नेप्सेमा झन्डै ८० अंकको गिरावट

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ८० अंकले घटेको छ । यो गिरावटसँगै समग्र नेप्से परिसूचक २ हजार ४ सय ७४.३९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३.१२ प्रतिशत घटेको हो । गत बिहीबार करिब ४५ अंक घटेको नेप्से आइतबार ७९.७४ विन्दुले घटेको हो ।

नेप्सेमा झन्डै ८० अंकको गिरावट

मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै सेयर बजार ओरालो लाग्न थालेको छ । सोही क्रममा गत साता आइतबार र बुधबारबाहेक सबै दिन नेप्से घटेको थियो । गत आइतबार नेप्से ३.६६ अंक र बुधबार १३.०४ अंकले बढेको थियो । तर बजार सोमबार ३२ अंक, मंगलबार २१ अंक र बिहीबार झन्डै ४५ अंकले नेप्से घटेको थियो । यसले सेयर बजारमा बढ्दोभन्दा घट्दो चाप बलियो छ भन्ने देखाउने जानकारहरु बताउँछन् ।

आइतबार बजार खुल्दा नेप्से सामान्य बढे पनि त्यसपछि निरन्तर घटेको थियो । नेप्से घटे पनि बजारमा करिब साढे ८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन करिब ९६ हजार कारोबारबाट २ सय ७ कम्पनीका १ करोड ६० लाख १७ हजार कित्ता बराबर सेयर किनबेच भएका थिए । परिसूचक घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि ३४ खर्ब ०७ अर्ब रुपैयाँ कायम भएको छ ।

होटल्स तथा पर्यटन बाहेकका सबै उपसमूहका परिसूचक आइतबार घटे । नेप्सेले आइतबारदेखि चन्द्रागिरि हिल्सलाई होटल्स तथा पर्यटन समूहमा राखेर कारोबार सुरु गरेको छ । सो दिन होटल्स तथा पर्यटन उपसमूहको परिसूचक ०.५४ प्रतिशत बढेको छ । सो दिन लगानी समूहको परिसूचक सवैभन्दा बढी ४.१३ प्रतिशत घटेको छ । यस्तै बैंकिङ उपुसमूहको परिसूचक २.९६, व्यापारको ०.३८, विकास बैंकको २.८६, जलविद्युत्को ३.३५, वित्त कम्पनीको २.५७, निर्जीवन बिमाको १.३८ र उत्पादन तथा प्रशोधनको ३.५५ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?