कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन सातापछि रसुवागढीबाट भित्रिए सात कन्टेनर

बलराम घिमिरे

रसुवा — चिनियाँ ल्होसार पर्वका कारण ठप्प भएको रसुवागढी नाकाबाट सामान आयात सुरु भएको छ । माघ २९ देखि आयात रोकिएकोमा शुक्रबार बिहान सामान भित्रिएको हो ।

तीन सातापछि रसुवागढीबाट भित्रिए सात कन्टेनर

सातवटा चिनियाँ कन्टेनरले सामान ल्याएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले कान्तिपुरलाई बताए । उनका अनुसार मेसिन, फर्निचर र अन्य रेडिमेड सामग्री ल्याइएका छन् । ‘नाकाबाट यसअघि दैनिक ५ कन्टेनर सामान आइरहेकोमा शुक्रबार दुई कन्टेनर थपिएका हुन्,’ उनले भने, ‘आगामी दिन आयात अझ बढ्न सक्ने जानकारी चिनियाँ भन्सारका अधिकारीले दिएका छन् ।’

एक वर्षयता रसुवागढी नाकाबाट आयात–निर्यात पटकपटक प्रभावित हुँदै आएको छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात बन्द भएको थियो । पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि नाका ठप्प पारिएको थियो ।

नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको तेह्र महिना भइसकेको छ । अगस्टदेखिनै सयौं कन्टेनर सामान केरुङभन्दा माथि ल्हासा, न्यालम धिङ्ग्री, सिगात्सेलगायत स्थानका गोदाममै थन्किएको व्यापारीले बताएका छन् । केरुङमा नेपालीका १८ वटा खाली कन्टेनर रोकिएका छन् ।

नाका प्रभावित भए पछि सामान आयात पनि घटेको छ । चालू आर्थिक वर्षको ७ महिनामा रसुवा भन्सार कार्यालयले लक्ष्यको १७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर साउनदेखि माघसम्म २ अर्ब ३ करोड ४८ लाख ३२ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?