‘उपत्यकालाई मेलम्चीले धान्दैन’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘उपत्यकालाई मेलम्चीले धान्दैन’

अहिले मेलम्चीको पानी आएको छैन, पाइप परीक्षण मात्र गरिएको हो : केयूकेएल
विमल खतिवडा

काठमाडौँ — लमजुङका अर्जुन भुजेल काठमाडौं सुकेधारामा कोठा लिएर बस्न थालेको १० वर्षभन्दा बढी भयो । कोठामा बस्दा उनलाई सधैं पानीकै समस्या हुन्छ । त्यसैले पानी आउने दिन कुरेर बस्नुपर्ने बाध्यता छ । साताअघि भने अचानक धारामा अघिपछिभन्दा ठूलो पानी आयो ।

पानी नियमित आएपछि पाँच जनाको उनको परिवार आश्चर्यमा पर्‍यो । ‘काठमाडौं आएर बसेको लामो समय बित्यो,’ उनले भने, ‘अहिलेसम्म यति ठूलो र धेरै पानी आएको थाहा थिएन ।’ पानी लगातार आएपछि उनी मात्र होइन, छिमेकसमेत चकित बने ।

जति बेलै धारामा पानी आएपछि प्रायःले मेलम्चीको पानी आएको लख काटे । पानी धेरै भएपछि केहीले त नालीतिर तर्काइदिए पनि । काठमाडौंमा जीवन गुजार्न जति संघर्ष गर्नुपर्छ, पानी पाउन त्यति नै कठिन छ । यही बेला धारामा कलकल पानी आएपछि उपत्यकाका प्रायः सर्वसाधारण दंग बने । केही दिनअघि कोटेश्वरस्थित सूर्यकोटमा त पाइपबाट फोर्ससहित पानी आयो । घर जलमग्न अनि पाइप भएको सडक हिलाम्मे बन्यो । पर्खाल भत्कियो भन्दै खिचिएको भिडियो सामाजिक सञ्जाल ट्विटर, फेसबुकमा भाइरल बन्न पुग्यो । उच्च फोर्समा पानी आउँदा मेलम्चीबाट आएको भनिए पनि त्यो वास्तविकता नभएको मेलम्ची खानेपानी आयोजनाले प्रस्ट्याएको छ ।

सुरुङ सञ्चालन परीक्षणका लागि पानी हालिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । अहिले पानी सुरुङमै छ । ‘परीक्षण सञ्चालनको एउटा कार्यविधि छ, जसमा दुई महिना परीक्षणको समय लाग्ने उल्लेख छ,’ उनले भने, ‘हरेक अडिट बेसमा सीसी क्यामेरा राखिएको छ, त्यसबाटै पानी कहाँ पुग्यो भनेर हेर्ने गरिन्छ ।’ अहिले अम्बाथानबाट पानी अगाडि बढिरहेको उनको भनाइ छ ।

‘सुन्दरीजलसम्म पानी आइपुग्न परीक्षण थालिएको मितिबाट करिब १७ दिन लाग्नेछ,’ उनले भने, ‘सुरुङले राम्रोसँग काम गर्न सक्छ/सक्दैन भनेर यकिन गर्न समय लाग्नेछ ।’ सुरुङको परीक्षण गत फागुन १० मा गरिएको हो । यसको समय दुई महिनाको हो । यसमा विज्ञहरूले हेरिरहेका छन् । ‘सुरुङले राम्ररी काम गरे यसलाई नियमित रूपमा अगाडि बढाउँदै लगिनेछ,’ पन्तले भने, ‘तर वितरण गर्ने जिम्मेवारी हाम्रो होइन, सुन्दरीजलसम्म पानी ल्याइदिने र प्रशोधन गरिदिने मात्र हो ।’ त्यसपछि पानी थोक वितरण प्रणालीमा जानेछ । उनका अनुसार त्यसपछि मेलम्ची उपआयोजना–२ र काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले बनाएको पाइपलाइनमा पानी पुग्नेछ । पानी ट्यांकीमा जम्मा गरिनेछ । जम्मा भएको पानी वितरण गर्ने कार्यक्रम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को हो ।

