१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मुहान संरक्षण गर्न 'रिचार्ज पोखरी' 

विप्लव महर्जन

सल्यान — खानेपानीका मुहान सुक्न थालेपछि बाग्चौर नगरपालिका–३ का विभिन्न ठाउँमा 'रिचार्ज पोखरी' निर्माण गरिएको छ । वडा कार्यालय र उपभोक्ताको सक्रियतामा विभिन्न २० वटा मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो ।

मुहान संरक्षण गर्न 'रिचार्ज पोखरी' 

पानीका मुहान सुक्न नदिन निर्माण भएका रिचार्ज पोखरी प्रभावकारी भएको वडाध्यक्ष टीकाराम केसीले बताए । उनका अनुसार गत वर्ष पनि १ लाख ५० हजार रुपैयाँमा २० वटा रिचार्ज पोखरी निर्माण गरिएको थियो । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप २० वटा रिचार्ज पोखरी बनाइन लागिएको उनले बताए । ‘अव्यवस्थित सडक निर्माण र खडेरीले बर्सेनि पानीका मुहान सुकिरहेका छन्,’ उनले भने, ‘रिचार्ज पोखरी निर्माण गरेपछि मुहानमा पानीको सतह घटेको छैन ।’ वर्षाको समयमा आकाशे पानी संकलन गर्न पनि रिचार्ज पोखरी प्रभावकारी भएको उनले बताए ।

रिचार्ज पोखरीका कारण गर्मीयाममा पनि मुहान आसपासको क्षेत्रमा चिस्यान कायम हुँदा पानीको सतह नघट्ने स्थानीय चन्द्रप्रकाश शर्माले बताए । ‘गर्मीको मौसम सुरु हुनेबित्तिकै पानी भर्न एक घण्टा तलको खोलामा झर्नुपर्थ्यो,’ उनले भने, ‘रिचार्ज पोखरीले पानीको दु:ख घटाएको छ ।’

सामुदायिक वन क्षेत्रमा रिचार्ज पोखरी निर्माण उपयुक्त भएको खानेपानी तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख पदमराज देवकोटाले बताए । ‘कम लगानीमा पानीको संरक्षण गर्ने यो महत्वपूर्ण विधि हो,’ उनले भने, ‘आकाशे पानी संकलन र खडेरीको समयमा मुहानको पानी सुक्न नदिन पोखरीले सहयोग गर्ने गरेको छ ।’ जलवायु परिवर्तन र अव्यवस्थित सडकका कारण ३ वर्षको अवधिमा जिल्लाका झण्डै एक सय मुहान सुकेको उनको भनाइ छ । मुहान सुक्दा करिब ७ हजार परिवार खानेपानी समस्याबाट प्रभावित भएको उनले बताए ।


प्रकाशित : फाल्गुन ११, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?