सेयरबाट ७ महिनामा सवा खर्ब नाफा

सरकारलाई करस्वरुप  ६ अर्ब ५७ करोड रुपैयाँ प्राप्त
गत आर्थिक वर्षको तुलनामा ५ अर्ब २२ करोड रूपैयाँ बढी कर
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिनामा सेयर बजारबाट लगानीकर्ताले करिब सवा खर्ब रुपैयाँ नाफा कमाएका छन् । यो गत साउनदेखि माघसम्म सेयर कारोबारबाट लगानीकर्ताले कमाएको कुल आम्दानीबाट कर तिरेपछिको रकम हो ।

सेयरबाट ७ महिनामा सवा खर्ब नाफा

चालु आर्थिक वर्षका प्रायः सबै महिना सेयर बजार बढिरहेको छ । बढेको बजारबाट नाफा सुरक्षण (प्रोफिट बुक) गर्ने क्रममा लगानीकर्ताले करिब सवा १ खर्ब रुपैयाँ नाफा कमाउन सफल भएका हुन् । खासगरी लकडाउनपछि खुलेको बजार बुलिस (निरन्तर बढिरहेको) ट्रेन्डमा रहेकाले लगानीकर्ताले राम्रो नाफा आर्जन गर्ने अवसर पाएको जानकारहरू बताउँछन् ।

गत साउनदेखि माघसम्म लगानीकर्ताले सेयर कारोबारमा ५ अर्ब ६६ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यो लगानीकर्ताले सेयर कारोबारमा कमाएको कुल नाफाको औसत ५ प्रतिशत रकम हो । यसका आधारमा सो अवधिमा लगानीकर्ताले करिब सवा १ खर्ब (१ खर्ब १३ अर्ब) रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । उक्त नाफाबाट औसत ५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरिएको छ । सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्छ । संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्यूचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ । यसकारण संस्थागत र व्यक्तिगत लगानीकर्ताले तिरेको करको दरलाई औसत ५ प्रतिशत मानेर यहाँ विश्लेषण गरिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा सेयर कारोबारबाट लगानीकर्ताले करिब १९ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेका थियो । सो अवधिमा पुँजीगत लाभकरबापत लगानीकर्ताले करिब साढे ९८ करोड रुपैयाँ मात्र सरकारलाई बुझाएका थिए । चालु आर्थिक वर्षको सात महिनामा लगानीकर्ताको सम्पत्ति (बजार पुँजीकरण) अघिल्लो वर्षको तुलनामा दोब्बर भएको छ । यसअनुसार गत माघसम्म लगानीकर्ताको कुल सम्पत्तिको बजार मूल्य (कुल बजार पुँजीकरण) ३४ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो पुँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । जबसम्म लगानीकर्ताले नाफा सुरक्षण गर्दैनन्, तबसम्म यो किताबी मूल्यमै रहन्छ । यसकारण उल्लिखित नाफा लगानीकर्ताले सेयर बिक्रीपछि प्राप्त आयबाट कर तिरेपछि बचेको रकम हो ।

बढ्दो बजारको लाभ लगानीकर्ताले मात्र लिइरहेका छैनन् । यसको प्रत्यक्ष लाभ सरकारलाई पनि भइरहेको छ । किनकि सेयर बढेकै कारण चालु आर्थिक वर्षको सात महिनामा लगानीकर्ताले सरकारलाई करिब ६ अर्ब ५७ करोड रुपैयाँ कर तिरेका छन् । आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्ताले पुँजीगत लाभकर र अग्रिम कर भुक्तानी गरी १ अर्ब ३५ करोड रुपैयाँ मात्र तिरेका थिए । गत आर्थिक वर्षमा सेयर बजारमार्फत सरकारले प्राप्त गरेको करको तुलनामा चालु आवको सात महिनासम्मको कर ५ अर्ब २२ करोड रुपैयाँ (३ सय ८५ प्रतिशत) बढी हो । यो अवधिमा सरकारले प्राप्त गरेको पुँजीगत लाभकर र अग्रिम कर कट्टीबापतको कुल रकम हो । अहिले सेयर बजारबाट करमार्फत सरकारलाई गएको रकम हालसम्मकै उच्च हो । अघिल्ला वर्षहरूमा बजारमा सामान्य वृद्धि मात्र रहेकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । यो वर्ष बजार निरन्तर बढिरहेको छ । सोही कारण करबापतको रकम पनि बढेको जानकारहरू बताउँछन् ।

चालु आर्थिक वर्षको सात महिनामा नेप्से परिसूचक थप १ हजार १ सय ६४ अंक बढेको छ । यसअनुसार गत माघसम्म नेप्से परिसूचक २ हजार ५ सय २६.९२ विन्दुमा थियो । गत असार मसान्तमा यो परिसूचक १ हजार ३ सय ६२.३५ अंकमा थियो । सो अवधिमा दैनिक औसत कारोबार पनि उल्लेख्य बढेको छ । गत माघसम्म दोस्रो बजारमा दैनिक औसत कारोबार ४ अर्ब १३ करोड रुपैयाँ छ । गत असार मसान्तमा यस्तो कारोबार ८२ करोड रुपैयाँ थियो ।

हालसम्म करिब २९ लाख ४० हजार ५ सय २१ वटा डिम्याट खाता खुलेका छन् । सेयर बजार निरन्तर बढेसँगै डिम्याट खोल्नेको संख्या पनि बढेको छ, जसअनुसार दोस्रो बजारमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढेको छ । गत आइतबारसम्म ३ लाख ७६ हजार २ सय ६१ जनाले अनलाइन कारोबारका लागि ‘युजरनेम र पासवर्ड’ लिएका छन् । तीमध्ये १ लाख ९५ हजार जनाले सक्रिय रूपमा अनलाइनमार्फत कारोबार गरिरहेको नेप्सेले जनाएको छ । गत भदौ दोस्रो सातासम्म यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजरनेम र पासवर्ड’ लिएका थिए । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो संख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ६ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या तीन लाखभन्दा धेरैले बढेको देखिन्छ । गत आइतबारसम्म दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ५ लाख ५० हजार रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?