बालुवाडाँडामा प्याराग्लाइडिङ- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बालुवाडाँडामा प्याराग्लाइडिङ

कान्तिपुर संवाददाता

परासी — पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ बालुवाडाँडामा प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ । धेरैजसो पहाडबाट गरिँदै आएको प्याराग्लाइडिङ तराईमा पनि सफल परीक्षण गरिएको हो । यससँगै अब नवलपरासीमा नियमित उडान गर्ने तयारी छ ।

बालुवाडाँडा पर्यटन युवा सञ्जालको अगुवाइमा हालै समुद्री सतहदेखि ९ सय मिटर उचाइको डाँडाबाट उडान गरिएको हो । ‘गाउँका युवा मिलेर पोखरामा प्याराग्लाइडिङ गर्न जाने निधो भयो । एक जना साथीले समथर भूभागमा पनि सुरु गर्न सकिन्छ भन्ने प्रस्ताव राखे,’ सञ्जालका अध्यक्ष उमेश रानाले भने, ‘सुरुवाती चरणमा विश्वास लागेन । तर यसबारे बुझ्दै जाँदा आफ्नै ठाउँमा यो उडान गर्न सकिने प्राविधिक जानकारी पाएपछि अभियान सुरु गरेका थियौं । आज सफल भयौं ।’ दुई सय मिटर उचाइको पोखरी ताल क्षेत्रमा प्याराग्लाइडिङ ल्यान्ड गरिएको थियो ।

पूर्वी नवलपरासीमा तराई र पहाडको भूगोल भएकाले उडान सफल भएको हो । नागरिक उड्यन मन्त्रालयसँग अनुमति लिएर परीक्षण उडान गरिएको र सफल भएकाले अब यसलाई निरन्तरता दिने सञ्जालका सदस्य विमल रानाले जानकारी दिए । परीक्षण उडानका लागि कावासोती नगरपालिकाले सहयोग र समन्वय गरेको छ ।

स्थानीय युवाको योजनालाई नगरपालिकाले सहयोग गरेको छ,’ कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले भने, ‘होमस्टे, जंगल सफारी र पर्यापर्यटन रहेको नगरमा प्याराग्लाइडिङ थपिनुलाई हामीले नगरपालिकाको मात्र नभएर समग्र जिल्लाको पर्यटनमा कोसेढुंगा सावित भएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

सडक सुध्रिएपछि दुर्घटनामा कमी

एक वर्षमै लगभग नौ सय वटासम्म दुर्घटना हुने नारायणगढ–मुग्लिङ सडकमा स्तरवृद्धिपछिको अढाइ वर्षमा ३ सय ४५ वटा मात्रै दुर्घटना
रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिङ सडकको स्तरवृद्धि गरिएसँगै दुर्घटना हुने दर घटेको छ । अत्यधिक दुर्घटना हुने भएका कारण कुनै बेला यो सडकलाई ‘मृत्युमार्ग’ पनि भनिन्थ्यो । कुनै समय एकै वर्षमा लगभग नौ सय वटासम्म दुर्घटना हुने यो सडकमा स्तरवृद्धिपछिको अढाई वर्षमा ३ सय ४५ वटा मात्रै दुर्घटना भएको भरतपुर रामनगरस्थित वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

चितवनको नारायणगढ–मुग्लिङ सडक । तस्बिर : रमेशकुमार/कान्तिपुर

‘सडक फराकिलो र सुरक्षा प्रबन्धको व्यवस्थाले गर्दा अहिले नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना ह्वात्तै घटेको छ,’ उनले भने, ‘दुर्घटनामा मृतक र घाइते हुनेको संख्यामा समेत उल्लेख्य कमी आएको छ ।’

तर समग्र चितवनमा भने दुर्घटनाको दर बढेको छ । कोरोना महामारीका कारण गरिएको लकडाउनमा पनि सवारी दुर्घटनामा कमी नआएको उनको भनाइ छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले नारायणगढ–मुग्लिङ सडक विस्तार हुनुअघिको तीन वर्ष र विस्तारपछिको अढाई वर्षमा भएका दुर्घटनाको संख्या विश्लेषण गरेको छ । एसपी कोइरालाका अनुसार विस्तारअघि २०७२/७३ देखि २०७४/७५ सम्म २ हजार २ सय ६६ वटा साना–ठूला दुर्घटना भएको तथ्यांक छ । यी दुर्घटनामा ४ सय ४२ जनाको मृत्यु र ९ सय ५६ जना घाइते भएका थिए । सडक विस्तारपछि २०७५/७६ देखि चालु आवको पहिलो ६ महिनासम्म ३ सय ४५ वटा दुर्घटना हुँदा ५६ जनाको मृत्यु र १ सय ३१ जना घाइते भएका छन् ।

