बिमालेख धितोमा बैंकबाट कर्जा लिन नपाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

बिमालेख धितोमा बैंकबाट कर्जा लिन नपाइने

पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरीत हो । यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘बिमालेख धितो राखेर कर्जा दिने प्रवृत्ति रोक्न आवश्यक सहयोग तथा समन्वय गर्न गत मंगलबार राष्ट्र बैंकलाई पत्र लेखेका छौं,’ उनले भने, ‘बिमालेखको धितोमा कर्जा लिनु बिमा ऐनविपरीत हो ।’ बिमितले बिमालेख धितोमा सम्बन्धित बिमा कम्पनीबाट ‘सरेन्डर भ्यालु’ को ९० प्रतिशतसम्म कर्जा लिन पाइन्छ । जुन कम्पनीबाट बिमा गरिएको हो, सोही कम्पनीबाट कर्जा लिन पाइन्छ । तर बिमालेख धितोमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्न । यो व्यवस्था बिमा ऐनमा भने छैन ।

यही नीतिगत कमजोरीको फाइदा उठाउँदै बिमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थासँग समन्वय गरेर कर्जा दिने गरेका छन् । केही बैंकले विज्ञापन नै गरेर बिमालेख धितोमा कर्जा लिन आग्रह गरिरहेका छन् । यो काम कानुनविपरीत भएकाले नियन्त्रणका लागि राष्ट्र बैंकलाई आग्रह गरिएको पौडेलले बताए । ‘यो काम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७५ विपरीत हो,’ उनले भने, ‘यही निर्देशन पालना गर्न पनि राष्ट्र बैंकको सहयोग मागिएको हो ।’

हाल बिमा लेख धितोमा कति संख्या तथा रकममा कर्जा प्रवाह भइरहेको सम्बन्धमा बिमा कम्पनीहरूबाट तथ्यांक संकलनको काम भइरहेको समितिले जनाएको छ । प्राप्त तथ्यांक विश्लेषणपछि अवस्था हेरेर बिमा कम्पनीहरूलाई आवश्यक निर्देशन दिने समिति स्रोतले बताएको छ । ‘धेरै विकृति देखियो, बिमालेख धितोमा बैंकहरूले धमाधम कर्जा दिन थाले,’ स्रोतले भन्यो, ‘अब यस्तो काम तत्काल रोक्नुपर्छ ।’

विद्यमान कानुनमा बिमालेख धितोमा कर्जा प्रवाह नरोकेकाले बैंक तथा वित्तीय संस्थाले सो काम गरेको एक बैंकरको भनाइ छ । राष्ट्र बैंकले विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले बिमालेख धितोमा कर्जा प्रवाह गरेको हुन सक्ने ती अधिकारीले बताए । अन्य केही राष्ट्रमा बिमालेख धितोमा कर्जा दिन पाउने व्यवस्था छ । नेपाली बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सोहीअनुसार कर्जा प्रवाह गरेको उनीहरूको दाबी छ ।

बिमालेख धितोमा कुन बैंकले के कति कर्जा दिएका छन् भन्नेबारे यकिन तथ्यांक छैन । तर केही वाणिज्य बैंक र विकास बैंकले बिमालेख धितोमा कर्जा प्रवाह गरेको भेटिएको स्रोतले जनाएको छ । बिमा समितिको पत्र प्राप्त भएको र त्यसबारे केकस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।


प्रकाशित : फाल्गुन ९, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?