कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होङ्सीमा डिजेल र कोइलाको भर

नारायण शर्मा

पूर्वी नवलपरासी — वैदेशिक लगानीमा निर्मित नेपालकै ठूलो होङ्सी सिमेन्ट कारखानामा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्दा उत्पादन लागत बढेको छ । अहिले दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेको छ । तर पर्याप्त विद्युत् आपूर्ति अभावमा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ । मागअनुसारको बिजुली नपाएका कारण डिजेल र कोइलाबाट विद्युत् उत्पादन गरेर कारखाना चलाउनुपरेकाले लागत बढेको कारखानाले जनाएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको उद्योगको कारखानामा दैनिक कम्तीमा ६० हजार लिटर डिजेल खपत हुने गरेको छ । वैदेशिक लगानीका ठूला उद्योगमा बिजुली, सडक, पानीको आपूर्ति नेपाल सरकारले गर्नुपर्ने भए पनि होङ्सीले त्यसअनुसारको सुविधा नपाएको गुनासो गरेको छ । कारखानाले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ ।

कारखानाबाट उत्पादित ओपीसी सिमेन्ट ६ सय रुपैयाँ र पीपीसी सिमेन्ट ५ सय रुपैयाँमा बिक्री हुन्छ । यो अरूको तुलनामा प्रतिबोरा ५० रुपैयाँसम्म सस्तो हो । मागअनुसारको बिजुली आपूर्ति हुन सके बिक्री मूल्यमा प्रतिबोरा कम्तीमा ५० रुपैयाँ सस्तोमा बेच्न सकिने कारखानाको भनाइ छ । ‘पर्याप्त बिजुली आपूर्ति हुन सके अहिलेको बिक्री मूल्यको तुलनामा सस्तोमा सिमेन्ट उपलब्ध हुन्छ,’ होङ्सीका सहायक महाप्रबन्धक जेम्सले भने ।

डिजेलबाट बिजुली उत्पादन गर्दा प्रतियुनिट २३ रुपैयाँ लागत पर्छ । विद्युत् प्राधिकरणबाट लिँदा भने प्रतियुनिट सरदर ८ रुपैयाँ ५५ पैसा पर्न जान्छ । प्राधिकरणले प्रसारण लाइन नभएका कारण बिजुली नदिएको हो । कारखाना परिसरमा बत्ती बाल्ने मात्र बिजुली दिइएको छ । आवश्यक बिजुली आपूर्तिका लागि प्रसारण लाइन निर्माणाधीन छ ।

अहिलेको क्षमतामा उद्योगलाई ५४ मेगावाट बिजुली चाहिन्छ । त्यसका लागि उद्योगले कोइलाबाट १२ मेगावाट र बाँकी डिजेल प्लान्टबाट उत्पादन गर्दै आएको छ । ३६ अर्ब चिनियाँ लगानीको होङ्सीले उत्पादन थालेको दुई वर्ष भएको छ ।

विनयी त्रिवेणीमै रहेको सीजी सिमेन्टमा पनि मागअनुसारको विद्युत् आपूर्ति हुन सकेको छैन । जसकारण डिजेल प्लान्टबाट सिमेन्ट उत्पादन गर्नुपरेको सीजी सिमेन्टका प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिए । सीजी सिमेन्टका लागि आवश्यक ३ दशमलव २ मेगावाट बिजुलीमध्ये २५ सय केभीए मात्रै आपूर्ति भइरहेको छ ।

प्राधिकरणलाई मासिक २० करोड घाटा

कारखानाको मागअनुसारको विद्युत् आपूर्ति गर्न नसक्दा विद्युत् प्राधिकरणलाई मासिक करिब २० करोड रुपैयाँ घाटा लागेको छ । कारखानाले पूर्ण क्षमतामा कारखाना चलाउँदा वार्षिक ५ अर्बभन्दा बढी रकम बिजुलीबापत तिर्छ । हाल कारखानाको उत्पादन क्षमता दैनिक ६ हजार टन रहे पनि कारखानाले दोस्रो चरणमा उक्त परिमाण उत्पादन गर्ने योजनाअनुसार काम भइरहेको छ ।

त्यसपछि दैनिक १२ हजार टन सिमेन्ट र क्लिंकर उत्पादन हुने क्षमता राख्छ । होङ्सीको मागअनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनका प्रमुख हरि पाण्डे बताउँछन् । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा कारखानाका लागि ८४ मेगावाट बिजुली चाहिन्छ । कारखानामा बिजुली पुर्‍याउन डबल सर्किटसहितको काम अघि बढेको उनले जानकारी दिए । उद्योग मन्त्रालयको करिब ६० करोड रुपैयाँ बजेटबाट काम अघि बढेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ८, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?