तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु

१४ सय ६३ पन्छी नष्ट
व्यापक सर्चमा जान बजेट अभाव
राजु चौधरी

काठमाडौँ — झन्डै दुई साताअघि काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु रोग (एच५एन८) पुष्टि भयो ।

तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइप पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ किलो दाना नष्ट गरियो । त्यसपछि बर्ड फ्लु नियन्त्रणमा रहेको दाबी गरेको सरकारले दुई साता नबित्दै फेरि सोही क्षेत्रमा बर्ड फ्लु देखिएको छ ।

तारकेश्वर नगरपालिका–१ मा पालेका हाँसमा बुधबार बर्ड फ्लु देखिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए । ‘शंकास्पद रूपमा कुखुरा मरेपछि निगरानी भइरहेको थियो । बुधबार बेलुका बर्ड फ्लु भएको पुष्टि भयो,’ उनले भने, ‘बुधबार राति पन्छी नष्ट गरेर नियन्त्रण गर्न सकेनौं । सबै प्रक्रिया पुर्‍याएर बिहीबार नियन्त्रणमा लिएका छौं ।’

विभागका अनुसार हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको थियो । परीक्षणको क्रममा बर्ड फ्लु प्रमाणित भएको हो । रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको विभागले जनाएको छ ।

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले बताएको छ । ‘यस क्रममा १४ सय २१ वटा हाँस, ४२ वटा लोकल कुखुरा, २६ अन्डा र ८ सय किलो दाना नष्ट गरेका छौं,’ ढकालले भने, ‘रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमणसमेत गरिसकेका छौं ।’ त्यस क्षेत्रमा रोग पूर्ण रूपमा नियन्त्रण रहे पनि निगरानीलाई निरन्तरता दिइएको विभागले बताएको छ । बर्ड फ्लु मुख्यतः चराबाट बसाइँ सराइका क्रममा सर्ने जानकार बताउँछन् । बर्ड फ्लु निमोनिया, रुघाखोकीजस्तै भएकाले चिसोमा बढी असर गर्छ । यसका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । नेपालमा २०६० सालमा झापाबाट बर्ड फ्लु सुरु भएको हो । दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले फेरि देखिन थालेको छ । अहिले देखिएको बर्ड फ्लु तुलनात्मक रूपमा कमजोर अनुमान गरिएको छ । यही रोगकै कारण सर्वसाधारणमा कुनै असर नदेखिएको ढकालले जानकारी दिए ।

‘बर्ड फ्लु देखिएको क्षेत्र पूरै नियन्त्रणमा लिएका छौं । थप सूक्ष्म निगरानी भइरहेको छ,’ ढकालले भने, ‘त्यो क्षेत्रलाई सिल गरिएकाले आत्तिनुपर्ने अवस्था छैन । तुलनात्मक रूपमा कमजोर देखिएकाले यसले मानिसमा असर गरेको पनि देखिँदैन ।’ बर्ड फ्लु कसरी भित्रियो भन्ने विषयमा सघन अध्ययन भइरहेको उनले जानकारी दिए । यद्यपि खुला सीमाकै कारण भारतबाट सरेको व्यवसायीको अनुमान छ । खुला सीमाका कारण तस्करी गर्ने गिरोहसमेत सक्रिय रहेको उनीहरूको भनाइ छ । यता विभाग भने बर्ड फ्लु संक्रमणका कारण थप अध्ययन गर्नुपर्ने बताउँछ । ‘कहाँबाट कसरी आयो भनेर ठ्याक्कै कारण भन्न गाह्रो छ । यो थप अध्ययनको विषय हो,’ उनले भने, ‘अहिले कन्ट्याक्ट ट्रेसिङ र रोग नियन्त्रणमै बढी केन्द्रित छौं ।’

रोग फैलिन नदिन व्यापक सर्चमा जानुपर्ने अवस्था देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए । सम्भावित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङका लागि तयारी भइरहेको उनले जानकारी दिए । ‘जहाँ बर्ड फ्लु देखियो, त्यो क्षेत्र नियन्त्रणमा लिएर सबै पन्छी नष्ट गरेका थियौं । त्यसपछि अन्य क्षेत्रको नमुना लियौं । त्यहीअनुसार दुई–तीन पटक परीक्षण गर्दा देखिएन,’ उनले भने, ‘अहिले फेरि वडा नम्बरमा १ मा बर्ड फ्लु पुष्टि भयो । अब व्यापक सर्चमा जानुपर्ने देखियो । त्यहीअनुसार तयारी गर्छौं ।’

मन्त्रालयले व्यापक सर्चमा जाने बताए पनि यसमा मुख्यतः बजेटकै अभाव रहेको कर्मचारी बताउँछन् । उनीहरूका अनुसार तारकेश्वर नगरपालिका–७ का साङ्लेखोला र फुटुङ क्षेत्रमा परीक्षण गर्दा करिब ४० देखि ५० लाख रुपैयाँ बजेट सकिएको छ । यसमा किसानलाई दिने क्षतिपूर्ति पनि पर्छ । तीव्र रूपमा ठूलो क्षेत्रमा परीक्षण गर्दा बजेट पनि करोडौं रुपैयाँ खर्च हुने उनीहरूको अनुमान छ । ‘मुख्यतः बजेटको समस्या देखियो । ठूलो क्षेत्रमा परीक्षण गर्दा करोडौं रुपैयाँ बजेट चाहिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही भएर सम्भावित जोखिम क्षेत्रमा मात्रै सीमित भएका हौं ।’ बर्ड फ्लु नेपालमा प्रवेश गरिसकेकाले विभागले पन्छी तथा पन्छीजन्य उत्पादको ओसारपसार गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न, गराउन आग्रह गरेको छ ।

प्रकाशित : माघ ३०, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?