साढे ३७ हजारलाई महिला लघुवित्तको आईपीओ

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक निष्कासन (आईपीओ) साढे ३७ हजार जनाले प्राप्त गरेका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार सेयर बाँडफाँट गरेको हो । परेका सबै आवेदकलाई सेयर नपुग्ने भएपछि गोला प्रथाबाट सेयर बाँडफाँट गरिएको थियो । जसमा ३७ हजार ५ सय लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारे । कम्पनीको सेयरमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । यसमध्ये ३ हजार ३ सय ५३ वटा आवेदन रद्द भएको एसबीआई क्यापिटलले जनाएको छ ।

साढे ३७ हजारलाई महिला लघुवित्तको आईपीओ

योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोला प्रथामा समावेश गराई सेयर बाँडफाँट गरिएको हो । आवेदन दिएकामध्ये १५ लाख २ हजार ५ सय ३५ जनाले सेयर पाएका छैनन् । सो कम्पनीको आईपीओमा आवेदन हालसम्मकै धेरै आवेदन परेको थियो । लघुवित्तले गत शुक्रबारदेखि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको चार लाख कित्ता आईपीओका लागि आवेदन आह्वान गरेको थियो ।

सो कम्पनीको सेयर बाँडफाँटको नतिजा महिला लघुवित्त वित्तीय संस्थाको वेबसाइट, नेपाल एसबीआई क्यापिटल र सीडीएस एन्ड क्लियरिङको मेरो सेयरबाट मात्र हेर्न पाइन्छ । यसअघि विभिन्न सञ्चार माध्यमबाट पनि आईपीओको नतिजा हेर्न पाउने व्यवस्था थियो । लगानीकर्ताबाट गोपनीयताका विषयमा प्रश्न उठेसँगै आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाउने व्यवस्था सीडीएस एन्ड क्लियरिङले गरेको हो ।

सीडीएस एन्ड क्लियरिङले बिहीबार मर्चेन्ट बैकरहरूलाई पत्रमार्फत आईपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्रकाशित : फाल्गुन १५, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?