१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिल्सा नाका खोल्न माग

छपाल लामा

हुम्ला — जिल्लाका पर्यटन तथा होटल व्यवसायीले हिल्सा नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । मानसरोवर–कैलाश दर्शन गर्ने सिजन नजिकिएसँगै व्यवसायीले छिट्टै नाका खुला गर्न माग गरेका हुन् ।

हिल्सा नाका खोल्न माग

हुम्लामा हरेक वर्ष वैशाखदेखि मानसरोवर जाने भारतीय तीर्थयात्रीको घुइँचो लाग्छ । गत वर्ष कोरोना महामारीका कारण बन्द भएको नाका माघयता हिमपातका कारण अवरुद्ध छ । नाका खुले भारतीय तीर्थयात्रीलाई हुम्लाको बाटो हुँदै मानसरोवर पठाउन सकिने होटेल व्यवसायी संघका अध्यक्ष मिम लामाले बताए । उनका अनुसार नाका नखुल्दा नाम्खा र सिमकोटका बासिन्दालाई चिनियाँ सहर ताक्लाकोटमा गएर व्यापार र मजदुरी गर्न समस्या भएको छ । ‘हुम्लाका अधिकांश बासिन्दा ताक्लाकोटको व्यापार र रोजगारीमा निर्भर छन्,’ उनले भने, ‘नाका नखुल्दा स्थानीयको जीविकोपार्जनमा समस्या भएको छ ।’ उनका अनुसार हिल्सा भारतीय तीर्थयात्रीलाई लक्षित गरी झण्डै ९० वटा होटल खुलेका छन् ।

नाका बन्द हुँदा स्थानीयको जीविकोपार्जनसँगै रोजगारी र व्यापार व्यवसायमा समस्या भएको उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । ‘नाका बन्द हुँदा अधिकांश व्यवसाय ठप्प छन्,’ उनले भने, ‘गर्मी मौसम सुरु भएसँगै हिउँ पनि बिलाउन थालेको छ, सरकारले अविलम्ब नाका खुला गर्नुपर्छ ।’ उनका अनुसार नाका बन्द हुँदा पर्यटकीय सुविधा भएका सिमकोटका २६ होटल बन्द छन् । उनले भारतीय तीर्थयात्री मानसरोवर–कैलाशको दर्शनका लागि आउन आतुर भएको उनको भनाइ छ ।

नाका बन्द भएकै कारण हुम्लाबाट ताक्लाकोटतर्फ निकासी हुने जडीबुटी बीचमै रोकिएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘सदरमुकाम टाढा हुँदा वडाबासी चिनियाँ खाद्यान्नमा निर्भर छन्,’ उनले भने, ‘नाका बन्द भएपछि दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ ।’

प्रकाशित : फाल्गुन ९, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?