पूर्वी नाकाबाट बढ्यो निर्यात

कान्तिपुर संवाददाता

काँकडभिट्टा — पूर्वी नाकाबाट नेपाली वस्तुको निर्यात व्यापार उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म आठ महिनामा ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।

पूर्वी नाकाबाट बढ्यो निर्यात

गत वर्ष सोही अवधिमा ६ अर्ब ५७ करोडको वस्तु निर्यात भएको थियो । ‘यो वर्ष १ अर्ब ३९ करोड बढीको सामान निर्यात भयो,’ प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भने, ‘यसलाई ठूलो उपलब्धि मानेका छौं ।’

यस अवधिमा आयात भने स्वात्तै घटेको छ । चालु आर्थिक वर्षमा २४ अर्ब ११ करोडको वस्तु भारत, बंगलादेश, भुटान, चीन तथा तेस्रो मुलुकबाट आएको भन्सार कार्यालयको तथ्यांक छ । अघिल्लो वर्ष यही अवधिमा २८ अर्ब ६५ करोडको वस्तु आयात भएको थियो । ‘साढे ४ अर्ब रुपैयाँभन्दा बढी मूल्यले आयात घटेको छ,’ विश्वकर्माले भने, ‘आयात घट्नु र निर्यात बढ्दै जानु सुखद संकेत हो ।’

भन्सारको राजस्व असुलीमा भने खास असर परेको छैन । गत वर्षभन्दा ८९ करोड बढी राजस्व असुली भएको छ । गत वर्ष साउनदेखि माघसम्म ६ अर्ब १ करोडभन्दा बढी राजस्व उठेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने ६ अर्ब ९० करोड राजस्व असुली भएको छ । खासगरी नेपालका कृषिजन्य उत्पादनको निर्यात यो अवधिमा अत्यधिक बढेको भन्सार कार्यालयले बताएको छ । गत वर्ष साउनदेखि माघभित्र १ अर्ब ४७ करोड ७० लाखभन्दा बढीको अलैंची निर्यात भएको थियो । यो वर्ष लकडाउन र कोरोना कहर जारी रहे पनि झन्डै तेब्बर अर्थात् ४ अर्ब २२ करोड ७१ लाखभन्दा बढी मूल्यको अलैंची निर्यात भयो । चिया गत वर्ष १ अर्ब ६३ करोडको सीटीसी चिया निर्यात भएको थियो । यसपटक झन्डै दोब्बर अर्थात् २ अर्ब ५७ करोड ९४ लाखभन्दा बढीको चिया निर्यात भयो । अम्रिसो (कुचो) गत वर्ष २२ करोड ६७ लाखभन्दा बढीको निर्यात भएको थियो । यस पटक ३४ करोड ८७ लाखभन्दा बढीको निर्यात भयो ।

अदुवा गत वर्ष करिब साढे १४ करोडको अदुवा निर्यात भएको थियो । यसपटक पौने १९ करोडको निर्यात भयो । गत वर्ष करिब साढे ३ करोडको बन्दागोभी निर्यात हुँदा यस पटक झन्डै साढे ४ करोडको निर्यात भयो । यो वर्ष पहिलो पटक तिलको पिना निर्यात भयो । ५ करोड रुपैयाँभन्दा बढीको पिना बंगलादेश निर्यात भएको हो । कोरोना संक्रमणका कारण बंगलादेश निर्यातमा समस्या भएको थियो । जसका कारण बंगलादेश निर्यात हुने मुख्य वस्तु मुसुरोको निर्यात ह्वात्तै घट्यो । गत वर्ष झन्डै साढे ८३ करोडको मुसुरो निर्यात भएको थियो । यसपटक आधाभन्दा कम अर्थात् २५ करोडको मात्रै निर्यात भयो ।


प्रकाशित : फाल्गुन १९, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?