‘दुई महिनासम्म सबै कुरा हेरिनेछ,’ उनले भने, ‘विज्ञहरूले सबै हेरेर सुरुङ सञ्चालन गर्न लायक छ भन्ने भयो भने सुन्दरीजलबाट उपलब्ध गराइनेछ ।’ अहिले उपत्यकामा मेलम्चीको पानी आएको कुरा गलत रहेको पन्तको दाबी छ । ‘भर्खर सुरुङमा परीक्षण गर्दै गरेको पानी कसरी काठमाडौं आइपुग्छ,’ उनले भने, ‘मेलम्चीको पानी आयो भनेर गलत प्रचार गरिएको छ, त्यसो होइन ।’

अहिले मेलम्चीको पानी वितरण सञ्जाल परीक्षणको काम भइरहेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए । ‘पानीका लागि बिछ्याइएका पाइपको ज्वाइन्ट ठीक छ/छैन भनेर हेर्न परीक्षण गरिन्छ,’ उनले भने, ‘यसले पानीको प्रेसर थाम्छ/थाम्दैन, त्यो पनि हेरिन्छ ।’ कतै ज्वाइन्टमा फल्ट भए पानी लिकेज भएर निस्किने गरेको उनको भनाइ छ । त्यसलाई पुनः मर्मत गरिनेछ । ‘त्यही उद्देश्यका लागि परीक्षण गरिएको हो,’ उनले भने, ‘मेलम्चीको पानी अहिले आइसकेको छैन ।’ मेलम्चीको पानीका लागि विस्तार गरिएको पाइपको परीक्षण गर्दा पानी आएकाले सबैलाई मेलम्चीको पानी आएको भान भएको उनले जानकारी दिए । पाइप बिछ्याउँदै र बिछ्याइसकेपछि पानी हालेर परीक्षण गर्ने नियम नै हुन्छ । मेलम्चीबाट नै पानी आएपछि त्यसको भोल्युम ठूलो हुने राईको भनाइ छ ।

उपत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर छ । ‘तर ग्राहकको धारामा सुक्खा सिजनमा पनि करिब १० करोड लिटर पानी पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘पहिलो फेजमा मेलम्चीबाट प्राप्त हुने १७ करोड लिटर पानी हो ।’ जुन जोडेर सुक्खा सिजनमा २७ करोड लिटर पानी पुग्नेछ । ‘यसलाई हेर्दा जति माग छ, फुलफिल गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तर पनि प्रतिदिन १७ करोड लिटर पानी थपिँदा यसले पहिलाको भन्दा स्थिति धेरै सहज बनाउनेछ ।’

काठमाडौं, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले मेलम्चीको पानी उपभोग गर्न पाउने राईले बताए । अहिले कतै दिन बिराएर त कतै सातामा मात्र पानी वितरण हुने गरेको छ । मेलम्ची खानेपानी आयोजना २०५५/५६ बाट सुरु भएको हो । राष्ट्रिय गौरवको रूपमा रहेको यो आयोजना आर्थिक वर्ष २०७१/७२ मै सकिनुपर्ने हो । तर अहिलेसम्म निर्माण सकिएको छैन ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

बजेट नहुँदा ४४ मठमन्दिर पुनर्निर्माण हुन सकेनन्

पुनर्निर्माणमा चाहिने रकम अर्बमा छ, विनियोजित रकम भने करोडमा । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ? – दामोदर गौतम, महानिर्देशक, पुरातत्त्व विभाग
विमल खतिवडा

काठमाडौँ — बजेटको स्रोत सुनिश्चित नहुँदा भूकम्पले क्षति पुर्‍याएका ४४ मठमन्दिर पुनर्निर्माणको ठेक्का हुन सकेको छैन । बहुवर्षीय कार्यक्रमका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितता गर्न सिफारिस पठाइएको पुरातत्त्व विभागले बताएको छ । तर स्वीकृत भएर नआउँदा काम रोकिएको हो ।

भूकम्पमा भत्किएको ललितपुरको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर ।  फाइल तस्बिर : बिजु महर्जन/कान्तिपुर

