सडक सुध्रिएपछि दुर्घटनामा कमी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सडक सुध्रिएपछि दुर्घटनामा कमी

एक वर्षमै लगभग नौ सय वटासम्म दुर्घटना हुने नारायणगढ–मुग्लिङ सडकमा स्तरवृद्धिपछिको अढाइ वर्षमा ३ सय ४५ वटा मात्रै दुर्घटना
रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिङ सडकको स्तरवृद्धि गरिएसँगै दुर्घटना हुने दर घटेको छ । अत्यधिक दुर्घटना हुने भएका कारण कुनै बेला यो सडकलाई ‘मृत्युमार्ग’ पनि भनिन्थ्यो । कुनै समय एकै वर्षमा लगभग नौ सय वटासम्म दुर्घटना हुने यो सडकमा स्तरवृद्धिपछिको अढाई वर्षमा ३ सय ४५ वटा मात्रै दुर्घटना भएको भरतपुर रामनगरस्थित वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

चितवनको नारायणगढ–मुग्लिङ सडक । तस्बिर : रमेशकुमार/कान्तिपुर

‘सडक फराकिलो र सुरक्षा प्रबन्धको व्यवस्थाले गर्दा अहिले नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना ह्वात्तै घटेको छ,’ उनले भने, ‘दुर्घटनामा मृतक र घाइते हुनेको संख्यामा समेत उल्लेख्य कमी आएको छ ।’

तर समग्र चितवनमा भने दुर्घटनाको दर बढेको छ । कोरोना महामारीका कारण गरिएको लकडाउनमा पनि सवारी दुर्घटनामा कमी नआएको उनको भनाइ छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले नारायणगढ–मुग्लिङ सडक विस्तार हुनुअघिको तीन वर्ष र विस्तारपछिको अढाई वर्षमा भएका दुर्घटनाको संख्या विश्लेषण गरेको छ । एसपी कोइरालाका अनुसार विस्तारअघि २०७२/७३ देखि २०७४/७५ सम्म २ हजार २ सय ६६ वटा साना–ठूला दुर्घटना भएको तथ्यांक छ । यी दुर्घटनामा ४ सय ४२ जनाको मृत्यु र ९ सय ५६ जना घाइते भएका थिए । सडक विस्तारपछि २०७५/७६ देखि चालु आवको पहिलो ६ महिनासम्म ३ सय ४५ वटा दुर्घटना हुँदा ५६ जनाको मृत्यु र १ सय ३१ जना घाइते भएका छन् ।

२०७३/७४ मा ८ सय ९८ दुर्घटना भएका थिए । जसमा १ सय ७० जनाको मृत्यु र ३ सय २ जना घाइते भएका थिए । तर गत साउनदेखि पुससम्ममा दुर्घटना संख्या जम्मा ४४ छ । मृत्यु हुने ४ जना र घाइते हुनेको संख्या १९ छ । ‘जबकि यो अवधिमा अन्य सडकहरूमा दुर्घटना संख्या अघिल्ला वर्षहरूको भन्दा बढेको छ,’ कोइरालाले भने । दुर्घटना बढी हुनुमा सडकको दुरवस्था पनि प्रमुख कारक मानिन्छ । सडकको स्तरवृद्धिसँगै नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना घटेको उनले दाबी गरे ।

‘सडक फराकिलो बनाइएको छ । सुरक्षा मापदण्ड यथेष्ट छन् । त्यसैले पछिल्ला वर्षमा दुर्घटना हुन कम भएको छ । यात्रु र मजदुरसमेत केही ढुक्क छन्,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन चितवनका सचिव दीपक सिलवालले भने । विश्व बैंकको ऋण सहयोगमा नारायणगढ–मुग्लिङ सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको कायम गरिएको छ । २०७१ को अन्तिमदेखि विस्तारको काम सुरु भएकामा सम्पन्न हुन तीन वर्षभन्दा बढी समय लागेको थियो । विस्तारअघि साढे पाँच मिटर चौडा उक्त सडक हाल ९ देखि ११ मिटर फराकिलो छ । ३६ किलोमिटर लम्बाइको सडक विस्तारमा झन्डै ३ अर्ब रुपैयाँ खर्च भएको छ ।

