२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नेपालगन्जमा लखनउबाटै हवाई इन्धन

ढुवानी भाडा र खर्च आधा जोगिने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालगन्ज डिपोमा अब लखनउबाटै हवाई इन्धन ढुवानी गरिने भएको छ । लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गत रहेको हवाई इन्धन डिपो नेपालगन्जमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को इलाहाबाद डिपोबाट हवाई इन्धन ढुवानी गरिँदै आएको थियो ।

उक्त डिपोसम्मको दूरी नेपालगन्जस्थित भारतीय नाका रुपैडियादेखि दुईतर्फी करिब ८ सय ५० किमि पर्छ । अब भने आईओसीले लखनउको अमौसीस्थित डिपोबाटै हवाई इन्धन भर्न पाउनेछ ।

लखनउबाट ढुवानीसमेत सुरु भइसकेको छ । ‘इलाहाबाद र अमौसीको तुलनामा ढुवानी दूरी झन्डै आधा फरक पर्छ,’ इन्धन तथा हवाई इन्धन डिपो नेपालगन्जका सूचना अधिकारी अजितकुमार पोखरेलले भने, ‘दूरीमा आएको कमीसँगै ढुवानीबाट हुने खर्च पनि बचत हुन्छ ।’ निगमका अनुसार नेपालगन्जस्थित भारतीय नाका रुपैडिहादेखि लखनउको दुईतर्फी दूरी करिब ४ सय ५० किमि मात्रै पर्छ । लखनउबाट ढुवानीका लागि विगतमा पनि छलफल भएको निगमले बताएको छ । तर आपूर्तिका विषयमा आईओसीले सहमति जनाएको थिएन । ‘इलाहाबादको विकल्पमा लखनउबाट ढुवानी गर्ने विषय करिब १५ वर्षदेखि पेन्डिङमा थियो,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘पछिल्लो समय आईओसीमा भएको छलफलमा उक्त डिपोबाट ढुवानी गर्न सहमति भयो । यसले ढुवानीमा लाग्ने समयसँगै पैसाको पनि बचत हुन्छ ।’

नेपालगन्ज डिपोबाट दैनिक एक ट्यांकर (२० हजार लिटर) हवाई इन्धन खपत हुने गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । नेपालगन्जबाट सुर्खेततर्फ पनि ढुवानी गरिन्छ । सुर्खेतमा दैनिक पाँच हजार लिटर खपत हुन्छ । ती क्षेत्रमा १२ ट्यांकरले हवाई इन्धन ढुवानी गर्छन् । ‘लामो दूरीका कारण बेलाबखतमा ढुवानीमा समस्या हुन्थ्यो,’ उनले भने, ‘अब धेरै नजिक भएको छ । आपूर्ति व्यवस्थापनमा पनि सहजता आउँछ ।’ इलाहाबादबाट आयात गर्दा हवाई इन्धनको ढुवानी भाडा प्रतिकिलोलिटर ४ सय ५० रुपैयाँ थियो । अब करिब आधा घट्ने निगमको अनुमान छ । ‘ढुवानी रुटको भेरिफिकेसन गर्दै छौं, त्यसपछि ढुवानी दर तोक्छौं,’ उपाध्यायले भने, ‘किलोमिटर आधा घटेपछि भाडादर पनि आधा नै घट्छ ।’

नेपालगन्ज डिपोबाट कर्णाली प्रदेशिक कार्यालय सुर्खेतमा समेत स्टक ट्रान्सफर हुन्छ । नेपालगन्ज डिपोका लागि डिजेल र पेट्रोल भने गोन्डाबाट आयात हुन्छ । नेपालगन्ज डिपोमा हवाई इन्धनका लागि २ सय ८० किलोलिटर क्षमता छ । डिजेल २ हजार २ सय ८० किलोलिटर र पेट्रोल २ सय १० किलोलिटरको क्षमता छ । उक्त पेट्रोल र डिजेलको भण्डार विस्तारकै क्रममा छ । हवाई इन्धन भण्डारणका लागि जग्गा प्राप्तिकै क्रममा रहेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

नेपालगन्जबाट दाङमा पनि हवाई इन्धन पठाउने निगमको योजना छ । काठमाडौंका लागि भने रक्सौलबाट हवाई इन्धन ढुवानी गरिन्छ । मुलुकभर हवाई इन्धन बोक्ने करिब दुई सय ट्यांकर छन् ।

प्रकाशित : फाल्गुन १४, २०७७ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?