प्रतिबन्ध हटे पनि घटेन प्याजको मूल्य

६ महिनामै करिब २ करोड किलो प्याज आयात, सिजनमै महँगो

काठमाडौं/विराटनगर — आफैंलाई नपुगेको जनाउँदै भारतले असोज दोस्रो सातादेखि प्याज निर्यात बन्द गर्‍यो । त्यस बेला कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ३१ देखि ४२ रुपैयाँसम्म थियो ।

प्रतिबन्ध हटे पनि घटेन प्याजको मूल्य

भारतले निर्यात बन्द गरेलगत्तै नेपाली बजारमा भाउ अकासिएर असोज १५ गते होलसेलमै १ सय ७ रुपैयाँ पुग्यो । कात्तिक १६ गतेसम्म १ सय ३० रुपैयाँ पुगेको प्याज खुद्रा बजारमा प्रतिकिलो साढे २ सय रुपैयाँसम्ममा बिक्री भयो । सरकारी हस्तक्षेपका कारण मूल्यमा सामान्य गिरावट आए पनि पुरानो बजारभाउमा आउन सकेन ।

भारतले पुस १७ गते निर्यात प्रतिबन्ध हटाएको दिन मूल्य घटे पनि फेरि बढ्न थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरणअनुसार पुस १७ गते प्याज प्रतिकिलो ६२ रुपैयाँ ५० पैसा निर्धारण भएको थियो । फागुन ५ सम्म आइपुग्दा होलसेलमै प्रतिकिलो ८२ रुपैयाँ ५० पैसा पुगेको छ । खुद्रा व्यापारमा पनि त्यही अनुपातमा मूल्य बढेको छ । ‘अहिले दैनिक ७० देखि ८० टन प्याज आयात भइरहेको छ । तर भाउ जुन रूपमा घट्नुपर्ने हो, घटेन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार अहिले भारतमा प्याज उत्पादनको सिजन हो । प्याज उत्पादन भएपछि निर्यात बन्देज खुला गरिएको थियो । ‘व्यवसायीहरूले भारतमै बढेको बताउँदै आएका छन्,’ श्रेष्ठले भने, ‘भारतमै निर्भर हुँदा यस्तो समस्या देखियो ।’

प्रतिबन्ध हटे पनि सीमावारिको नेपाली बजारमा प्याजको मूल्य ८०/९० रुपैयाँ किलो रहेकामा विराटनगर–७ की शिक्षित गृहिणी संझना खड्का चकित छिन् । अघिल्ला वर्षहरूमा यतिखेर प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा प्याज किनेको उनले बताइन् । विराटनगरको थोक बजारमा सोमबार काँचो प्याज प्रतिकिलो ६०/६५ रुपैयाँ र सुकेको प्याज ७५/८० रुपैयाँ थियो । खुद्रा बजारमा काँचो प्याज प्रतिकिलो ग्राम ७५/८० रुपैयाँ र सुकेको प्याज ९०/९५ रुपैयाँ छ । ‘यति महँगो प्याज काटेर तरकारीमा हाल्न पनि सोच्नुपर्छ,’ खड्काले भनिन् ।

दुई साता अगाडि विराटनगरकै बजारमा प्रतिकिलो ६५/७० रुपैयाँमा प्याज बिक्री भएको होटल सञ्चालक वकिल कार्कीले बताए । ‘अचानक के भएर प्याजको मूल्य बढ्यो ? बुझिनसक्नु छ,’ कार्कीले भने, ‘ढुवानी, भन्सार र नाफा जोड्दा पनि यति सारो मूल्य नबढ्नुपर्ने हो ।’

भारतले निर्यात खुकुलो गरिसक्दासमेत मूल्य कम हुने संकेत नदेखिएको विराटनगरको पुरानो गुद्रीस्थित तरकारी मण्डीका खुद्रे बिक्रेता संजय यादव बताउँछन् । ‘अब प्याजको मूल्य ७० रुपैयाँभन्दा मुनि नजाला,’ उनले भने ।

थोक बिक्रेता शक्ति झाले आफूहरूले प्रतिकिलो ७८ रुपैयाँमा बेचिरहेको बताए । ढुवानी र भन्सार शुल्क जोड्दा आफूहरूलाई नै अचेल प्रतिकिलो ७५/७६ रुपैयाँ परिरहेको उनको भनाइ छ । भारतमा महाराष्ट्र र कर्नाटक राज्य प्याज उत्पादनका लागि चिनिन्छन् । यी दुई राज्यको प्याज उत्पादनमा हुने उत्तारचढावले भारतीय बजारमा असर पार्छ । नेपाल पनि प्याजका लागि भारतमै निर्भर छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ९२ लाख २६ हजार किलो प्याज आयात भएको छ । उक्त प्याज आयात गर्न ७२ करोड ६ लाख रुपैयाँ बाहिरिएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी भारतबाट १ करोड ८९ लाख १६ हजार किलो आयात भएको छ । बाँकी चीन र इजिप्टबाट आयात भएको विभागले जनाएको छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार नेपालमा मुख्यतः सर्लाही, बारा, पर्सा, सिराहा, सप्तरी, महोत्तरी, रौतहटमा प्याज गानो उत्पादन हुन्छ । प्याज कात्तिक/मंसिरमा लगाएर वैशाख, जेठदेखि भदौसम्म्म उखेलिन्छ । तर प्रयाप्त सिँचाइ अभावले यसको उत्पादनमा कमी आएको छ । बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार मुलुकभर औसतमा २० हजार ९ सय ८ हेक्टरमा प्याज खेती हुन्छ । उक्त क्षेत्रफलबाट वार्षिक २ लाख ९१ हजार ५ सय टन उत्पादन हुन्छ । स्वदेशी उत्पादन स्थानीय बजारमै खपत हुन्छ । ‘स्वदेशी उत्पादनले करिब ३० प्रतिशत मात्रै पुग्छ । उक्त उत्पादन दसैंतिहारसम्ममै सकिन्छ,’ सुवेदीले भने, ‘त्यसपछि आयातकै भर हो ।’

सुवेदीका अनुसार भारतमा दुई सिजनमा उत्पादन गरी ६/७ महिनासम्म भण्डारण गरिन्छ । तर नेपालमा सिजनल मात्रै हो । लामो समयदेखी नयाँ जातको प्याजको दर्ता र उन्मोचन हुन सकेको छैन, जसले गर्दा उत्पादन बढ्न नसकेको सुवेदीको भनाइ छ । सिँचाइ र मूल्य अस्थिर पनि उत्पादन नबढ्नुको अर्को कारण भएको उनले बताए । प्याजमा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन आदि तत्त्व पाइन्छन् । प्याजबाट कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फस्फोरस, भिटामिन (बी–१, बी–२, सी, ए) लगायत तत्त्वहरू पाइने जानकारहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन ६, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?