पछिल्लो समय सडक विस्तार र निर्माणमा यथेष्ट सुरक्षा प्रबन्ध हुन थालेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन् । ‘विश्व बैंकको परियोजना भएका कारण सडक सुरक्षालाई लिएर निश्चित मापदण्ड बनाइएको हुन्छ । यसका लागि डिजाइनमै सुरक्षाको प्रत्याभूति दिएर काम सुरु गर्नुपर्ने हुन्छ,’ उनले भने । नदी किनार र भीरपाखा हुँदै जाने सडकमा पर्याप्त सुरक्षा मापदण्डहरू राखेका कारण दुर्घटना कम हुँदै गएको उनले बताए । ‘नदी किनारमा पर्याप्त बार र पर्खाल छन् । मोडहरू मापदण्डअनुरूपको बनाएका छौं । ट्राफिक संकेत यथेष्ट छन् ।

रोड मार्किङ र क्याट आई (सडक सीमामा राखिएका रातमा लाइट पर्दा टल्कने सानो बट्टा) छन्,’ खनालले भने, ‘सडक फराकिलो हुँदा विपरीत दिशाका गाडी ठोक्किने सम्भावना नै कम हुन्छ ।’

सडक सुरक्षा राम्रो भएका कारण गाडीहरूको संख्या बढे पनि दुर्घटना कम भएको उनले दोहोर्‍याए । यो सडकलाई बेला–बेलामा पहिरोले दुःख दिन भने छाडेको छैन । पहिरो नियन्त्रणका काम पनि जारी नै छ । पूर्वाधारका हिसाबले आफूहरूले राम्रो काम गरेको र अब ट्राफिक व्यवस्थापनमा प्रहरी चनाखो भएर काम गरे दुर्घटनाहरू अझै कम गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

‘सडक राम्रो र नराम्रो भए के फरक पर्दछ भन्ने अनुभव नारायणगढ–मुग्लिङ सडकबाट गर्न पाएका छौं,’ यातायात व्यवसायी शंकर गिरीले भने, ‘यो सडक सुध्रिएपछि दुर्घटना कम भयो । पहिरोको जोखिम भने कायमै छ । पुलहरू साँघुरा छन् । संकेत बोर्डहरू पर्याप्त छैनन् । यी सबै कुरा भए दुर्घटनाको संख्या अझै कम हुन्थ्यो ।’

प्रकाशित : फाल्गुन १५, २०७७ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

धुमधाम शिलान्यास, लोसे काम

प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मले भव्य रुपमा शिलान्यास गरेका कुनै पनि आयोजना समयमै सकिएका छैनन्, केहीको प्रगति त झन् शून्य छ
विमल खतिवडा

काठमाडौँ — ठूला आयोजनाको शिलान्यास गर्न प्रायः बहालवाला प्रधानमन्त्री आफैं जान तयार हुन्छन् । प्रधानमन्त्री आफैं शिलान्यास गर्न आएपछि कार्यक्रम भव्य बनाइन्छ । यस्तो प्रवृत्ति विगतदेखि वर्तमानसम्मका प्रधानमन्त्रीमा प्रायः देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा निर्माणाधीन भ्यु टावर । शिलान्यास भएको चार वर्ष हुँदा यसको प्रगति २५ प्रतिशत मात्र छ । भ्यु टावर निर्माण भने २०७९ पुससम्म सक्नुपर्नेछ । तस्बिर : पर्वत पोर्तेल/कान्तिपुर

