३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सुरक्षा संकेत नराख्दै कान्ति लोकपथमा चले सवारी

सडक बनिनसक्दै सवारी चल्दा दुर्घटना बढेको मात्र छैन, विस्तारको काममा पनि बाधा पुगेको छ
प्रशान्त माली

ललितपुर — लकडाउनका बेला चापागाउँबाट घर फर्किंदै गर्दा कान्ति लोकपथअन्तर्गत ललितपुर खण्डको झाँक्रीडाँडा क्षेत्रमा भीरबाट खसेर दुई जना साइकल यात्रीको मृत्यु भयो । यी दुईको मृत्यु पछिल्लो घटना मात्र हो, निर्माणाधीन सडकमा यसरी सवारी दुर्घटना परेर घाइते हुने अरू पनि धेरै छन् ।

सुरक्षा संकेत नराख्दै कान्ति लोकपथमा चले सवारी

सडक खण्डको छेपली र भालु खोलामा ठूलो पहिरो छ । नयाँगाउँ, बगुवा, रातो भीड, काल्चेमा पनि डरलाग्दो पहिरो छ । यस क्षेत्रमा सडक चौडा गर्न पनि बाँकी छ । सडक सुरक्षाका लागि सबै ठाउँमा बार राखिएका छैनन् । खतराको संकेत गर्ने ट्राफिक चिह्न र रोड पेन्टिङ गर्न पनि बाँकी छ ।

यस्तो जोखिमयुक्त सडकमा यात्रु बोक्ने भाडाका सुमो गाडी भने निर्बाध चलिरहेका छन् । भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन बन्द भएसँगै कान्ति लोकपथ भएर सुमो चल्न थालेका हुन् । फर्पिङ हुँदै चल्ने सडकमा ढलान सेट हुन समय लाग्ने र अत्यधिक सवारी चापले निर्माणमा बाधा पुग्ने भन्दै वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले माघ १० देखि दुई महिनाका लागि सडक बन्द गर्ने निर्णय गरेको छ ।

भीमफेदी–देउराली सडक मोतीदान/रायमाझी जेभी र देउराली–कुलेखानी खण्ड मोतीदान/एस बीएले काम गर्दै छन् । सडक निर्माणाधीन अवस्थामा रहेका बेला सवारी दुर्घटना भए आफूहरू जिम्मेवार नहुने कान्ति लोकपथ योजनाका इन्जिनियर दीपेश रजक बताउँछन् । ‘बगुवा–काल्चे र झाँक्रीडाँडा–भालुखोला खण्डमा डरलाग्दो भीर छ । त्यसमाथि जथाभावी खनिएका सहायक सडकले दुर्घटनाको जोखिम उत्तिकै छ,’ उनले भने, ‘हस्तान्तरण हुन पनि बाँकी छ ।’

तीन वर्षअघिको दसैंमा लोकपथ उद्घाटन गर्ने लक्ष्य थियो । योजनाको तथ्यांक हेर्दा ठेकेदार कम्पनीको कमजोरीका कारण ढिलाइ हुँदै आएको देखिन्छ । २०७२/७३ मा सडक स्तरोन्नतिका लागि १८ करोड ५० लाख ६९ हजारमा ठेक्का पाएको अमर कन्स्ट्रक्सन, १७ करोड १ लाख ८४ हजारमा ठेक्का पाएको बिरुवा/एसएल सुनकोसी जेभी र १४ करोड ६६ लाख ४९ हजारमा ठेक्का पाएको एसबीए निर्माण सेवाले पाँच वर्षसम्म पनि काम सकेका छैनन् ।

योजनाको बेरुजु मात्रै २०७४/७५ मा ४ करोड ८३ लाख ६८ हजार र २०७५/७६ मा ४ करोड ६० लाख ४३ हजार छ । तैपनि बद्मासी गर्ने कम्पनीलाई योजनाका कर्मचारीले कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । योजनाका इन्जिनियर रजकले भने बेरुजु फर्छ्योट गर्ने क्रममै रहेको दाबी गरे ।

