलगायत काम यतैबाट देखिन्छ, त्यो सामान्य हो ।’

सुन्दरीजलस्थित करिब १७ करोड लिटर क्षमताका पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर पानी विभिन्न पोखरीमा पठाइनेछ । महांकाल, बाँसबारी, बालाजु, मैनमैंजु, अनामनगर र भक्तपुरको टिँगनीमा ६ वटा पुरानै पानीपोखरी छन् भने तिनै स्थानमा नयाँ १० वटा पानी पोखरी निर्माण भइसकेका छन् । पुरानामा साढे चार करोड लिटर नयाँमा पोखरीमा साढे ६ करोड लिटर पानी संकलन गरिनेछ । ती पोखरीबाट विभिन्न शाखा लाइनबाट ग्राहकको घरघरमा पानी पुर्‍याइनेछ । सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट ल्याएर पानीपोखरीमा ल्याएपछि ७६ किमि मुख्य पाइप लाइनबाट पोखरीमा पानी पुर्‍याइनेछ ।

खानेपानी आयोजना निर्देशनालयका अनुसार १ लाख १० हजारभन्दा बढी नयाँ धारा जडान भइसकेका छन् । २ लाख २५ हजार पुरानै धारा छन् । नयाँ धारा जडान भइरहेको आयोजना निर्देशक कमल श्रेष्ठले बताए । ‘मुख्य तथा शाखा पाइपलाइन परीक्षण भइरहेका छन्,’ उनले भने, ‘केही स्थानमा धारासमेत परीक्षण गरिएको छ, जडान भएका धाराको अवस्था पनि परीक्षण भइरहेको छ ।’ केही स्थानमा चुहावट आएको र तिनको मर्मत भइरहेको उनले बताए । ग्राहकले प्रयोग गरेको फोहोर पानी निकासका लागि विभिन्न स्थानमा फोहोर पानी प्रशोधन केन्द्र पनि निर्माण भइरहेको उनले जानकारी दिए ।

६ वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानी मात्र प्रशोधन गर्नेछन् । आयोजनाका अनुसार ८० प्रतिशत फोहोर पानीका लागि थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत छ । पहिलो चरणमा सल्लाघारी र कोड्कुमा एकएक वटा तथा धोबीघाट र गुह्येश्वरीमा दुई–दुई वटा प्रशोधन केन्द्र निर्माणाधीन छन् ।

गुह्येश्वरीमा ३ करोड २४ लाख क्षमताको केन्द्रको निर्माण सकिइसकेको छ । सल्लाघारीमा प्रतिदिन १ करोड ४२ लाख, धोबीघाटमा ८ करोड ७७ लाख र कोड्कुमा १ करोड ७५ लाख लिटर फोहर पानी प्रशोधन हुनेछ ।

दोस्रो चरणमा धोबीघाटमा २२ करोड, कोड्कुमा १ करोड ७० लाख, गुह्येश्वरीमा १ करोड ६० लाख लिटर क्षमताका फोहोर पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिनेछ । बाँकी ठाउँको फोहोर पानीका लागि चाल्नाखेलमा प्रशोधन केन्द्र निर्माण गर्न अध्ययन भइरहेको उनले जानकारी दिए । उपत्यका खानेपानी व्यवस्थापनको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी आएपछि व्यवस्थापन गर्न सक्छ कि सक्दैन भन्ने चिन्ता यस क्षेत्रका विज्ञले व्यक्त गरेका छन् । हालकै पद्धतिले मेलम्चीको पानी व्यवस्थापन गर्न कठिन हुने केयूकेएलका पूर्वकार्यकारी निर्देशक महेश भट्टराईले बताए ।

प्रकाशित : फाल्गुन २३, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?