प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि शिलान्यास र उद्घाटनमोह राम्रै छ । प्रधानमन्त्री आफैंले भव्य रूपमा शिलान्यास गरेका आयोजनाको प्रगति भने अति न्यून छ । कतै शिलान्यास भएर काम अघि बढ्न सकेको छैन, कतै निर्माण सम्पन्न भएर पनि आयोजना सञ्चालनमा आउन सकेका छैनन् । केही आयोजनाको शिलान्यास मात्र होइन, उद्घाटन पनि सम्बद्ध विभागीय मन्त्रीले पटकपटक गर्दासमेत सञ्चालनमा आउन सकेका छैनन् ।

करोडौं रुपैयाँ लगानी भएका ठूला संरचना धेरैजसो बेवारिस छन् । तर प्रधानमन्त्री ओली विकास निर्माणसँग सम्बद्ध आयोजना शिलान्यास र उद्घाटन गर्न जहाँ पुग्छन्, त्यहाँ प्रायः रेल, पानीजहाज र सुरुङ युगको सुरुवात भयो भन्न छाड्दैनन् । उनै प्रधानमन्त्री ओली हुन्, जसले २०७५ फागुन २ मा भव्य उद्घाटन गरेको पानीजहाज कार्यालय अहिले गुमनाम छ ।

पानीजहाज सञ्चालनसम्बन्धी कानुन अहिले बन्न सकेको छैन । कार्यालयले आवश्यक कर्मचारीसमेत पाउन सकेको छैन । जसले गर्दा प्रधानमन्त्री ओलीले भन्दै आएको पानीजहाज नेपालमा कहिले चल्छ ? यसको उत्तर कार्यालयलसँग नै छैन । ठूला नदीमा चलिरहेका मोटरबोट नियमन गर्न कानुन नहुँदा जथाभावी रूपमा चलाइएको छ । कुन नदीमा कति मोटरबोट चल्छन् भन्ने तथ्यांक कार्यालयसँग छैन । पानीजहाज सञ्चालनसम्बन्धी ऐन संसद्मा पेस भए पनि पास नभएको कार्यालयका सूचना अधिकारी राजन प्रधान बताउँछन् ।

अहिले संसद् चलेको छैन । जसले गर्दा तत्काल कानुन पास हुने अवस्था छैन । ‘हामीले कानुन आउन ढिलाइ भएपछि सञ्चालनसम्बन्धी कार्यविधि बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गर्‍यौं,’ उनले भने, ‘तर अहिलेसम्म स्वीकृत भएको छैन ।’ कार्यालयले पानीजहाजसम्बन्धी नै काम गर्न चाहिने प्राविधिक कर्मचारी अन्य विभागबाट सरसापट गरे चलाउँदै आएको छ ।

यति मात्र होइन, प्रधानमन्त्री ओलीले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास २०७६ कात्तिकमा गरेका थिए । त्यति बेला मुलुकमा सुरुङयुगको सुरुवात भएको उद्घोष गरे । तर शिलान्यास भएको १४ महिनापछि मात्र सुरुङ निर्माणको काम थालियो । ४२ महिनामा सक्नुपर्ने आयोजनामा बल्ल सुरुङ खन्ने काम हुँदै छ । जग्गाको मुआब्जा र आयोजनामा पर्ने घरटहरा समयमै भत्काउन नसक्दा लामो समयसम्म काम अघि बढ्न सकेन । तयारीबिना हतारमा ठेक्का गरेर शिलान्यास गर्दा कामले गति लिन सकेन । शिलान्यास भएको डेढ वर्ष बित्न लाग्दा आयोजनाको भौतिक प्रगति कति छ ? अहिलेसम्म देखिएको छैन ।

