२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रसारण लाइन नबन्दा विद्युत खेर गयो

टीकाप्रसाद भट्ट

रामेछाप — प्रसारण लाइन नबन्दा रामेछापको गोकुलगंगा गाउँपालिका-१ चुचरेमा निर्माण सम्पन्न भएका दुईवटा विद्युत आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको छ । मासिक झण्डै ६ करोड रुपैयाँको बिजुली प्रसारण लाइन नबन्दा खेर गइरहेको हो ।  

प्रसारण लाइन नबन्दा विद्युत खेर गयो

हिमालय ऊर्जा कम्पनीको लगानीमा दोलखा र रामेछापको सिमामा निर्माण भएको माथिल्लो खिम्ती ७ मेघावाट र उपल्लो खिम्तीबाट १२ मेघावाट गरी कूल १९ मेघावाट विद्युत उत्पादन भई परीक्षण पूरा भएको छ । ‘हामीले बिजुली निकालेर झिलीमिली बनाइसकेका छौं,’ कम्पनीका संस्थापक निर्देशक सरोजकुमार उपाध्यायले भने,‘केन्द्रीय ग्रीडमा जोड्न प्राधिकरणले प्रसारण लाइन बनाएन, हाम्रो बिजुली खोलामा बगेर गयो ।’

उपल्लो खिम्ती ३ महिनाअघि परीक्षण गरिएको हो भने माथिल्लो खिम्ती परीक्षण भएको ३ साता बितेको छ । दुवै आयोजनाको गरी हालसम्म आयोजनालाई ६ करोड आर्जन हुने बिजुली खेर गइसकेको उपाध्यायले बताए ।

नेपाल विद्युत प्राधिकरणले चुचुरेको गर्जाङमा सब–स्टेसन निर्माण गरी १ सय ३२ केभी प्रसारण लाइन मार्फत न्यू खिम्ती सब स्टेसनमा विद्युत जोड्ने गरी काम गर्दैछ । प्रसारण लाइनको काम गर्ने जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले भनेको समयमा विद्युत टावरका सामान दिन नसक्दा प्रसारण लाइनको काम बारम्बार प्रभावित हुँदै आएको आयोजनाले जनाएको छ ।

उपाध्यायका अनुसार गर्जाङदेखि न्यू खिम्तीसम्मको ३३ किलोमिटर प्रसारण लाइनमा १ सय ५ वटा टावर निर्माण गरी तार टाँग्नु पर्नेमा हालसम्म ७५ वटा टावर मात्र ठडिएका छन् । बनाइएका टावरमा समेत सबै काम पूरा गर्नका लागि सामाग्रीको अभाव छ । काम पूरा नभएका टावरमा तार टाँग्नु हुँदैन । त्यसैले कुनैपनि टावरबाट तार टाँगिएकै छैन । उक्त आयोजनामा उत्पादित विद्युत अन्य प्रसारण लाइनमा जोड्न सक्ने वैकल्पिक अवस्था हाललाई छैन ।

कम्पनीले आवश्यक सामाग्री दिएर धमाधम काम हुँदा प्रसारण लाइनको काम पूरा गर्नका लागि अझै ३ महिना लाग्ने उपाध्यायले बताए । उनी भन्छन्,'त्यसबेलासम्म हाम्रो झण्डै ७८ करोड रुपैयाँ आर्जन हुने बिजुली खोलामा बगिसक्छ । न्यून दरमा ठेक्का पाएको चिनियाँ ठेकेदारले त्यस बेला सम्म पनि प्रसारण लाइनको काम सक्ने कुरामा आयोजनाका लगानीकर्ताहरु शंका गरिरहेका छन् ।'

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता बमोजिम सब–स्टेसन र प्रसारण लाइनको काम प्राधिकरणले बनाउनुपर्ने भएपनि नबनाएको उनले बताए । ‘हामीलाई प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने हो,’ उपाध्यायले भने ।

करिब ३ अर्ब १५ करोड रुपैयाँमा आयोजनाहरु पुरा भएका हुन् ।

प्रकाशित : फाल्गुन १९, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?