३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उत्तरी नाकाबाट पहिलो पटक ४ हजार टन मल ल्याइँदै

असार मसान्तसम्म किसानलाई मल नपाइने समस्या हुँदैन : कृषि मन्त्रालय
विमल खतिवडा

काठमाडौँ — सरकारले पहिलो पटक चीनको उत्तरी नाकाबाट युरिया मल ल्याउने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत तातोपानी नाका हुँदै चार हजार टन मल काठमाडौं ल्याउन लागिएको हो । चीनको सिगात्सेमा मल ल्याएर राख्न सुरु गरिएको मल ल्याउने ठेक्का पाएको कम्पनी सिल्क मार्केटले जनाएको छ । उक्त स्थानमा संकलन गरेर मल तातोपानी सुक्खा बन्दरगाहमा ल्याई राखिनेछ ।

उत्तरी नाकाबाट पहिलो पटक ४ हजार टन मल ल्याइँदै

बंगलादेशबाट ल्याउने भनिएको मल पनि कोलकाता आइपुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जीसीले बताए । सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट ल्याइएको उक्त मल केही दिनमा नेपाल आइपुग्ने उनले जानकारी दिए । ‘तर चीनबाट अहिलेसम्म जति पनि मल आयात गरेका थियौं, सबै दक्षिणी नाकाबाट मात्र ल्याइन्थ्यो,’ उनले भने, ‘चीनबाट आउने मल पनि कोलकाता भएर आउँथ्यो, अहिलेसम्म उत्तरी नाका प्रयोग गरिएको थिएन ।’ पहिलो पटक परीक्षणका रूपमा उत्तरी नाकाबाट मल ल्याउन सुरु गरिएको हो । ‘कोलकाताको ट्रान्जिट र वीरगन्ज, भैरहवामा पनि हुने भन्सार आदिमा हुने समस्याका कारण अप्ठ्यारो भइरहेको थियो,’ उनले भने, ‘यस्तो अवस्थामा किन उत्तरी नाका प्रयोग नगर्ने भनेर दुवै नाका चलाउन खोजिएको हो ।’

परीक्षणका रूपमा प्रयोग गर्न लागिएको यो काम सफल भए आगामी आर्थिक वर्षबाट थप परिमाण बढाउँदै लग्ने तयारी छ । चार हजार टन युरिया साल्ट ट्रेनिङ र पाँच हजार टन डीएपी मल कृषी सामग्री केन्द्रमार्फत ल्याउन भन्दै टेन्डर गरिएको थियो । कृषि सामग्रीबाट ल्याउने भनिएको डीएपी मलका लागि टेन्डर नै नपरेको जीसीले बताए । साल्ट ट्रेडिङमार्फत भएको टेन्डरबाट सिल्क मार्केटले मल ल्याइरहेको छ । ‘मलको समस्या अहिले छैन, आइरहेको पनि छ,’ उनले भने, ‘तर अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले भविष्यमा समस्या हुन्छ कि भन्ने डर भने छ ।’ चालु आर्थिक वर्षलाई जति मल आवश्यक पर्छ, मौज्दात रहेको उनले बताए । गत वर्षभरमा जति मल आयात गरिएको थियो, त्यति परिमाणको मल आयात भइसकेको जीसीले जानकारी दिए । ‘अझै त्यति नै परिमाणको मल आउने क्रममै छ,’ उनले भने ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म मलको समस्या नहुने उनले बताए । उत्तरी नाकाबाट मल ल्याउन सिल्क मार्केटसँग सन् २०२० नोभेम्बर ११ मा टेन्टर गरिएको थियो । शनिबारसम्म तातोपानी सुक्खा बन्दरगाहमा मल आइपुग्ने सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाको भनाइ छ । ‘अहिले सिगात्सेमा संकलन गरिँदै छ,’ उनले भने, ‘१५ देखि २० दिनभित्र सबै मल काठमाडौं ल्याइसक्छौं ।’ सिगात्सेबाट बुधबार तातोपानीका लागि मल हिँड्ने उनले जानकारी दिए । किसानलाई चाहिने बेलामा बर्सेनि मल हाहाकार हुने गरेको छ । किसानले सहज रूपमा कहिल्यै मल पाउने गरेका छैनन् । तर चालु आर्थिक वर्षको असार मसान्तसम्म मलको कुनै समस्या नहुने कृषि मन्त्रालयको दाबी छ । सबैभन्दा बढी कष्ट किसानले गत जेठदेखि भदौसम्म भोग्नुपर्‍यो ।

एकातिर कोभिडको महामारी, अर्कोतिर खेतीमा लगाउने बेला मल नहुँदा कोभिडको बेवास्ता गर्दै मल लिन सहकारीमा किसान दिनभर लाइन बस्न बाध्य बने । त्यति हुँदा पनि कतिपय किसान रित्तो हात घर फर्किन बाध्य भए । कृषि सामग्री लिमिटेडमार्फत शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल ल्याउने ठेक्का पाएका थिए । तर दुवै कम्पनीले आफूले ठेक्का पाएको २५–२५ हजार टन रासायनिक मल समयसीमामा ल्याउन सकेनन् । अन्ततः कृषि सामग्रीले दुवै कम्पनीसँग ठेक्का सम्झौता तोड्नुपरेको थियो ।

प्रकाशित : फाल्गुन १९, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?