‘नियतवश काम नगर्ने कम्पनीलाई ताकेता गरेका छौं,’ उनले भने, ‘कोभिड–१९ ले पनि काममा बाधा पुग्यो ।’ मकवानपुरको सिमाट घुम्ती–आलेभन्ज्याङ नौ किमि सडक स्तरोन्नति २०७५ असारमा सक्ने गरी २०७३ सालमा २१ करोड २७ लाख ६४ हजारमा ठेक्का पाएको एमएस अमर कन्स्ट्रक्सनले पनि अझै काम सकेको छैन । ललितपुरको काल्चे–देवीसाद सात किमि सडक दुई वर्षभित्र स्तरोन्नति गर्न २०७३ साउनमा १९ करोड ३९ लाख ८३ हजारमा ठेक्का पाएको एमएस बिरुवा/एसएल सुनकोसी जेभी, बगुवा–टीकाभैरव २८ किमि सडकको १९ करोड ३२ लाख ५ हजारमा ठेक्का पाएका एमएस सूर्य/वाइबा जेभी, मकवानपुर खण्डको सडकमा क्रस ड्रेनेज र पर्खाल लगाउन २०७५ फागुनमा दुई वर्षमा सक्ने गरी ११ करोड ४३ लाख ५३ हजारमा ठेक्का पाएको एमएस नागार्जुन/सर्वशक्ति जेभी, मकवानपुर बुद्धचोक–ललितपुर टीकाभैरव ७९ किमि सडक सुरक्षासम्बन्धी काम दुई वर्षभित्र सक्ने गरी २०७३ असारमा १५ करोड २६ लाख ३० हजारमा ठेक्का पाएको एमएस एसबीए निर्माण सेवाले पनि काम सकेका छैनन् ।

ठेकेदार कम्पनी एमएस अमर कन्स्ट्रक्सनले १३ करोड ३० लाख, एमएस बिरुवा/एसएल सुनकोसी जेभीले १० करोड ४३ लाख ५६ हजार, एमएस सूर्य/वाइबा जेभीले ९ करोड १ लाख १६ हजार, एमएस नागार्जुन/सर्वशक्ति जेभीले ६ करोड ५० लाख ३७ हजार र एमएस एसबीए निर्माण सेवाले १३ करोड १० लाख ९८ हजार भुक्तानी लिइसकेका छन् । योजना सञ्चालन भएदेखि हालसम्म ३ अर्ब ३३ करोड १० लाख २० हजार बजेट विनियोजन भइसकेको छ ।

यता ठेकेदार कम्पनी एमएस बिरुवाका सञ्चालक भगीरथ तिमिल्सिनाले भने आफ्नो कम्पनीले २०७३ मा दुई वर्षभित्र कालोपत्र मात्र गर्ने गरी ठेक्का पाएको बताए । ‘सडक विस्तार गर्ने ठेक्का अर्को कम्पनीले २०७५ मा बल्ल पायो । हाम्रो ठेक्का अवधि सकिने बेला अर्को कम्पनीको काम बल्ल काम सुरु भयो,’ उनले भने, ‘सडक विस्तार नहुन्जेल पर्खिनुपर्ने भयो । त्यसैले काममा ढिलाइ भएको हो । हाम्रो कमजोरीले होइन ।’

हेटौंडालाई काठमाडौं उपत्यकासँग जोड्ने छोटो अनि भरपर्दो वैकल्पिक मार्गका रूपमा रहेको सडक विस्तार गर्न २०५९ मा कोरियन सरकारको सहयोगमा डीपीआर तयार भएको हो । ट्र्याक भने सेनाले खोलिसकेको छ । मकवानपुर खण्डमा ५१ किमि र ललितपुर खण्डमा २८ किमि सडक पर्दछ । प्रारम्भ विन्दु हटौंडाको बुद्धचोक र समाप्त विन्दु ललितपुरको टीकाभैरव हो ।

प्रकाशित : फाल्गुन २१, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?