२०७३/७४ मा ८ सय ९८ दुर्घटना भएका थिए । जसमा १ सय ७० जनाको मृत्यु र ३ सय २ जना घाइते भएका थिए । तर गत साउनदेखि पुससम्ममा दुर्घटना संख्या जम्मा ४४ छ । मृत्यु हुने ४ जना र घाइते हुनेको संख्या १९ छ । ‘जबकि यो अवधिमा अन्य सडकहरूमा दुर्घटना संख्या अघिल्ला वर्षहरूको भन्दा बढेको छ,’ कोइरालाले भने । दुर्घटना बढी हुनुमा सडकको दुरवस्था पनि प्रमुख कारक मानिन्छ । सडकको स्तरवृद्धिसँगै नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना घटेको उनले दाबी गरे ।

‘सडक फराकिलो बनाइएको छ । सुरक्षा मापदण्ड यथेष्ट छन् । त्यसैले पछिल्ला वर्षमा दुर्घटना हुन कम भएको छ । यात्रु र मजदुरसमेत केही ढुक्क छन्,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन चितवनका सचिव दीपक सिलवालले भने । विश्व बैंकको ऋण सहयोगमा नारायणगढ–मुग्लिङ सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको कायम गरिएको छ । २०७१ को अन्तिमदेखि विस्तारको काम सुरु भएकामा सम्पन्न हुन तीन वर्षभन्दा बढी समय लागेको थियो । विस्तारअघि साढे पाँच मिटर चौडा उक्त सडक हाल ९ देखि ११ मिटर फराकिलो छ । ३६ किलोमिटर लम्बाइको सडक विस्तारमा झन्डै ३ अर्ब रुपैयाँ खर्च भएको छ ।

पछिल्लो समय सडक विस्तार र निर्माणमा यथेष्ट सुरक्षा प्रबन्ध हुन थालेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन् । ‘विश्व बैंकको परियोजना भएका कारण सडक सुरक्षालाई लिएर निश्चित मापदण्ड बनाइएको हुन्छ । यसका लागि डिजाइनमै सुरक्षाको प्रत्याभूति दिएर काम सुरु गर्नुपर्ने हुन्छ,’ उनले भने । नदी किनार र भीरपाखा हुँदै जाने सडकमा पर्याप्त सुरक्षा मापदण्डहरू राखेका कारण दुर्घटना कम हुँदै गएको उनले बताए । ‘नदी किनारमा पर्याप्त बार र पर्खाल छन् । मोडहरू मापदण्डअनुरूपको बनाएका छौं । ट्राफिक संकेत यथेष्ट छन् ।

रोड मार्किङ र क्याट आई (सडक सीमामा राखिएका रातमा लाइट पर्दा टल्कने सानो बट्टा) छन्,’ खनालले भने, ‘सडक फराकिलो हुँदा विपरीत दिशाका गाडी ठोक्किने सम्भावना नै कम हुन्छ ।’

सडक सुरक्षा राम्रो भएका कारण गाडीहरूको संख्या बढे पनि दुर्घटना कम भएको उनले दोहोर्‍याए । यो सडकलाई बेला–बेलामा पहिरोले दुःख दिन भने छाडेको छैन । पहिरो नियन्त्रणका काम पनि जारी नै छ । पूर्वाधारका हिसाबले आफूहरूले राम्रो काम गरेको र अब ट्राफिक व्यवस्थापनमा प्रहरी चनाखो भएर काम गरे दुर्घटनाहरू अझै कम गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

‘सडक राम्रो र नराम्रो भए के फरक पर्दछ भन्ने अनुभव नारायणगढ–मुग्लिङ सडकबाट गर्न पाएका छौं,’ यातायात व्यवसायी शंकर गिरीले भने, ‘यो सडक सुध्रिएपछि दुर्घटना कम भयो । पहिरोको जोखिम भने कायमै छ । पुलहरू साँघुरा छन् । संकेत बोर्डहरू पर्याप्त छैनन् । यी सबै कुरा भए दुर्घटनाको संख्या अझै कम हुन्थ्यो ।’

प्रकाशित : फाल्गुन १५, २०७७ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×