घोषणाको पाँच वर्षपछि औद्योगिक क्षेत्र शिलान्यास

२०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयूरधापको तीन सय बिघा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको थियो
कान्तिपुर संवाददाता

मकवानपुर — सरकारले घोषणा गरेको पाँच वर्षमा हेटौंडा–१४ स्थित मयूरधापमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार औद्योगिक क्षेत्रको शिलान्यास गर्दै देशभरका पाँच स्थानमा चालु आर्थिक वर्षभित्रबाटै भौतिक पूर्वाधारको काम अगाडि बढाइएको बताए । २०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयूरधापको तीन सय बिघा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।

घोषणाको पाँच वर्षपछि औद्योगिक क्षेत्र शिलान्यास

काठमाडौं उपत्यकाको बालाजु, ललितपुर, पाटन र भक्तपुर आद्योगिक क्षेत्रको विकल्पका रूपमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । ‘अब उपत्यकाभित्र थप उद्योग सञ्चालन गर्न दिन्नौं,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने । उपत्यकाभित्रका तीन वटै औद्योगिक क्षेत्र भरिभराउ भइसकेको र नयाँ उद्योगका लागि जग्गा नभएको उनले बताए । सडक सञ्जालका कारण छोटो दूरीमा रहेको मयूरधापलाई उपत्यकाको औद्योगिक क्षेत्रको विकल्पका रूपमा विकास गर्न लागिएको उनले बताए ।

शिलान्यास गरिएको ६ महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र जारी गरिने र दुई वर्षभित्र आवश्यक पूर्वाधार निर्माण गरिएपछि काठमाडौंभित्र उद्योग खोल्न चाहनेलाई प्राथमिकतामा राखेर मयूरधापको जग्गा उपलब्ध गराइने बताइएको छ । सरकारले तीन सय बिघालाई औद्योगिक क्षेत्र घोषणा गरे पनि त्यसभित्र हाल १ सय ९९ दशमलव १२ बिघा अर्थात् १ सय ३४ दशमलव ८४ हेक्टरमा मात्र संरचना निर्माण गर्ने गरी आयोजना अघि बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धरले बताए । पाँच वर्षभित्र सम्पूर्ण भौतिक संरचना निर्माण गरिने र उद्योग स्थापनासँगै सञ्चालन भइसक्ने उनको दाबी छ ।

औद्योगिक क्षेत्र स्थापनका लागि आवश्यक डीपीआर तयार पारिसकेपछि मात्र शिलान्यासको तयारी गरिएको मानन्धरले बताए । मयूरधापमा ७ देखि १४ रोपनीको ६२ वटा प्लट निर्माण गरिनेछ । लिमिटेडले निर्माण गर्ने संरचनाका लागि ७ अर्ब २ करोड लागत अनुमान गरिएको छ । औद्योगिक क्षेत्रभित्र सडक, विद्युत्, पानी, ढल, उद्योगबाट निकास हुने दूषित पानी प्रशोधन केन्द्र, अत्याधुनिक प्रविधिसहितको स्मार्ट प्रशासनिक भवन निर्माण गरिने मानन्धरले जानकारी दिए ।

औद्योगिक क्षेत्र निर्माणको पहिलो चरणमा २०७८ वैशाखदेखि जग्गा विकास र तटबन्धको काम सुरु गर्ने तयारी रहेको उनको भनाइ छ । दोस्रो चरणमा सडक निर्माणका लागि ट्रयाक खोल्ने, तेस्रो चरणमा २०७९ बाट उद्योग स्थापना सुरु गरिनेछ । उद्योग सञ्चालनमा आएपछि १० हजारभन्दा बढीले रोजगारी पाउने लिमिटेडको अनुमान छ । औद्योगिक क्षेत्रभित्र पर्ने १० बिघा वन क्षेत्रलाई ग्रिन पार्कका रूपमा विकास गरिने बताइएको छ ।

२०१६ मा बालाजु, २०१९ मा पाटन र २०३६ मा भक्तपुर औद्योगिक क्षेत्र स्थापना गरिएको लिमिटेडका अध्यक्ष बस्नेतले जानकारी दिए । ५० बिघा क्षेत्रफल रहेको बालाजुमा १ सय ३७, २२ बिघा क्षेत्रफल रहेको पाटनमा १ सय १५ र ५ बिघा रहेको भक्तपुरमा ३६ वटा उद्योग छन् । ‘यी तीन वटै औद्योगिक क्षेत्रको जग्गा अभावसँगै क्षेत्रफलअनुसार उद्योग स्थापना भइसकेका छन्, त्यसकारण काठमाडौं उपत्यकाभित्र नयाँ खोल्न चाहनेका लागि जग्गा उपलब्ध गराउन नसकिने भएको हो,’ बस्नेतले भने ।

प्रकाशित : फाल्गुन १४, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?