प्रधानमन्त्री ओलीले नै मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा निर्मित एकीकृत तरकारी तथा फलफूल थोक बजारको तामझामसाथ उद्घाटन गरेको दुई वर्ष बित्न लाग्यो । तर अझै सञ्चालनमा आउन सकेको छैन । प्रदेश १ सरकार मातहत सञ्चालन हुने थोक बजार विश्व बैंकको १६ करोड रुपैयाँ आर्थिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बनाएको हो । निर्माण सकिएको सात महिनापछि २०७५ चैत ३ गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पटकपटक सञ्चालन प्रयास गरे पनि व्यवसायीहरू थोक बजारमा जान नचाहेकाले त्यो सम्भव भएन । प्रदेश १ का ३७ वटा सहकारीले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ दर्ता गर्न लगाएर सार्वजनिक सूचना निकाल्दै सञ्चालनका लागि गत माघ ८ मा सम्झौता गरेका छन् । वार्षिक १९ लाख भाडा तिर्ने गरी मन्त्रालयसँग पाँच वर्षका लागि सम्झौता गरेर लिइएको सहकारी संघका अध्यक्ष देवेन्द्र पौडेलले बताए । ‘सम्झौता गरे पनि थोक बजारमा व्यवसायी आउन नचाहेकाले सञ्चालनमा समस्या भएको छ,’ उनले भने, ‘त्यसैले चैतसम्मका लागि निःशुल्क साप्ताहिक हटिया लगाउन सुरु गरेका छौं ।’ प्रधानमन्त्री ओलीले नै २०७५ चैतमा भव्य शिलान्यास गरेको नारायणगढ–बुटवल सडक विस्तारको अहिलेसम्मको भौतिक प्रगति ४ प्रतिशत मात्र छ । प्रधानमन्त्री ओली र तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यसको शिलान्यास गरेका थिए । प्रधानमन्त्री ओलीले शिलान्यासका क्रममा २०८० पछि नेपालमा सुरुङयुग आउने उल्लेख गरेका थिए ।

प्रधानमन्त्रीकै गृहजिल्लामा निर्माण थालिको भ्यु टावरको शिलान्यास भएको चार वर्ष हुँदा पनि प्रगति २५ प्रतिशत मात्र छ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा चिनियाँ कम्पनी जेडसीजीआईईसी र ललितपुरको आशिष ओम साइरामले ठेक्का लिएका हुन् । भ्यु टावर एक सय मिटर आग्लो हुनेछ । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत निर्माण भइरहेको भ्यु टावर निर्माण २०७९ पुससम्म सक्नुपर्नेछ । तर कामको प्रगति सुस्त छ । १८ तलासम्म बन्ने यो भ्यु टावर दृश्यावलोकनभन्दा पनि व्यापारिक प्रयोजनमा प्रयोग हुने कार्यालयका फिल्ड इन्चार्ज भूपेन्द्रकुमार यादवले जानकारी दिए ।

शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली मात्र अघि छैनन् । यसअघिका प्रधानमन्त्री र मन्त्री पनि यो कार्यबाट अछुतो छैनन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको काठमाडौं–तराई–मधेस द्रुतमार्गको प्रगति अहिलेसम्म ११ दशमलव ११ प्रतिशत मात्र छ । दाहालले २०७४ जेठ १४ मा बाराको निजगढ पुगेर यसको भव्य शिलान्यास गरेका थिए । आर्थिक वर्ष २०७४/७५ बाट सुरु यो आयोजना २०८०/८१ सम्पन्न हुनुपर्ने छ । तर आयोजनामा पर्ने सुरुङ र पुल निर्माणको ठेक्का नै हुन सकेको छैन ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि शिलान्यास गर्नेमा अघि नै आउँछन् । उनले शिलान्यास गरेको मेलम्ची खानेपानी अहिलेसम्म काठमाडौंवासीले उपभोग गर्न पाएका छैनन् । सुन्दरीजलबाट २०६६ साउन १९ मा उनले यसको शिलान्यास गरेका थिए । समयसमयमा यो आयोजना विवादमा समेत पर्दै आएको छ । प्रधामन्त्री हुँदा नेता नेपालले हेटौंडामा शिलान्यास गरेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) अझै सम्पन्न हुन सकेको छैन । नेपाली खेलकुदको ड्रिम प्रोजेक्टका रूपमा हेटौंडा–६ स्थित गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानको नेता नेपालले २०६६ जेठ २८ मा शिलान्यास गरेका थिए । पाँच वर्षभित्र सक्ने गरी शिलान्यास भए पनि अहिलेसम्म प्रगति देखिएको छैन । संरचना बनेका छैनन् । संघीय सरकारबाट पूर्ण रूपमा बेवास्ता गरिएपछि अहिले वाग्मती प्रदेश सरकारले संरचना निर्माणको काम थालेको छ ।

