३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रहेनन् राणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको आइतबार बिहान निधन भएको छ । ६४ वर्षीय राणाको मेडिसिटी अस्पतालमा मुटुको शल्यक्रिया गरिएको थियो ।

रहेनन् राणा

सिप्रदी कम्पनीका ग्रुप अध्यक्ष राणा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष हुन् । आदित्य बिर्ला ग्रुपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा बसेर राणाले काम गरेका थिए । ‘उहाँले २०४० सालबाट सूर्य नेपालमा काम गर्नुभयो, त्यसपछि कन्सल्टिङ सर्भिस थाल्नुभयो,’ उनीनिकट एक व्यक्तिले भने, ‘२०५४ सालबाट सिप्रदी कम्पनीमा आउनुभयो ।’

उनले सिप्रदीमा सुरुमा उपाध्यक्षका रूपमा काम गरे । सन् २००० मा उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका हुन् । २००९ मा सिप्रदीबाट ग्रुज कम्पनीमा आबद्ध भए । अटोमोबाइल्स क्षेत्रमा राणालाई सफल व्यक्ति मानिन्छ । व्यावसायिक रूपमा अटोमोबाइल्स व्यवसायलाई अगाडि बढाउने काम उनैले गरेको नाडाका आबद्ध व्यक्तिहरू बताउँछन् ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार राणाको निधनले अटोमोबाइल्स क्षेत्रलाई अपूरणीय क्षति भएको छ । ‘नाडालाई अघि बढाउन उहाँले निकै पहलकदमी गर्नुभयो, अटोमोबाइल्स व्यवसायलाई व्यवस्थापन गर्न ठूलो योगदान छ,’ उनले भने । नाडाका सचिव अनुपकुमार बरालले आफ्नो व्यवसायी करियरको पहिलो खम्बा राणा भएको बताए । ‘उहाँको व्यक्तित्वबाट धेरैले धेरै कुरा सिक्ने अवसर पाउनुभयो,’ उनले भने, ‘एउटा व्यक्ति भनेको साधारण व्यक्ति मात्र नभई एउटा सम्पूर्ण इन्स्टिच्युसन हुँदो रैछ भन्ने कुरा मैले उहाँबाटै सिकेको हो ।’ राणाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?