कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चीनको आर्थिक वृद्धि ६ प्रतिशत हुने प्रक्षेपण

१.१ करोडभन्दा बढी थप रोजगारी सिर्जनाको लक्ष्य
मूल्यवृद्धि दर ३ प्रतिशतमा राखिने
खाद्यान्न उत्पादन ६.५ खर्ब केजीभन्दा बढी पुर्‍याइने
लक्ष्मी लम्साल

बेइजिङ — कोभिड–१९ महामारीका कारण गत वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडिपी) बारे मौन बसेको चीनले सन् २०२१ का लागि आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने प्रक्षेपण गरेको छ ।

चीनको आर्थिक वृद्धि ६ प्रतिशत हुने प्रक्षेपण

बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल्स’ मा शुक्रबार सुरु भएको ‘दुई ठूला अधिवेशन’ अन्तर्गत राष्ट्रिय जनकांग्रेसको सम्मेलनमा प्रधानमन्त्री ली खछ्याङले प्रस्तुत गरेको सरकारी कार्य प्रतिवेदनमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको हो ।

गत वर्ष सन् २०२० मा चीनको वृद्धि दर २.३ प्रतिशत थियो । १४.७ ट्रिलियन अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन कायम राख्दै चीन विश्वका अर्थतन्त्रमध्ये दोस्रो स्थानमा रह्यो । जसको अर्थतन्त्र अमेरिकाको ७० प्रतिशत बराबर बन्यो । महामारीले प्रभावित वर्षमा पनि चीनले १ करोड १८ लाख ६० हजार नयाँ रोजगारी सिर्जना गरेको बताएको छ । वर्षान्तसम्म बेरोजगारी दर ५.२ प्रतिशतमा झारेको बताउँदै चीनले सन् २०२१ मा १ करोड १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत प्रस्तुत गरेको छ । चीनमा सन् २०२० मा ५५.१ लाख ग्रामीण जनसंख्या पूरै गरिबीमुक्त भएको दाबी गरिएको छ । जसमा ५२ गरिब जिल्ला गरिबीमुक्त भएका छन् । यसरी पूर्ण गरिबीबाट उम्किएको घोषणा चीनले हालै गरिसकेको हो ।

चिनियाँ राजनीतिक जीवनमा महत्त्वपूर्ण मानिने जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र जनकांग्रेसको (एनपीसी) बैठक बिहीबार र शुक्रबार लगातार सुरु भएका हुन् । अधिवेशन एक–एक सातासम्म चल्ने कार्यक्रम छ । सीपीपीसीसी विभिन्न पेसा व्यवसाय क्षेत्रबाट आएका प्रतिनिधिको सम्मेलन हो । पिपल्स कांग्रेस भने चिनियाँ वार्षिक नीति तथा कार्यक्रम, बजेट र आगामी लक्ष्य निर्धारण गर्ने राजनीतिक सर्वोच्च निकाय हो । यसले आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो ।

तेह्रौं चिनियाँ राष्ट्रिय जनकांग्रेसको चौथो अधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री लीले कार्य प्रतिवेदनमार्फत आगामी विकास लक्ष्यहरू प्रस्तुत गरे । ‘सहर र ग्रामीण क्षेत्रमा १.१ करोडभन्दा बढी थप रोजगारी सिर्जना गरिनेछ । उपभोक्ता मूल्यवृद्धिदर लगभग ३ प्रतिशतमा राखिनेछ । खाद्यान्न उत्पादन परिमाण ६.५ खर्ब किलोभन्दा बढी पुर्‍याइनेछ,’ उनले भने । सन् २०२० आकस्मिक रूपमा देखिएको कोभिड महामारी, विश्व अर्थतन्त्रको मन्दीलगायत कारक तत्त्वका बीच चीनले महामारी नियन्त्रणमा हासिल गरेको उपलब्धि र जनजीवनका विविध क्षेत्रमा प्राप्त सफलता तुलनात्मक राम्रो रहेको प्रधानमन्त्री खछ्याङले दाबी गरे । ‘विश्वका मुख्य आर्थिक एकाइमध्ये चीन मात्रै आर्थिक वृद्धि गर्ने, गरिबीविरुद्धको लडाइँमा पूर्णतः विजयी हुने र सम्पन्न समाजको चौतर्फी निर्माणमा निर्णायक उपलब्धि हासिल गर्ने मुलुक हो,’ उनले भने । दुवै अधिवेशनको उद्घाटन समारोहमा सहभागी बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेका अनुसार गरिबी निवारण, कोभिड नियन्त्रण, सी चिनफिङ विचारधारामा आधारित शान्ति र विकासका लागि ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतका परियोजनालाई चीनले द्रुत गतिमा अघि बढाएको छ । विश्व बजारमा चिनियाँ सामानको गुणस्तर उकास्ने विषयमा केन्द्रित भएको चीनले बीआरआईअन्तर्गत सबैजसो महादेश र क्षेत्रमा कनेक्टिभिटीको लक्ष्य राखेको छ । जसलाई ‘डिजिटल डिप्लोमेसी’ मा प्रवेश गरेको रूपमा बुझ्न सकिने पाण्डेको बुझाइ छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई अगाडि बढाउने ढंगले चीन अघि बढ्दै छ, चिनियाँ सहयोग लिने हो भने हामीले आफैंले अग्रसरता लिनुपर्छ । नत्र चीनले दिएर पनि हामी लिन नसक्ने अवस्थामा पुग्छौं,’ उनले भने ।

छिमेकी मुलुकहरूसँग शान्तिपूर्ण सहकार्य गर्दै विकास निर्माणमा केन्द्रित हुने चिनियाँ नीति बुझ्ने हो भने नेपालसहित छिमेकी मुलुकले अर्थतन्त्रको निर्माणमा व्यापक सुधार गर्न सक्ने पाण्डेले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?