पूर्वभौतिकमन्त्री विमलेन्द्र निधीले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–काँकडभिट्टा खण्डको शिलान्यास महोत्तरीमा तामझामसाथ गरे । अहिले निर्माणमा सोचेअनुरूपको प्रगति छैन । निधीले २०७२ मा यसको शिलान्यास गरेका थिए । बिनातयारी शिलान्यास गर्दा रेलमार्गका विभिन्न खण्डमा मुआब्जाको समस्या देखिएको छ ।

कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल दशकअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरे । कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुई पटक शिलान्यास भएको उक्त पुल अझै बनेको छैन । खुलालुमा पुल बने कालीकोटका पाँच वटा स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बतसम्मको यात्रा सहज हुनेछ । कालीकोटका पाँच वटा स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बत जोड्ने सडकका लागि कर्णाली नदीमा पक्की पुल निर्माण गर्न २०६९ मा कन्काई जेभीले ठेक्का लिएको थियो ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीले सम्झौता गरिएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ  । कार्यालयका अनुसार ठेक्का म्याद सकिएको पाँच वर्षमा पनि आधा काम भएको छैन । १३ करोड रुपैयाँ बजेट रहेको पुलको लागत अहिले बढेर १७ करोड रुपैयाँ पुगेको डिभिजनको भनाइ छ ।

यता भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) को ०७१ मंसिर २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले पहिलो पटक उद्घाटन गरे । २०७३ फागुन ५ मा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सेज भवनको दोस्रो पटक उद्घाटन गरे । भैरहवामा सेज स्थापनाको तयारी गरिएको दुई दशक बितिसकेको छ । तर पूरा हुने छाँट छैन । मुलुकमै पहिलो पटक बनेको विशेष आर्थिक क्षेत्रमा ८५ करोड रुपैयाँ लगानी भए पनि पूर्ण रूपमा सञ्चालनमा नआउँदै जीर्ण बनेको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा आर्थिक वर्ष २०५६/५७ देखि काम अघि बढेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले गत माघ १४ मा बुटवलको सिद्धार्थ राजमार्गअन्तर्गत चौराहादेखि चिडिया खोलासम्मको सडक विस्तारको शिलान्यास गरे । आर्थिक वर्ष २०७३/७४ मा राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक विस्तार आयोजना परेको थियो । दुई वर्षमा सक्ने गरी सुरु गरिएको सडकको काम स्थानीयको अवरोधका कारण पटकपटक म्याद थप्दै अगाडि बढिरहेको छ । तर अर्थमन्त्री पौडेलले भने भर्खर योजना सुरु भएको आभास दिने गरी यसको शिलान्यास गरे । ४७ करोड २७ लाख लगानीमा विस्तार हुन थालेको सडक २०७९ वैशाखमा सम्पन्न गर्ने गरी म्याद थपिएको छ ।

शिलान्यासका काममा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री पनि अघि छन् । शिलान्यास गर्ने तर काम ढिला हुने प्रवृत्ति भने उस्तै छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिबाङस्थित धाङसी खोलामा निर्माणाधीन मोटरेबल पुलमा २५ प्रतिशत काम सकिएपछि शिलान्यास गरे । प्रदेश सरकारको ५ करोड ६१ लाख ४९ हजार रुपैयाँ लगानीमा असोजदेखि निर्माण थालिएको पुल अकास्मात् मुख्यमन्त्री आएर शिलान्यास गर्दा स्थानीय चकित परेका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सांसदको हैसियतमा झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा शिलान्यास गरेको झोलुंगे पुल पाँच वर्षदेखि अलपत्र छ । मेची नदी वारपार गर्न स्थानीयको सहजताका लागि निर्माण हुने भनिएको पुलको ठेक्का नीलगिरि सेवा प्रालि बानेश्वरले डेढ करोड रुपैयाँमा ठेक्का लिएर काम अलपत्र पारेको हो । शिलान्यास गर्न हतारिए पनि प्रधानमन्त्री, मन्त्री, सांसद त्यसको निर्माण भएको छ/छैन, कति भयो, के भयो भनेर जिम्मेवार नबन्दा आयोजना वर्षौंदेखि अलपत्र बन्ने गरेका छन् ।

