नेपाली गाउँमा भारतको सिमकार्ड

नेपाल टेलिकमको टावर बने पनि खल्ला, टुँडिखेल र मुसेट्टी गाउँमा भारतीय सिमकै भर पर्नुपर्छ
दिनेश रेग्मी, भवानी भट्ट

ब्रह्मदेव (कञ्चनपुर) — गत असारमा भीमदत्त नगरपालिका–९ खल्ला गाउँमा बिजुलीको तार टाँग्ने क्रममा पोल भाँचियो । २५ वर्षीय रोहित लुहार गम्भीर घाइते भए । एम्बुलेन्स चालकसँग ढिलो मात्रै फोन सम्पर्क हुन सक्यो, जसका कारण उपचारमा ढिलाइ हुँदा उनको अस्पताल पुग्नेबित्तिकै ज्यान गयो ।

नेपाली गाउँमा भारतको सिमकार्ड

सदरमुकाम महेन्द्रनगर बजारबाट १८ किमि उत्तर–पश्चिममा पर्छ, खल्ला गाउँ । स्थानीय बैजनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक वीरबहादुर विकले नियमितजसो नगर शिक्षा शाखामा सम्पर्क गरिराख्नुपर्छ । तर खल्लामा कुनै पनि नेपाली दूरसञ्चार प्रदायक कम्पनीको सेवा उपलब्ध छैन । त्यसैले भारतीय सिमकार्ड प्रयोग गर्नुको विकल्प छैन । उनका अनुसार भारतीय सिम प्रयोग गरी नेपाली मोबाइल नम्बरमा फोन गर्दा प्रतिमिनेट १८ रुपैयाँ जति लाग्छ । ‘शिक्षा विकास तथा समन्वय इकाइ र नगरपालिकाको सामाजिक विकास समितिका पदाधिकारीहरूले तपाईलाईं फोन कन्ट्याक्ट नै हुँदैन भनेर गाली गर्छन्,’ प्रधानाध्यापक विकले पीडा सुनाए, ‘कुनै सूचना र सेवासुविधाबारे थाहा पाउन सातादस दिन कुर्नुपर्छ, कुनै सूचना त म्याद गुज्रिएपछि मात्र थाहा हुन्छ ।’

६ महिनाअघि विकले बुबाको निधनको खबर आफन्तलाई सुनाउन पनि उस्तै सास्ती खेप्नुपर्‍यो । ‘धनगढीमा बुबा बित्नुभयो, आफन्तलाई त्यहाँबाट त नेपाली नम्बरबाटै खबर गर्‍यौं,’ हाल बरखीमै रहेका विकले कान्तिपुरसँग भने, ‘तर जब घर आयौं, त्यसपछि फोनै लागेन, असाध्यै कष्ट भोग्नुपर्‍यो अनि भारतीय नम्बरबाटै फोन गर्‍यौं ।’

भीमदत्त–९ स्थित खल्ला, टुँडीखेल र मुसेट्टीमा साढे चार सयभन्दा बढी घरपरिवार बस्छन् । यी तीन गाउँमा नेपाली सिमकार्डले काम गर्दैन । उनीहरूलाई भारतीय सिमकार्ड अनिवार्यजस्तै छ । नेपाली सिमकार्ड प्रयोग गर्न बस्तीबाट करिब १५ मिनेट हिँडेर महाकाली नदीको भंगालोतिर या ब्रह्मदेव बजार नै झर्नुपर्छ । कोरोना महामारीका कारण झन्डै एक वर्षदेखि नाका बन्द रहँदा रिचार्ज कार्ड अभावमा भारतीय सिम प्रयोग गर्नसमेत अप्ठ्यारो भएको स्थानीय बताउँछन् ।

खल्ला र मुसेट्टीमा गत पुसदेखि विद्युत् सेवा पुगेको छ । दुवै गाउँको बीचमा पर्ने टुँडीखेलमा नेपाल टेलिकमको टावर भए पनि सञ्चालनमा आएको छैन । उक्त टावरअगाडि नै घर भएका ५५ वर्षीय हीरा दमाईलाई टावर हुनु र नहुनु एकै छ । ‘टावर बनेको त छ तर चलेको छैन, यहाँ इन्डियन मोबाइल मात्रै चल्छ,’ उनले भने, ‘इन्डियाको गेट (सीमा) बन्द हुँदा रिचार्ज कार्ड किन्न नपाइएकाले त्यही फोन चलाउन पनि गाह्रो भइरहेको छ ।’

विद्यालय, स्वास्थ्यचौकी तथा गत असोजमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) पनि भारतीय सिमकार्डमै निर्भर छन् । यहाँ २२ जना सशस्त्र प्रहरी खटिएका छन् । नेपाली सिमकार्डले काम नगर्ने भएकाले बीओपीको साइनबोर्डमा समेत सम्पर्क नम्बर खाली छाडिएको छ ।

फागुनभित्र टुँडीखेलको टावर सञ्चालनमा आउने नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख रूपसिंह रावलले बताए । अप्टिकल फाइबर बिछ्याउने काम भइरहेकाले छिट्टै खल्ला क्षेत्रमा पनि नेटवर्क विस्तार हुने उनको भनाइ छ । ‘टावर सञ्चालनमा आएपछि खल्ला र टुँडीखेलमा नेटवर्क टिप्छ । तर मुसेट्टीमा नटिप्न पनि सक्छ, यसबारे अहिल्यै भन्न सकिन्न,’ उनले भने । मोबाइल प्रयोगकर्ता ग्राहकका आधारमा मुसेट्टीमा अर्को टावर निर्माण पनि गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?