कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरपालिकासँग विश्व बैंकको अनुदान सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व बैंकको साढे १७ अर्ब रुपैयाँ ऋण सहयोगमा सञ्चालनमा आएको नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले मुलुकभरका ३३ नगरपालिकालाई सहयोग कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ ।

नगरपालिकासँग विश्व बैंकको अनुदान सम्झौता

दिगो सहरी विकासको प्रवर्द्धन गर्दै नेपालका रणनीतिक माध्यमिक सहरमा कोभिड–१९ पछि सहयोग पुर्‍याउने उद्देश्यले २९ नगरपालिकालाई ससर्त अनुदान र थप चार नगरपालिकालाई क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने आयोजनाले जनाएको छ ।

२९ वटै नगरपालिकाका प्रमुखसँग बिहीबार र शुक्रबार ससर्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुँदै छ । पहिलो दिन बिहीबार १२ वटा नगरपालिकाका मेयरसँग सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार १७ वटा नगरपालिकासँग सम्झौता हुनेछ । आयोजनाले नेपालका सातै प्रदेशका अतिरिक्त १२ नगरपालिकालाई समेत सहयोग पुर्‍याउने जनाएको छ ।

थप चार वटा नगरपालिकालाई पनि क्षमता अभिवृद्धिमा सघाउने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले जानकारी दिए । हस्ताक्षर कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक प्याकुरेल, उपमहानिर्देशक कुमार घिमिरे, दिलीप भण्डारी, सुरेन्द्रमोहन श्रेष्ठ तथा आयोजना निर्देशक परीक्षित कडरियालगायतको उपस्थिति थियो ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?