कुनै बेला निकै चर्चा पाएको काठमाडौं–रक्सौल र केरुङ–काठमाडौं रेलमार्गको चर्चा अहिले सेलाएको छ । २०७५ भदौमा काठमाडौंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका बेला प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । भारत सरकारको स्वामित्व रहेको कोंकण रेलवेले नेपाल सरकारसँगको समन्वयमा आठ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको एक वर्षभन्दा बढी भयो । विस्तृत सम्भाव्यता अध्ययन पनि भारतले गरिदिने छ । तर अहिलेसम्म अध्ययनको काम अघि बढ्न सकेको छैन ।

केरुङ–काठमाडौं प्रस्तावित रेलमार्गको काम पनि अघि बढ्न सकेको छैन । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । तर अहिलेसम्म काम सुरु भएको छैन । पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । यो चीन जोड्ने रेलमार्ग हो । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहेको उक्त रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ । जसलाई छेडेर रेलमार्ग बनाउनुपर्नेछ ।

रक्सौल–काठमाडौं रेलमार्गको भारत सरकारसँग विस्तृत सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराई बताउँछन् ।

राजनीतिक नौटंकी’

पूर्वसचिव किशोर थापा भने शिलान्यासलाई राजनीतिक नौटंकीको संज्ञा दिन्छन् । शिलान्यास भनेको निर्माण सुरु हुने अवस्था हो । ‘निर्माण सुरु गर्नुअघि सुरु गरिने परम्परागत एउटा कार्य शिलान्यास हो,’ उनले भने, ‘विभिन्न देशमा विभिन्न तरिकाले निर्माण सुरु गरिन्छ ।’ शिलान्यासअघि ठेक्कापट्टा आदि काम सकिसक्नुपर्छ । निर्माण कम्पनी काममा खटिसक्नुपर्छ । त्यसअघि डिजाइन आदि पूर्वतयारीका सबै काम सक्नुपर्छ । त्यसपछि मात्र शिलान्यास अर्थपूर्ण हुने उनको भनाइ छ । ‘पूर्वतयारीबिना गरिएको शिलान्यास फगत राजनीतिक नौटंकी मात्र हो,’ उनले भने, ‘यसबाट जनतालाई कुनै फाइदा छैन ।’ एउटै आयोजना तीन पटकसम्म शिलान्यास हुने गरेको उनको भनाइ छ । यो केवल विकृति मात्र रहेको उनले बताए ।

नेपालमा पूर्वाधार विकास तथा निर्माणको स्थापित प्रणाली नभएको पूर्वाधारविज्ञ सूर्यराज आचार्यको भनाइ छ । ‘नीतिगत तहमा निर्माण उद्योगलाई कसरी प्रश्रय दिने, निर्माण व्यवसायीको क्षमता कसरी बढाउने, गुणस्तरीय काम गर्न जनशक्तिको व्यवस्था कसरी गर्ने भन्ने सरकारको नीतिले व्यवस्था गर्ने हो,’ उनले भने, ‘तर सरकारको निर्माण उद्योग प्रवर्द्धन नीति के भन्ने नै तोकिएको छैन ।’ निर्माण सामग्री अभावले पनि आयोजना निर्माणमा समस्या आउने गरेको उनले बताए ।

प्रकाशित : फाल्गुन १५, २०७७ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×