स्रोत सुनिश्चित नभएसम्म ठेक्का गर्न नसकिने विभागका महानिर्देशक दामोदर गौतम बताउँछन् । ‘मठमन्दिरको पुनर्निर्माणमा चाहिने रकम अर्बमा छ, विनियोजित रकम करोडमा छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ?’ अहिले स्रोत सुनिश्चित गरेर काम गर्न नसके बजेटकै कारण भविष्यमा निर्माण रोकिन सक्ने उनको भनाइ छ । ‘अहिले जति छ, त्यति बजेटले काम गरौंला । तर अर्को वर्ष बजेट आउने निश्चित हुनुपर्‍यो,’ गौतमले भने, ‘थोरै बजेटमा काम थाल्दा गुणस्तर र मूल्यवृद्धिका कुरा पनि हुन्छन्, एकै पटक बजेट आउँदा काम गर्न पनि सजिलो हुने थियो ।’

चालु आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेट २६ करोड १५ लाख रुपैयाँ छ । थोरै बजेटमा काम हुन नसक्ने भएकाले विभागले सम्पन्न हुँदासम्म लाग्ने बजेट माग गरेको जनाएको छ । विभागका अनुसार ४४ वटा मठमन्दिरको लागत अनुमान १ अर्ब ६४ करोड २ लाख ४० हजार ७ सय १३ रुपैयाँ छ । ‘अहिलेसम्म कुनै पनि मठमन्दिरको ठेक्का गर्न सकिएको छैन,’ उनले भने, ‘स्रोत सुनिश्चित भए हामीलाई खरिद प्रक्रिया अघि बढाउन सजिलो हुन्थ्यो ।’ उपत्यकाभित्र २७ र बाहिर १७ वटा मठमन्दिरको संरक्षण, पुनर्निर्माण र मर्मत गर्नुपर्नेछ ।

बहुवर्षीय कार्यक्रमका लागि बजेट स्वीकृत भएर आएपछि मात्र ठेक्कामा जान सकिने विभागका प्रवक्ता रामबहादुर कुँवर बताउँछन् । विभागको योजना शाखाका अनुसार सबै योजना पूरा हुन ३ अर्ब रुपैयाँभन्दा बढी लाग्छ । अन्य मठमन्दिरको पनि ठेक्का हुन सकेको छैन । ‘कुनैको पनि काम सुरु भएको छैन,’ योजना शाखाका एक कर्मचारीले भने । विनियोजित बजेट पनि फ्रिज हुने अवस्था आए अन्य काममा खर्च गरिने शाखाले जनाएको छ । ‘गारो लगाउँदै गयो, तर छाना लगाउन पाइएन भने बजेटले रोकिने हुन्छ,’ ती कर्मचारीले भने, ‘केही समय कुर्छौं, आउँदै आएन भने जति बजेट र जति काम हुन्छ, त्यति नै भए पनि गर्छौं ।’ पछि बजेट आए त्यसलाई नियमित गरिने विभागको भनाइ छ ।

धेरैजसो मन्दिर उपत्यकाभित्रकै छन् । आर्थिक वर्ष सकिन धेरै समय बाँकी छैन । ‘चाँडो स्वीकृत भएदेखि ठेक्का प्रक्रियामा जान पनि चाँडो हुने थियो,’ महानिर्देशक गौतमले भने, ‘जति ढिला भयो, काममा पनि त्यति नै सुस्ती आउँछ ।’ भूकम्पले क्षति पुर्‍याएको लामो समयसम्म पनि मन्दिर पुनर्निर्माण नहुँदा पूजापाठको कामसमेत प्रभावित बनेको छ । चहलपहल हुने मन्दिर नै सुनसान छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले पनि पुरातात्त्विक सम्पदा पुनर्निर्माणको काम गर्नुपर्ने प्रोजेक्टको संख्या र विनियोजित बजेटबीचमा तालमेल नमिलेको बताए । ‘४४ वटा मठमन्दिर पुनर्निर्माणका लागि ठूलो रकम चाहिन्छ, चालु आर्थिक वर्षमा विनियोजित बजेटले योजना नसकिने अवस्था छ,’ उनले भने । बर्सेनि काम गरिरहनुपर्ने र बजेट पनि थपिरहनुभन्दा एकै पटक ठेक्का गरेर काम गर्दा सहज हुने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×